|

काठमाडौँ : विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास अप्रिल १९ देखि शुरु हुने डेढ महिना लामो चुनावमा करिब १ अर्ब भारतीय मतदाताले नयाँ सरकार चयनका लागि मतदान गर्नेछन्।​

लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि मतदान हुँदै छ। सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ। यो भारतको इतिहासमै सबैभन्दा लामो समय ४४ दिनसम्म चल्ने निर्वाचन हुने बताइएको छ। पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसपटकको चुनावी प्रतिस्पर्धामा प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको नेशनल डेमोक्र्याटिक अलाइन्स–एनडीए र विपक्षी कांग्रेस नेतृत्वको इन्डिया नेशनल डेभलपमेन्ट इनक्लुसिभ अलायन्स अर्थात् इन्डिया मुख्यतः दुई गठबन्धनबीच हुनेछ।

चुनाव आफ्नो अनुकूल बनाउन दुवै गठबन्धनले सम्पूर्ण तागत लगाइरहेका छन्। नरेन्द्र मोदी सन् २०१४ यता लगातार सत्तामा छन्। उनी हिन्दुत्वलाई प्रश्रय दिँदै अन्य धर्ममाथि कठोर बन्दै गएको देखिएको छ। उनीमाथि धर्मको पक्षपातीको आरोप लाग्दै आएको छ। उनको सत्ता यात्रामा रोक लगाउन कांग्रेसलाई चुनौती रहेको छ भने भाजपाको सरकारको निरन्तरता दिन मोदीलाई सहज पक्कै छैन। किनभने मोदीको रवैयालाई पराजित गर्न प्रतिपक्ष दलहरू एक ढिक्का भएका छन्। चुनाव अगाडि भारतमा केके भए। चर्चा गरौं।

विपक्षी दलको एकता

लोकसभा निर्वाचनका लागि विपक्षी दलहरूले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएलाई चुनौती दिन 'भारत' नामको नयाँ गठबन्धन बनाए। गत जुलाईमा बेंगलुरुमा बसेको २६ विपक्षी दलको बैठकले 'भारत' नामको गठबन्धन बनाउने घोषणा गरे। त्यसबेला आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले मोदी नेतृत्वको सरकारले भारतको अर्थतन्त्र बर्बाद पारेको बताएका थिए।

विपक्षी दलहरूलाई एक ठाउँमा आउन बाध्य बनाउने काम पनि मोदीले नै गरेको उनको टिप्पणी थियो। त्यस्तै भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले यो लडाइँ विजेपीको विचारधाराविरुद्ध रहेको बताएका थिए।

अर्कोतर्फ भाजपाको नेतृत्वमा रहेको सत्तारुढ एनडीए गठबन्धनमा पनि ३० भन्दा बढी क्षेत्रीय पार्टीहरू सामेल छन्। जो तेस्रोपटक मोदीलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी दौडमा छ।

दिल्लीका मुख्यमन्त्री केजरीवालको पक्राउ प्रकरण

भारतको वित्तीय अपराध अनुसन्धान निकाय (इडी) ले गत मार्च २२ मा राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो।

कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गर्‍यो।

दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको बताइएको छ। सन् २०२२ मा केजरीवाल सरकारले लागु गरेको उक्त नीतिले निजी क्षेत्रका थोक विक्रेतालाई अनुचित लाभ दिएको आरोप छ। आप समर्थकहरूले भने यस नीतिले सरकारी एकाधिकार तोडेको बताउँदै आएका छन्।

यसै मुद्दाका सम्बन्धमा उनको पार्टीका दुई नेता सञ्जय सिंह र मनीष सिसोदियालाई अघिल्लो  वर्ष पक्राउ गरिएको थियो। केजरीवालको पक्राउपछि  प्रमुख विपक्षी कांग्रेसले मोदी सरकारले विपक्षीलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएको छ। केजरीवालको राजनीतिक जीवन सक्न भाजपाले उनलाई जेल हालेको विपक्षी दलहरूले बताउँदै आएका छन्।

कांग्रेसको बैंक खाता रोक्का

सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि गत महिना आमचुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससँग पैसा नभएको दुखेसो कांग्रेस नेता राहुल गान्धीले पोखेका थिए।

‘गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ’, ५३ वर्षीय गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भनेका थिए‚ ‘हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन।’

कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा पार्टीका धेरै बैंक खाता रोक्का गरिएको थियो।

‘हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ’, स्वतन्त्रतापछि दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा कांग्रेस नेता गान्धीले भने, ‘हामीसँग प्रचारका लागि पैसा छैन, हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न नसक्ने भएका छौँ। सरकारको नीतिका कारण चुनाव लड्ने हाम्रो क्षमता घटेको पुगेको छ।’

यसैबीच कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले पार्टीलाई पंगु बनाउने प्रणालीगत प्रयासको हिस्साका रूपमा बैंक खाता रोक्का गरिएको आरोप लगाएकी थिइन्।

राहुलको गान्धीको ‘भारत जोडो यात्रा र न्याययात्रा

सन् २०२२ को सेप्टेम्बरमा कांग्रेस नेता राहुल गान्धीले ‘भारत जोडो’ यात्रा शुरु गरेका थिए। कन्याकुमारीदेखि कश्मीरसम्म उनी पैदल यात्रामा निस्किएका थिए। राहुलले १ सय ३६ दिन पैदल हिँडेर ४ हजार किलोमिटरको दूरी पार गरे। त्यसबीचमा लाखौँ जनता र पार्टीका कार्यकर्तासँग उनले भेटेका थिए।

पार्टीले राहुलको यो यात्राको घोषित उद्देश्य भनेको ‘भारतलाई एकजुट बनाउनु रहेको बताएको थियो।

भारत जोडो यात्राका क्रममा राहुल गान्धीले पटक-पटक देशमा घृणा फैलाउने काम भएको भन्दै आफूहरू अब प्रेम र भाइचाराका लागि एकताबद्ध हुनुपर्ने बताएका थिए।

किसान, मजदुर, युवा, गरिब महिलाका मुद्दा उठाएका थिए।  भारत जोडो यात्रा सकेपछि उनले पुन २०२४ को जनवरीमा ‘भारत जोडो न्याय यात्रा’ गरेका थिए। ६३ दिनको यो यात्रामा राहुलले ६ हजार ६ सय किलोमिटरबीचमा १ सय १० जिल्लामा १५ आमसभा र ७० ठाउँमा जनतालाई सम्बोधन गरेका थिए।

उनको यो यात्राले चुनावमा कस्तो प्रभाव देखाउला त? हेर्न भने बाँकी छ।

राहुल गान्धीको सांसद पदबाट निष्काशित

सन् २०१९ मा एक चुनावी भाषणमा ‘मोदी थर भएका सबै चोर हुन्छन्’ भन्ने उनको अभिव्यक्तिमाथि परेको मुद्दामा उनी दोषी देखिए। गुजरातको सुरतस्थित अदालतले उनलाई सजाय हुने फैसला गरेपछि उनको सांसद पद खोसिएको थियो तर उनलाई सर्वोच्च अदालतले सफाइ दियो र उनी पुनः लोकसभा फर्किए। मोदीका वाचा किन पूरा भएनन् भनेर आवाज उठाइरहे र मणिपुर घटनामा मोदीको बेवास्तालाई निशाना बनाइरहे।

कस्तो छ कांग्रसको घोषणापत्र?

कांग्रेसले अप्रिल ५ मा घोषणापत्र जारी गरेको थियो । पार्टीले यसको नाम ‘न्यायपत्र’ राखेको छ।

यस घोषणापत्रमा अनुसूचित जाति, जनजाति र ओबीसीका लागि ५० प्रतिशत आरक्षणको निश्चित सीमा बढाउने भनिएको छ। यसका लागि संविधान संशोधन गर्ने वाचा पनि गरिएको छ। कांग्रेसको सरकार बनेमा न्यूनतम समर्थन मूल्यको कानुनी ग्यारेन्टी दिने वाचा पनि गरिएको छ। केन्द्र सरकारमा ३० लाख जागिरको पद रहेको र उक्त पदपूर्ति गरिने बताएको छ।

राजस्थानको चिरञ्जीवी योजना जस्तै सम्पूर्ण देशमा २५ लाखको स्वास्थ्य बीमा उपलब्ध गराइनेछ। देशभर सामाजिक, आर्थिक र जातीय सर्वेक्षण गरिने भएको छ। पेपर चुहावटका मुद्दाहरू सम्बोधन गर्न फास्ट ट्रयाक अदालत गठन गरी पीडितहरूलाई आर्थिक क्षतिपूर्ति दिइनेछ। स्टार्टअपका लागि रकम उपलब्ध गराइनेछ, ताकि ४० वर्षमुनिका व्यक्तिहरूले आफ्नो व्यवसाय शुरु गर्न सकून्। २१ वर्षमुनिका उदीयमान खेलाडीका लागि मासिक १० हजार रुपैयाँको योजना शुरु गरिनेछ। २०२५ देखि केन्द्रीय सरकारी जागिरको आधा हिस्सा महिलाका लागि आरक्षित हुने, दैनिक ४ सय रुपैयाँ न्यूनतम पारिश्रमिक दिने प्रतिबद्धता गरिने जस्ता घोषणा गरिएको छ।

कस्तो छ भाजपाको घोषणापत्र?

भारतीय जनता पार्टी (भाजपा) ले अप्रिल १४ मा दिल्लीस्थित आफ्नो पार्टी मुख्यालयमा २०२४ लोकसभा चुनावको घोषणापत्र जारी गर्‍यो। पार्टीले घोषणापत्रको नाम ‘भाजपाको संकल्प, मोदीको ग्यारेन्टी’ राखेको छ ।

घोषणापत्र सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले भनेका थिए, ‘पूरा देश भाजपाको घोषणापत्रको प्रतीक्षामा छ। यसको मुख्य कारण यो हो कि भाजपाले हरेक ग्यारेन्टी पूरा गरेको छ। यो घोषणापत्रले चार खण्डहरूलाई सशक्त बनाउँछ - युवाशक्ति, महिला क्ति, किसान र गरिबहरू हामीले ठूलो संख्यामा रोजगारी बढाउने कुरा गरेका छौं।‘

२५ करोड जनतालाई गरिबीबाट बाहिर ल्याएर हामीले प्रमाणित गरेका छौं कि हामी जे भन्छौं त्यही गर्छौं। आफूहरूले परिणाम ल्याउन काम गरेको प्रमाणित भएको उनले बताएका छन्।

भाजपाको घोषणापत्रमा पीएम सूर्य घर योजना अन्तर्गत आगामी पाँच वर्षसम्म निःशुल्क रासन, पानी, ग्यास जडान र शून्य बिजुलीको बिलको व्यवस्था, आयुष्मान भारतबाट ५ लाखसम्मको निःशुल्क उपचार उपलब्ध गराइँदै आएको छ, यो भविष्यमा पनि जारी रहनेछ। ७० वर्षभन्दा माथिका प्रत्येक ज्येष्ठ नागरिकलाई यो योजनामा ​​ल्याइने भनिएको छ।

घोषणापत्रमा जनऔषधि केन्द्रमा ८० प्रतिशत छुटमा औषधि उपलब्ध हुने मोदीको ग्यारेन्टी,  सन् २०३६ मा ओलम्पिक आयोजना गर्ने,  प्रधानमन्त्री आवास योजनामा ​​अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने, पूर्वाधार, उत्पादन, स्टार्टअप, खेलकुद, लगानी, उच्च मूल्याङ्कन सेवा र पर्यटनमार्फत युवाका लागि लाखौं रोजगारीका अवसरहरू सृजना गर्ने जस्ता कुरा समावेश गरिएको छ।

आम आदमी पार्टीको ‘आपका राम राज्य’ वेबसाइट

आसन्न लोकसभा निर्वाचनको तयारीका क्रममा रामनवमीका अवसर पारेर आम आदमी पार्टीले ‘आपका रामराज्य’ नामक वेबसाइटको शुभारम्भ गर्‍यो।

भगवान् रामको रामराज्यको प्रेरणाबाट भारतको दिल्ली र पञ्जाबमा राम्रो काम भएको प्रदर्शन गर्ने ध्येयले सञ्चालनमा ल्याइएको वेबसाइट शुभारम्भका लागि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता सञ्जय सिंह, अतिषी, सौरभ भारद्वाज र जस्मिन शाहले सम्बोधन गरेका  थिए। सांसद सञ्जय सिंहले आफ्नो पार्टीको सरकारले गत दश वर्षमा रामराज्य महसुस हुने गरी काम गरेको जिकिर गर्दै यी उदाहरणलाई विश्वमाझ प्रस्तुत गरिएको बताए।

सो पार्टीले जनमतका आधारमा अरविन्द केजरीवालको नेतृत्वमा दिल्ली र भगवन्त मानको नेतृत्वमा पञ्जाबमा सरकार सञ्चालन गरिरहेको छ। ‘दिल्ली एकमात्र त्यस्तो राज्य हो, जहाँ धेरै काम हुँदा हुँदै पनि नाफामूलक बजेट कार्यान्वयनमा रहेको छ। यसबाट हामी हाम्रो रामराज्यको सोचलाई कार्यान्वयन तहमा पूरा गराउन प्रतिबद्ध छौँ देखिएको छ’, सिंहले भने, ‘जसले हाम्रो रामराज्य हेर्न चाहन्छन्। उनीहरूले यो वेबसाइट हेर्नैपर्छ। दिल्ली र पञ्जाबमा हामीले के गर्‍यौँ  भन्ने सबै कुरा यहाँबाट पाउन सकिन्छ।‘

सो पार्टीका नेता अतिषीले भगवान् रामले रामराज्यका लागि धेरै सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै केजरीवालले जनतामाझ आफ्ना प्रतिबद्धता पूरा गर्न पनि दिल्ली र पञ्जाबमा त्यस्तै सङ्घर्ष गर्नुपरेको बताए। उनले भने, ‘भगवान् रामले १४ वर्षको निर्वासित जीवन बिताउनुभयो तर उहाँले आफ्नो सत्यको सङ्कल्प तोड्नु भएन। केजरीवाल त्यस्तै सङ्घर्षको चरणबाट अघि बढ्नुभएको छ। यस वेबसाइटबाट हामी देशका जनतालाई यदि सही ठाउँमा जनताले मत दिएमा जीवनस्तर परिवर्तनका लागि हामी के गर्छौँ भनेर देखाउन खोजेका छौँ।’

पहिलो चरणमा कहाँ कहाँ हुँदै छ चुनाव?

पहिलो चरणअन्तर्गत अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मु कश्मीर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ

विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन्। कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष र ४७ करोड १० लाख महिला छन्।

बिबिसी/ दैनिक भाष्कर/ अलजजिराको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.