|
फाइल तस्वीर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा राज्यले जोड दिनुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले सरकारले गुणस्तर कायम गर्न नसक्ने तर मेडिकल कलेज थप खोल्न नपाउनु उचित नहुने बताए। 

उनले नर्स पढेर नेपालमा १५ हजारको तलबमा काम गर्नुपर्ने तर विदेशमा त्यसभन्दा धेरै पाउने भएपछि नेपालमा त्यो जनशक्ति नबस्ने बताए। 

अध्यक्ष ढकालले निजी क्षेत्रले फाइदा मात्रै खोज्छन् उत्तरदायित्व पूरा गर्दैनन् भन्ने सोच राख्नु गलत भएको बताए। उनले निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने प्रवृत्ति पनि गलत भएको बताए।

‘निजी क्षेत्रले फाइदा मात्रै खोज्छन्‚ उत्तरदायित्व पूरा गर्दैनन् तथा व्यक्तिगत र व्यावसायीक हिसाबले मात्रै काम गर्छन् भन्ने आम बुझाई गलत छ‚’ उनले भने, ‘निजी क्षेत्रको कुनै एक व्यक्ति वा संस्थाले गरेको गलत कामलाई लिएर समग्र निजी क्षेत्रलाई गलत भन्ने गरिएको छ‚ त्यो पनि गलत छ। नियमनकारी निकायले राम्रो नियमन र अनुगमन गर्नुपर्छ।’

अध्यक्ष ढकालले मेडिकल कलेजहरुलाई राज्यले नियमन गर्नु जरुरी रहेको बताए। उनले निजी क्षेत्रलाई नियमन र अनुगमन राम्रोसँग गर्नुपर्ने बताए। उनले मेडिकल शिक्षा अध्ययनको लागि नेपालमा आउने विदेशी विद्यार्थीलाई तोकेर नै यति लाख मात्रै रकम लिनु भन्न नहुने बताए।

उनले पछिल्लो समय धेरै नेपालीहरु विदेश गएको भन्दै नेपालमा नै गुणस्तर शिक्षा दिएर सीपयुक्त जनशक्ति बाहिर पठाउने वातावरण राज्यले बनाउनुपर्ने बताए। 

‘निजी क्षेत्रलाई राम्रोसँग रेगुलेट गरौँ‚ गुणस्तर कन्ट्रोल गरौँ। नियमनकारी निकायले गुणस्तर कन्ट्रोल गर्न नसक्ने तर नम्बरलाई मात्रै कन्ट्रोल गरेर गयौँ भने आउने दिन अझ भयावह हुन्छ‚’ उनले भने‚ ‘विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीबाट कलेजलाई तोकेर यति लाखभन्दा बढी लिन पाउँदैन किन भन्नुहुन्छ? मेरो आग्रह छ- गुणस्तर कन्ट्रोल गरौँ‚ धेरै जनशक्ति उत्पादन गरौँ। एकजना व्यवसायीले राम्रोसँग एउटा नचलाएको मेडिकल कलेजको पूर्वाधारका कारणबाट निजी क्षेत्रको लगानी नै कन्ट्रोल गर्नु राम्रो होइन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.