|

काठमाडौं : घरपालुवा पशुमा हुने बाँझोपनका कारण नेपाली किसानले वार्षिक करोडौँ रुपैयाँ नोक्सानी बेहोरिरहेका छन्। महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान नोक्सानी बेहोरिरहेका छन्। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, पशुमा हुने बाँझोपनबाट कृषकको लगानी धराशायी हुँदा यसको रोकथामका लागि दीर्घकालीन योजना, क्षतिपूर्तिको व्यवस्था र यसबाट प्रभावितको तथ्यांकसमेत सरोकारवाला निकायसँग छैन । पशुमा देखिने बाँझोपनबाट हुने आर्थिक क्षतिको विवरण कुनै सरकारी र गैरसरकारी निकायमा छैन, न त क्षतिपूर्तिको व्यवस्था नै। किसानले नै त्यसको आर्थिक क्षति बेहोरिरहेका छन्। 

पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले गाई वा भैँसीले पटक पटक साँढे/राँगो खोज्ने र पशुमा गर्भ नबस्ने समस्या बढेको जानकारी दिए। बाँझोपना आउने धेरै कारण हुने भएकाले किसानले पशुपालन गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्ने उनले बताए । पशुले भाले खोजेको समयमै कृत्रिम गर्भधारण वा प्राकृतिक गर्भधारण गराउँदा कृत्रिममा ६५ र प्राकृतिकमा ८५ प्रतिशतसम्म गर्भ रहने सम्भावना रहन्छ । 

प्राविधिक सापकोटाले पशुमा बाँझोपन हुनुमा वंशाणुगत, वातावरणीय र विभिन्न रोगको सङ्क्रमण, पोषणतत्त्वको कमी, गोठको व्यवस्थापनमा कमजोरीले हुने गरेको बताए। पशु चिकित्सक मणिप्रसाद सापकोटाका अनुसार दुधालु पशुले उचित दाना पानी नपाएमा पशुको शरीरको तौल कम हुने, प्रजनन अङ्ग राम्रोसँग वृद्धि विकास नहुने, प्रजननका लागि आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन क्षमतामा ह्रास आउने र पशुमा बाँझोपन देखा पर्छ। 

पशु प्राविधिक राजेश लम्सालले हरेक २१-२५ दिनमा गाई, भैँसीको मासिक चक्र हुने बताए। पशुले मासिक चक्र बाहिर नदेखाउने हुँदा कुन समयमा साँढे लगाउने भन्ने समस्या पर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.