|

पर्वत : सामान्यतः अस्पतालहरूले प्रदान गर्ने ‘आउटप्यासेन्ट डिपार्टमेन्ट’ (ओपिडी) सेवा बिहान १० बजेदेखि सुरु भएर साँझ पाँच बजेसम्म सञ्चालन हुने गरेका छन्। यो समयमा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउनुपर्दा मजदुरले एक दिनको काम नै छाड्नुपर्ने अनि शिक्षक र कर्मचारीहरूले एक दिन बिदा लिनुपर्ने बाध्यता थियो।

तर पर्वत अस्पतालले बिहान र बेलुकाको समयमा समेत ‘ओपिडी’ सेवा सुरु गरेपछि दिवा सत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकाहरूलाई राहत हुने भएको छ। दिउसोको समयमा मात्रै ‘ओपिडी’ सेवा प्रदान गर्दा अस्पतालमा दिउँसोको समयमा मात्रै बढी चाप हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि अस्पतालले केही समय अगाडिदेखि तयारी गरेर सोमबारदेखि बिहान र बेलुकाको समयमा पनि ‘ओपिडी’ सेवा सुरु गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार दिवा सत्रको रूपमा बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म खुल्ने गरेको ‘ओपिडी’ सेवा अब भने बिहान सात बजेदेखि सुरु भई साँझ सात बजेसम्म नै प्रदान हुने छ। यो सेवा विस्तारको समयमा सेवा लिन आउँदा कुनै पनि थप शुल्क नलाग्ने भन्दै उनले नागरिककै सहजताका लागि आफूहरू थप समय अस्पतालमा खटिन तयार भएको उनले बताए। शनिवार र सार्वजनिक बिदाका दिनमा भने दिवा सेवाको ‘ओपिडी’ बन्द हुने भएकोले बिहान र साँझको समयमा दिइने ‘ओपिडी’ सेवा बन्द रहने डा. बास्तोलाले जानकारी दिए।

‘स्वास्थ्य बिमितहरूलाई स्वास्थ्य बिमा मार्फत नै सेवा उपलब्ध हुने छ। विस्तारित सेवामा आउँदा बिमा कार्ड अनिवार्य रूपमा ल्याएको हुनुपर्छ। सार्वजनिक बिदाका दिनमा ओपिडी बन्द हुन्छ तर इमर्जेन्सी सेवा त २४ सै घण्टा खुल्ला हुन्छ’, उनले भने, ‘शिक्षक तथा कर्मचारीहरूले अब आफ्नो दैनिक कार्यालय समय छोड्न पर्दैन, विद्यार्थीले पनि उपचारको लागि कक्षा छोड्नु पर्दैन। मजदुर वर्गले  मजदुरी छोड्न पर्दैन, व्यापार व्यवसाय गर्नेले त्यसमा असर नपर्ने गरी सेवा लिन पाउनुहुन्छ।’

सेवा विस्तार भएसँगै चिकित्सक तथा सेवाग्राहीहरूबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै बिरामीहरूलाई सहज हुने, भिडभाडमा कमी भई सेवाग्राहीहरूलाई लामो समय लाइनमा बस्नु नपर्ने, ‘ओपिडी रिफर’ हुनुपर्ने बिरामीहरूले समयमा नै रिफर भएर जान पाउने लगायतका सेवामा सहज हुने भएको छ।

गत आइतबार मात्रै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त एमाले नेता खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालहरूको ओपिडी सेवालाई विस्तार गर्ने निर्णय गरेका थिए। तर उनको निर्णय कार्यान्वयन नहुँदै पर्वत अस्पतालले भने आफ्नो पूर्व तयारी अनुसारको सेवा विस्तार गरेको हो। सेवा विस्तार भएसँगै बिहानमा तीन घण्टा र साँझमा दुई घण्टा गरी थप पाँच घण्टा खट्नुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए। सेवा थपिए पनि जनशक्ति भने नथपिएको भन्दै उनले अस्पतालमा अहिले रहेको जनशक्तिलाई आन्तरिक व्यवस्थापन गरेर कार्य घण्टा बढाइएको उनको भनाइ छ।

‘सेवा विस्तार भएको भए पनि हामीलाई माथिबाट थप जनशक्ति मिलेको छैन। अस्पतालप्रति नागरिकको विश्वास बढेको छ। यहीँ नै दैनिक रूपमा शल्यक्रिया भइरहेका छन्। जनताले स्वास्थ्यमा राहतको महसुस गरेको बेलामा यो सेवा दिनुपर्छ भनेर लागेका हौँ’, उनले भने, ‘आफ्नो निर्धारित ड्युटी बाहेक पनि खटिने स्वास्थ्यकर्मीहरूलाई अस्पतालले आन्तरिक रूपमा नै व्यवस्थापन गर्ने छ। बिहान र बेलुका पनि ओपिडी सेवा पाउनु भनेको निकै राम्रो कुरा हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.