|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन्।

नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकुल प्रभाव कम गर्न आन्तरिक स्रोतको सदुपयोग गर्न सकिने बताएका छन्। 

‘नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव पनि हो । यसअघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्,‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवर्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबको हाम्रो प्रयास केन्द्रित हुनुपर्छ।’

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन्। उनले विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।  ‘जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।’

राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणका लागि समेत आह्वान गरेका छन्। उनले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ-सफा पृथ्वी बनाउन समेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.