|

काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र विस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन्।

बिहीवार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले नेपालको अर्थतन्त्रका धेरै सूचक सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे।

उनले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए। उनले सरकारले लिएको नीतिगत निर्णयका कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको उल्लेख गरे।

गभर्नर अधिकारीले अन्ताराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए। उनले कोरोना महामारीको संकट र रूस युक्रेन युद्धका बीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए।

उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताए। उनले सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए।

उनले भने, ‘अन्ताराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। कोरोना महामारीको संकट र रूस युक्रेन युद्धबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धि हुने देखाएको छ। यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ। उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्दो छ। नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचक बलियो रूपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ। जुन नीतिगत सुधारको कारण बाह्य क्षेत्र सुधार, सबल वित्तीय क्षेत्र, मूल्यवृद्धि स्थिर छ।’

उनले लेखापरीक्षण व्यवसायीहरूको सक्षमताले निजी क्षेत्र र राज्यका निकायलाई पारदर्शी बनाउन मद्दत पुग्ने बताए। उनले लेखा व्यवसाय विश्वका एक उत्कृष्ट व्यवसाय भएको भन्दै विश्वका जुनसुकै देशमा पनि काम गर्न सकिने अवस्था रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.