काठमाडौँ : वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट च्याम्पियनशिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउँदै प्रतियोगितामा दोस्रो खेल जितेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
जितसँगै लुम्बिनीले ३ खेलबाट ४ अङ्क जोडेको छ। यसअघि गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको लुम्बिनी मधेशसँग २७ रनले पराजित भएको थियो।
कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ५१ रन बनाए। यसैगरी मृणाल गुरुङले १३ रन जोड्दा विराट भण्डारीले अविजित १० रन बनाए।
कर्णालीका लागि कप्तान दिवान पुनले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको बनाएको थियो।
उसका लागि अर्जुन घर्तीले सर्वाधिक २८ रनको योगदान दिए भने दिवान पुनले १२ तथा दीपेन्द्र रावलले ११ रन बनाए।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका देव खनाल‚ अविशेक गौतम र वीर मगरले २/२ विकेट लिए भने निर्मल गुरुङ, कृष्ण कार्की र नर सार्कीले १/१ विकेट लिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।