पोहोरभन्दा यस वर्ष १२ हजार ८० विद्यार्थी बढी भर्ना गर्न सकिने

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ।

महानगरपालिकाका अनुसार दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्न राज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर)मा विद्यार्थी भर्नाको चाप छ।

यस्तै, विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (बाफल), गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी), कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा विद्यार्थी भर्नाको चाप धेरै छ।

शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गते भर्ना अभियान शुरू भएको हो। यो क्रम ७ गतेसम्म चल्ने महानगरपालिकाले जनाएको छ। भित्री शहरी क्षेत्रमा भएका सामुदायिक विद्यालयहरूमा भर्नाका लागि जनप्रतिनिधिहरू अहिले घरदैलो कार्यक्रममा छन्।

वडा नं. १८ को भक्त माध्यमिक विद्यालय (रक्तकाली) मा बालबालिका भर्ना गराउन आयोजना गरिएको प्रभातफेरीमा गएका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन्, यी त पूर्वाधार, साधन, स्रोत र उपकरणजस्ता भौतिक उपलब्धता, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि छन्।’

विद्यालयमा अहिले शिक्षा दिने मात्र होइन, शिप पनि सिकाइन्छ, प्रारम्भिक बाल विकासका कक्षाले बालमैत्री वातावरण तयार भएको छ, एकीकृत सिकाइ र शिक्षामा शिप कार्यक्रमले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो भएको छ।

वडा २७ का अध्यक्ष योगेशकुमार खड्गीका अनुसार दरबार हाई स्कूलमा भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीलाई भर्ना दिन कठिन छ। 

कोटेश्वर सरस्वती माध्यमिक विद्यालय कोटेश्वरका प्रधानाध्यापक पुष्पराज कुँवर भन्छन्, ‘दिनको कक्षामा हाम्रो क्षमता १ हजार जना विद्यार्थीका लागि हो, आजसम्ममा नयाँ ५ सयभन्दा बढी विद्यार्थीको आवेदन आइसकेको छ, नयाँ आउने क्रम पनि जारी छ।’

गीतामाता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालयले राखेको लक्ष्य पूरा गराउन खोजिएको छ। ‘यस वर्ष ४ सय थप विद्यार्थी भर्ना लिने कि भन्ने छ,’ उनले भने।

ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि १ हजार ८५० वटा फाराम वितरण गरेको थियो। नयाँ भर्नासम्बन्धी जानकारी दिँदै प्रधानाध्यापक विष्णु घिमिरे रिमाल भन्छन्, ‘हामी ५५० जना नयाँ भर्ना लिन सक्छौँ, अहिले अभिभावकहरू आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भन्नुहुन्छ, थेग्न मुस्किल भएको छ।’ 

त्रिपरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा २ हजार बढीले निवेदन दिइसकेका छन्।

प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, ‘हामी ४ सय नयाँ भर्ना लिन सक्ने अवस्थामा छौँ।’ उनका अनुसार गएको वर्ष (शैक्षिक सत्र २०८०) मा विद्यालयमा विद्यार्थीको संख्या ४ हजार ३ सय जना थियो। 

वडा नं. १२ ब्रह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक रविना महर्जन भन्छिन्, ‘प्रारम्भिक बाल विकास कक्षाका लागि गएको सरस्वती पूजाकै अवसरमा ४५ जना विद्यार्थी भर्ना भइसकेका छन्, यस कक्षामा हामी ५० जनासम्म राख्न सक्छौँ।’

शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुृवेदीका अनुसार बुधवारको संख्या हेर्दा १ दिनमा करिब २ सय जना भर्नाका लागि आएका थिए।

कतिपय कक्षाको क्षमता सकिएको छ। नियमित विद्यार्थीहरू कायमै रहने हुनाले विद्यालयले एक वर्षमा १ सय जनादेखि १५० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने गरेको छ।

जनकल्याण माध्यमिक विद्यालय, बौद्धका प्रधानाध्यापक मञ्जु मग्रातीका अनुसार यस वर्ष २५० जना भर्ना गर्ने क्षमता छ। ८ सय जना विद्यार्थीहरूका आवेदन छ। गएको शैक्षिक सत्रमा विद्यालयमा २ हजार ४४८ विद्यार्थी थिए। यीमध्ये १६० जनाले एसईई परीक्षा दिएका थिए।  

विद्यालयहरूले भर्ना लिँदा पहिलो आउनेलाई प्राथमिकता दिएको प्रधानाध्यापकहरूको भनाइ छ। महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ।

सामुदायिक विद्यालयको संख्या ८९ हो। ८९ मध्ये २ वटा पुनर्निर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिने महानगरपालिकाले जनाएको छ।

यीमध्ये ३ वटा कारागारभित्र छन्। ४ वटा विशेष विद्यालय हुन्। एउटा रात्रि विद्यालय र एउटा संस्कृत विद्यालय छन्। रात्रि र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ।

महानगरपालिकाका अनुसार गएको शैक्षिक सत्र २०८० मा यी विद्यालयहरूमा करिब ४० हजार जना विद्यार्थीले अध्ययन गरेका थिए। यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ।

विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको हो।

यस वर्ष ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रूपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान चलिरहेको छ। वैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन्।

सामुदायिक विद्यालयहरूमा ‘पुस्तकरहित शुक्रवार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकीकृत सिकाइ गराउन थालिएको छ। कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुन्छन्।

कक्षा ९ र १० मा शिक्षामा शिप कार्यक्रम नियमित चलिरहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार कक्षा कोठाहरूमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप हुन थालेका छ। यस्ता कारण सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको चाप बढेको हो। 

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन्। शैक्षिक गुणस्तर सुधारका लागि यस वर्ष करिब २ अर्ब ७५ करोड रूपैयाँ विनियोजित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.