|

काठमाडौं : नेपालमा चट्याङको पूर्वानुमानको काम अलपत्र परेको छ। चट्याङको पूर्वानुमानका लागि ल्याएको प्राविधिक उपकरणले काम गर्न छाडेपछि परीक्षणकालमै योजना अलपत्र परेको हो। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने तयारीसाथ परीक्षण गरिरहेको थियो। तर मेसिनले काम नगरेपछि परीक्षणको काम पनि ठप्प भएको विभागका प्रवक्ता सुनील पोखरेलले बताए।  देशका विभिन्न नौ स्थानमा स्टेसन राखेर चट्याङको तथ्य संकलन भइरहेको थियो।

एक वर्षदेखि मेसिन चल्ने र बिग्रने हुँदै काम गर्न छाडेको हो। तत्कालको चट्याङ पूर्वानुमान गर्न नसके पनि कता कता पर्‍यो भन्ने जानकारीसहित आधा घण्टामा सूचना जारी (नाउ काष्ट) गर्न सकिने भएकाले सोही अनुसार परीक्षण थालिएको थियो। 

विभागको उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन प्रमुख इन्दिरा कँडेलका अनुसार मेसिन बनाउन नसकिएका कारण परीक्षणकालमै सीमित भएको चट्याङ अनुगमनको काम ठप्प भएको हो। 

‘वारेन्टी रहुञ्जेल मेसिनले राम्रै काम गर्‍यो तर वारेन्टी सकेको भन्दै बन्द भएको मेसिन बनाउन कम्पनीले मानेन’, कँडेलले भने। सुरुवाती चरणमा तीन वर्ष चल्दा राम्रै तथ्य संलन भएको उहाँले बताउनुभयो। मेसिन बिग्रेसँगै अनुगमनको सर्भरमा थप समस्या आएर काम हुन नसकेको उनले बताए। 

जलवायु प्रकोप समुत्थान आयोजना विश्व बैङ्कको साझेदारीमा सञ्चालन हुँदा मेसिन खरिद भएको थियो। बन्द हुँदा आवश्यक प्राविधिक सहयोग नआएकाले चट्याङ अनुगमन अन्योलमा परेको हो। ‘नाउ कास्टिङ’ को सूचना दिने गरी थालिएको परीक्षणमा प्राविधिक दक्षताको अभावले कर्मचारीले काम गर्न सकेका छैनन्। 

प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्न आयोजना अन्तर्गत जनशक्तिको क्षमता अभिवृद्धिका धेरै प्रशिक्षण दिइने भनिएको थियो। तर ती तालिम तथा प्रशिक्षणको आयोजना गर्न विभाग र अन्य निकायले सकेनन्। आयोजना सुरु हुँदा यस्तो प्रविधि भित्र्याउँदा जनशक्ति थपिनुपर्ने शर्त पूरा भएन। त्यसले गर्दा पनि मेसिन सामान्य बिग्रेको वा पूरै भन्ने जानकारी उनीहरूले पाउन सकेनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.