'प्रहरीमा बढी मुद्दा आउनुलाई हामीमाथि जनताको विश्वास बढेको बुझेका छौँ'

|

काठमाडौं : सडकमा सवारी व्यवस्थापन होस् दंगा नियन्त्रण, विपद व्यवस्थापन होस् या भिआइपी सुरक्षा।

अपराध अनुसन्धान होस् शान्ति सुरक्षामा प्रहरीले काम गर्दै आइरहेको छ। भर्खरै सकिएको २०८० सालमा भएका विभिन्न अपराधहरू विशेष गरेर हत्या हिंसा बलात्कार सहकारी ठगी प्रकरणहरूमा प्रहरीले उल्लेख्य अनुसन्धान गरेको जनाएको छ। जसअन्तर्गत एक वर्षमै प्रहरीमा करिब ५९ हजार मुद्दाहरू दर्ता भएका छन्।

करिब ७९ हजार जनशक्ति रहेको प्रहरीले काम कर्तव्य तथा अधिकारबारे कस्ता काम गरिरहेको छ? हामीले बुझ्ने प्रयास गरेका छौँ।  संवादका लागि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी भीमप्रसाद ढकालसँग थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

कुनै अपराधमा जब नागरिक पक्राउ पर्छ। प्रहरी हतकडी लगाउँछ। तर हाइप्रोफाइल पक्राउ गर्दा त्यस्तो केही देखिँदैन। हाइप्रोफाइललाई पक्राउ गर्दा किन करुणा जाग्छ प्रहरीलाई

करूणाको कुनै विषय होइन। एउटा प्रष्ट कुरा के गरिदिऊँ भने हतकडी लगाउने विषय अनुसन्धानमा खटिएको प्रहरीसँग सम्बन्धित छ। पक्राउ गरी अदालत लैजाँदा त्यहाँ खटिएको  प्रहरीको दृष्टिमा उसलाई हतकडी लगाएन र भाग्न सक्छ भन्‍ने लाग्यो भने हतकडी लगाउँछ। भाग्न सक्दैन भने लागेमा हतकडी लगाउँदैन।

कसैलाई हतकडी लगा कसैलाई नलगा भनेर माथिबाट आदेश हुँदैन। वास्तवमा कसैलाई लगायो कसैलाई लगाएन भने चर्चा हामी पनि सुन्छौँ।

गुदी कुरा के हो भने जुन प्रहरीको मातहतमा आरोपी छ। ऊ यदि भाग्यो भने नेतृत्व लिने प्रहरीको जागिर जान्छ। नैतिकताको कुरा हो। उसलाई अर्को केस लगाएर कारबाही गर्छौँ। अनुसन्धान गर्छौँ। नागरिक सबै समान हुनुहुन्छ। हामीले सबै नागरिकलाई समान व्यवहार गर्छौँ। 

हाइप्रोफाइल पक्राउ पर्नेबितिक्कै अस्पतालमा बस्ने ट्रेण्ड देखिन्छ। उनीहरू बिरामी नै हुन्छन् कि बिरामी बनेको नाटक गर्छन्

कोही बिरामी हुन्छ या हुँदैन भन्ने कुरा हाम्रो हातको कुरा रहेन। कोही बिरामी भयो भने अस्पताल लैजानुपर्छ। यो मानव अधिकारको विषय पनि हो। कोही बिरामी छु भन्दा कस्टडीमा राखियो भने तपाईँहरूले नै प्रश्न गर्नुहुन्छ। बिरामी हुन्छन् या बनाइन्छन् भन्ने कुरा हामीले भन्ने कुरा होइन। डाक्टरको रिपोर्टले भन्ने कुरा हो। 

२०८० सकियो। प्रहरीको काम कारबाही कस्तो रह्यो

 संक्षेपमा भन्नुपर्दा विगत वर्षहरूको तुलनामा यो वर्षमा शान्ति सुरक्षाको दृष्टिले, अपराध अनुसन्धानको दृष्टिले सफल रह्यो भन्ने हाम्रो निष्कर्ष छ।

हामीलाई कानुनले निर्देशित गरेको जिम्मेवारीअनुसार नेपालभरिको मेकानिज्म हेर्दा २६६० इकाइहरू र  ७९ हजार ५ सय ४१ जनशक्तिहरूले इमान्दार भएर काम गरेका छन्। कतिपय कामहरू यो वर्ष पूरा नगर्दा ०८१ मा पूरा गर्ने हाम्रो लक्ष्य छ। 

२०८० मा करिब ५९ हजार मुद्दा दर्ता भएका छन्। जसमा महिला तथा बालबालिकामाथि भएको हिंसा मात्र १३ हजार छन्। महिला  तथा बालबालिकाहरू असुरक्षित बन्दै गएका हुन्

यसरी हेरौँ। साउनदेखि फागुनसम्म ५९ हजार ६१ मुद्दा दर्ता भएका छन्। ती मुद्दा दर्ता भएको अनुपात हेर्ने हो भने गत वर्ष ५६ हजार मुद्दा दर्ता भएका थिए।

अब हामीलाई लाग्छ असारसम्म ५ हजारभन्दा बढी मुद्दा दर्ता हुन सक्छन्। भनेसी हरेक वर्ष ७/८ हजारको अनुपातमा मुद्दा दर्ता बढ्दै गएको छ।

किन बढ्योभन्दा सम्पूर्ण मान्छेहरू सचेत भएका छन्। सानो कुरा पनि प्रहरीलाई रिपोर्ट गर्नुहुन्छ। विगत वर्षमा भन्दा अहिले शहरीकरण बढेको छ। जनसंख्या वृद्धि भएको छ। आवतजावत बढेको छ। बढ्दै गएको मोविलिटीमा सुरक्षाहरू जोडिन्छन्।

यसमा भएका घटनामा प्रहरीले रोकथामको क्रम भने बढाएको छ। अनुसन्धान गरिरहेको छ।  १३ हजार मुद्दा कम भने हैन। तर, हामीले रोक्ने कोशिष गरिरहेका छौँ। यो वर्ष आर्थिक अपराधको घटनाहरू बढेका छन्।  विशेष गरेर बैंकिङ कसुरका मुद्दाहरू धेरै देखिन्छ। शान्ति सुरक्षासम्बन्धी मुद्दाहरू दर्ता भएका छन्। आत्महत्या, लागुऔषधसँग सम्बन्धित छन्। चोरीका घटनाहरू छन्। 

अहिले अघिल्लो वर्षभन्दा धेरै मुद्दा दर्ता भए भन्नुभयो। मान्छेहरू अन्याय लुकाएर बस्नुभन्दा पनि न्यायका लागि प्रहरीकहाँ आउन थालेका हुन् भन्न मिल्छ

एकदम भन्न मिल्छ। हाम्रो प्रहरीको उपस्थिति दुर्गमदेखि शहरसम्म रहेको छ। त्यहाँको नागरिकले जेसुकै समस्या भए पनि प्रहरीलाई भन्ने गरेको छ। लेनदेन होस या अंशबण्डा। जजक होस् या मारपिट। जुनसुकै मुद्दा पनि हामीकहाँ आउँछन्।

विकास निर्माणका काममा समेत भएका गल्तीका बारेमा प्रहरीमा रिपोर्ट गर्न आउने गरेका छन्। यो मानेमा प्रहरीप्रति नागरिकको विश्वास बढ्दै भएको छ।  कुनै पनि उजुरी प्रहरीको कहाँ गयो भने न्याय पाइन्छ भन्ने कुरा नागरिकले विश्वास गरेका छन्। 

नेपालमा दैनिक चारजना महिला तथा बालिका बलात्कृत हुने तथ्यांकले देखाउँछ। उनीहरू कोबाट असुरक्षित छन्? परिचितबाट कि परिचितबाट?

आजभन्दा २०/३० वर्षभन्दा अगाडि कुनै पनि अपराध भनौँ बलात्कार नचिनेको मान्छेहरूले गर्नेको संख्या उल्लेख्य थियो। चिनेकोले कम थियो। आजका दिनमा ठिक उल्टो छ। अचेल अपरिचितले गरेको अपराध कम छ भने परिचितको बढी छ।

नेपालमा ८९ प्रतिशत तथ्यांकले चिनजानबाट नै बलात्कार भएको देखिन्छ। परिवार, समाज तथा हाडनाता जोडिएको छ। अन्य अपराधमा पनि चिनजानको बढि देखिन्छ। 

यस्ता अपराधमा संस्कार वा नैतिक शिक्षाको खडेरी हो

परिचितबाट नै अपराध बढ्नुका दुई चारवटा कारण देखिन्छन्। पहिलो हो संस्कारको अभाव। दोस्रो कुरा सामाजिक सञ्जालको दुरूपयोग। तेस्रो अहिले अत्यधिक मध्यपान, आर्थिक क्राइसिस पनि अपराधहरू पनि जोडिएका छन्। 

प्रहरीलाई पेशेवर अपराधिहरूलाई नियन्त्रण गर्न सहज छ। तर परिवारको सदस्य वा चिनजानकोले गर्ने अपराधहरूलाई नियन्त्रण गर्न त प्रहरी लागिपरेकै छ। तर यो अलिक जटिल भने पक्कै छ। 

प्रहरीले गर्ने काम नागरिकसँग सिधै सम्बन्ध राख्ने हुनाले नागरिकको जिज्ञासा छ।  कुनै घटना घट्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने नागरिकको दायित्व हो। तर कोही व्यक्ति पक्राउ हुनेबित्तिकै मिडियामा ऊ सार्वजनिक हुन्छ। त्यो व्यक्ति अदालतले निर्दोष भयो भने उसको सामाजिक जीवन सकिन्छ। कुनै व्यक्तिको सामाजिक जीवनबारे प्रहरी कत्तिको सचेत छ

यो कुरा यथार्थ हो। अपराधमा को कति जोडिन्छ भन्ने कुरा अनुसन्धानले थाहा हुन्छ। अनुसन्धानकर्मीलाई कानुनले अधिकार दिएको छ। कुनै घटनाहरूमा को कति जोडिन्छ भनेर प्रहरी पुग्नुपर्छ।

त्यसका लागि नियन्त्रण लिनुपर्छ। नियन्त्रणमा नलिईकन अनुसन्धान गर्ने पनि हुन्छ। पहिले सुन अनि थुनअनुसार काम गरेका छौँ। प्रहरीले प्रविधिको प्रयोग गरिरहेको छ। प्रमाणमुखी अनुसन्धानमा लागिरहेको छ।

मान्छेलाई अनावश्यक दुख दिनुहुँदैन भन्नेमा हामी सचेत छौँ। र हरेक अनुसन्धानमा सहयोग गर्नुपर्ने नागरिकको दायित्व हो। कुनै व्यक्तिलाई प्रहरीले सोधपुछ गर्न बुझाउँदैमा ऊ नै अपराधी हो भन्ने मानसिकता हटाउन जरूरी छ। 

यतिबेला सबैभन्दा धेरै चर्चाको विषय हो सहकारी ठगी। र जिबी राई। उनलाई पक्राउ गर्न किन सक्नुभएन? सँगै यो वर्ष सहकारीका कति मुद्दा दर्ता भए

पक्राउ गर्न प्रहरी सक्षम छ। सहकारीको सबै केस प्रहरीले हेर्ने होइन। सहकारी व्यवस्थापनको विषयमा सहकारी विभाग छ। कतिपय विषयहरू प्रहरीले हेर्नुपर्छ। जस्तो ठगी परिभाषामा आउँछ भने प्रहरीले हेर्ने गर्छ।

साउनदेखि अहिलेसम्म १४९ वटा केसहरू दर्ता गरेका छौँ। हजारौँ निवेदनमध्ये हामीकहाँ आएका निवेदनहरू अनुसन्धान गरेर सकिसकेका छौँ।

दोस्रो कुरा राईको हकमा नेपालभन्दा बाहिर भए पनि हामीले पक्राउ गर्छौँ। हामीले इन्टरपोलको सहायता लिने गरेका छौँ। कोही पनि व्यक्ति पक्राउ नपर्ने भन्ने हुँदैन। 

प्रदर्शनका कुरा पनि छन्। यो वर्ष प्रहरीले दंगा नियन्त्रण गर्न ११६६ राउण्ड असुर ग्यास प्रहार गर्नुभयो। ३२४ हवाई फायर तथा ९६ राउण्ड रबर बुलेट प्रहार गर्नुभयो। यो तथ्यांकले प्रहरी प्रदर्शनकारीमाथि क्रूर बन्दै गएको हो भन्ने भान हुन्छ। प्रदर्शनकारीमाथि बल प्रयोग गर्न कति जायज छ?

प्रहरीको मुख्य काम भनेको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने हो। प्रहरी किन स्थापना भयो भन्दा दंगा होला समाज अशान्त हुन्छ, यसलाई नियन्त्रण गर्न नै बनेको हो। जब अत्यधिक दंगा हुन्छ, सार्वजनिक सम्पति तोडफोड हुन्छ भने त्यसलाई रोक्न प्रहरी लागिपर्छ।

प्रहरीले कसरी काम गर्ने सम्बन्धमा स्थानीय प्रशासन ऐनले अधिकार दिएको छ। जब दंगा अनियन्त्रित हुन्छ प्रहरीले बल प्रयोग गर्न बाध्य हुन्छ। एकैचोटि ठूलो बल प्रयोग भन्ने हैन। पहिले हामी सम्झाउने बुझाउने गर्छौँ। उहाँहरूलाई चेतावनी दिन्छौँ। लाठी चार्ज गर्छौं। पानीको फोहोरा हान्छौँ।

​हामी विभिन्न स्टेज पूरा गरेर मात्र दंगा नियन्त्रण गर्छौँ। हामीले मानव अधिकारलाई सम्मान गर्दै प्रहरीले आफ्नो काम गर्नुपर्ने हुन्छ। केका लागिभन्दा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षाका लागि जनको क्षति रोक्नका लागि। 

तपाईँहरू प्रहरी विभिन्न दर्जाका व्यक्तिलाई मनोबल बढाएका छौँ भन्नुहुन्छ। तर पाँच वर्षको अवधिका ४६ सय ३७ जना प्रहरीले राजीनामा दिनुभयो। किन राजीनामा दिन बाध्य हुन्छन् प्रहरी

नेपाल प्रहरीको हकमा मात्र होइन। यहाँ हरेक मान्छेले आफ्नो जागिर पेशा छोडेर अर्को जागिरमा सिफ्ट भएका छन्। यो नयाँ घटना पनि होइन।  कसैले गरिरहेको कामभन्दा राम्रो ठाउँमा अवसर पायो भने ऊ जान्छ भने हामीले रोक्ने कुरा त हुँदैन। प्रहरीको हकमा कुरा गर्नुहुन्छ भने लौ यति धेरैले छोडे। प्रहरीमा के भयो? त्यस्तो भन्ने लाग्ला। यहाँ काम गर्ने ७९ हजार प्रहरीहरूले गर्वले काम गरिरहनु भएको छ। एकाधले छोड्ने कुरा नौलो होइन।

आम जनताको चासोको विषयमा रहन्छ प्रहरी। सबैले भरोसा गर्छन् प्रहरीलाई। सरकारले पनि सक्दो काम गरिने रहेको छ। हाम्रो प्रहरीले पनि कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको छ। बढुवाको प्रणाली छ। युएनमा सेवा गर्ने अवसर छ।

धेरै आकर्षणका विषय रहेका छन्। यसमा काम गरेर आफूलाई गर्व महसुस गर्नेको प्रहरीहरूको जमात ठूलो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.