कृषिमा दक्ष कामदार अभाव, किसानलाई बाँदर र दुम्सीको सास्ती

|

काठमाडौं : नेपालमा प्रमुख खाद्यान्न बालीका रुपमा उत्पादन गरिने धानको मूल्य गण्डकी प्रदेशमा सबैभन्दा धेरै रहेको पाइएको छ । 

तर धानको उत्पादन भने सबैभन्दा धेरै मधेश प्रदेशमा हुने गरेको छ। राष्ट्रिय कृषि गणना २०७८ सामुदायिक प्रतिवेदनअनुसार, नेपालमा वर्षे धानको औसत मूल्य ३ हजार १११ रुपैंया रहेकोमा गण्डकी प्रदेशमा वर्षे धान सबैभन्दा महँगो र मधेस प्रदेशमा सबैभन्दा सस्तो रहेको छ ।

गण्डकी प्रदेशमा वर्षे धानको औसत मूल्य प्रति क्विन्टल ३ हजार ८६५ रूपैयँ रहेको छ भने मधेस प्रदेशमा २५ सय रूपैयाँमै एक क्विन्टल धान किन्न पाइन्छ ।

प्रदेशगत रुपमा तुलना गर्दा वर्षे धानको औसत मूल्य कोशी प्रदेशमा ३ हजार २९१, बागमती प्रदेशमा ३ हजार ५०५, लुम्बिनी प्रदेशमा २ हजार ८९५, कर्णाली प्रदेशमा ३ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८११ रुपैंया प्रति क्विन्टल रहेको प्रतिवेदनमा उल्लेख छ।

धानको राष्ट्रिय स्तरको उत्पादकत्व ३४.१ क्विन्टल प्रति हेक्टर रहेको छ। सबैभन्दा धेरै धान उत्पादन मधेस प्रदेश र कम उत्पादन कर्णालीमा हुने गरेको छ । मधेसको उत्पादकत्व ३७.३ क्विन्टल प्रति हेक्टर र कर्णाली प्रदेशको ३०.७ क्विन्टल प्रति हेक्टर रहेको छ ।

देशभरका ४ हजार १७३ वडामा प्रमुख खाद्यान्न बालीको रुपमा धानको उत्पादन हुने गरेको छ । धानपछि मकै १ हजार ३६० वडामा प्रमुख बालीका रुपमा रहेको छ। यस्तैगरी गहुँ, कोदो, जौ अर्थात् उवा र फापरको खेती क्रमशः २१९, ११९, ६१ र १५ वडामा प्रमुख बालीको रुपमा गर्ने गरिन्छ ।  

वर्षे मकैको औषत मूल्य भने प्रति क्विन्टल २ हजार ३६५ रूपैँया रहेको छ। प्रदेशगत रुपमा हेर्दा, मकैको सबैभन्दा बढी मूल्य गण्डकी प्रदेशमा २ हजार ४४५ र सबैभन्दा कम सुदुरपश्चिममा २ हजार २४६ रूपैँया रहेको राष्ट्रिय तथ्यांक कार्यालयको कृषि गणना सामुदायिक प्रतिवेदनमा उल्लेख छ।

वर्षे मकैको राष्ट्रिय स्तरको उत्पादकत्व ३०.९ क्विन्टल प्रति हेक्टर रहेकोमा मधेस प्रदेशको सबैभन्दा धेरै ३६ र गण्डकी प्रदेशको सबैभन्दा कम २७.९ क्विन्टल प्रति हेक्टर रहेको छ । 

गहुँको औषत मूल्य ३ हजार ८९६ रहेकोमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ४ हजार ९५५ र मधेस प्रदेशमा ३ हजार २१९ रूपैँया रहेको छ। गहुँको राष्ट्रियस्तरको उत्पादकत्व २७.१ क्विन्टल प्रति हेक्टर रहेको छ भने, मधेस प्रदेशको सबैभन्दा बढी २८.७ क्विन्टल र कोशी प्रदेशको उत्पादकत्व सबैभन्दा कम २४.७ क्विन्टल प्रति हेक्टर रहेको छ।

नेपालमा कोदोको औसत मूल्य प्रति क्विन्टल ४ हजार ३०३ रहेको छ भने उत्पादकत्व १८.१ क्विन्टल प्रति हेक्टर रहेको छ । 

कृषिमा पाइँदैन दक्ष कामदार

प्रतिवेदनअनुसार, कृषि कार्यका लागि भने दक्ष कामदारको अभाव देखिएको छ। पछिल्लो ३ वर्षमा कृषि कामदार घटेका छन् । मधेसका धेरैजसो ठाउँमा कृषिजन्य कार्यमा खटिनेहरूको संख्या घटेको छ।

विवरण संकलनका क्रममा मधेस प्रदेशमा गणना गरिएका २ हजार ४१७ वडामध्ये ६२ प्रतिशत अर्थात् ७१३ वडामा कृषि कामदारको अभाव देखिएको हो। कर्णाली प्रदेशमा कृषि कामदार अन्य प्रदेशको तुलनामा कम अभाव छ । यस प्रदेशमा गणना गरिएकामध्ये १३ प्रतिशत वडामा मात्र कृषि कामदारको अभाव रहेको छ । 

महिला कामदारको ज्याला पुरुषभन्दा कम

कृषि कामदारको तुलना गर्दा महिलाले भन्दा धेरै पुरुष कामदारले ज्याला पाउँछन्। तथ्यांक कार्यालयले वडाहरूबाट प्राप्त सामुदायिक विवरणका आधारमा विश्लेषण गर्दा नेपालमा महिला कृषि कामदारको दैनिक औसत ज्यालादर ५३१ रुपैंया रहेकोमा पुरुषले ६६५ रुपैंया पाउँछन्।

महिला र पुरुषको ज्यालादार सबैभन्दा बढी बागमती प्रदेशमा क्रमशः ६०५ र ८१० तथा सबैभन्दा कम मधेस प्रदेशमा महिलाको ४७७ र पुरुषको ५५७ रुपैंया रहेको छ । बेलाबेलामा समान ज्यालाको माग उठ्ने गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। 

किसानलाई बाँदर र दुम्सी आतंकको सास्ती

कृषिजन्य उत्पादनका क्रममा किसानले जंगली जनावरको आतंक पनि निकै खेप्नुपरेको छ । सबैभन्दा धेरै बाँदरले बालीनालीमा हानी नोक्सानी पुर्याउने गरेको भेटिएको छ।

​कृषि गणना गरिएका ६ हजार ३६ वडामध्ये सबैभन्दा धेरै ३ हजार ९२७ वटा वडामा बाँदरले कृषिजन्य उत्पादन तथा पशुपन्छीमा हानी नोक्सानी पुर्याउने गरेको उल्लेख छ । 

बाँदरपछि दुम्सी, स्याल र बँदेलले क्रमशः २ हजार ७५२, २ हजार ५३४ र २ हजार ३६२ वडामा  नोक्सानी पुर्‍याएको यस गणनाले देखाएको छ । मृग, बाघ, चितुवा, वनबिरालो र लोखर्केलेसमेत किसानलाई अन्नबाली उत्पादन गर्ने क्रममा निकै सास्ती दिने गरेका छन्।

 मधेशबाहेकका सबै प्रदेशका अधिकांश वडाका किसानहरू बाँदरबाट प्रभावित भएका छन् । मधेस प्रदेशमा भने सबैभन्दा धेरै बँदेलले दु:ख दिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.