|

काठमाडौँ : निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा ११८ वटा राजनीतिक दल छन्। संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा तीमध्ये एक दर्जन दलको प्रतिनिधित्व छ। 

ती दलहरूमध्ये पनि पहिलो तेस्रो क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आउँछन्। तसर्थ देशको मेरुदण्ड मानिने राजनीतिलाई कुन दिशातर्फ डोर्‍याउने भन्नेमा प्रमुख भूमिका यी नै दलको हुन्छ। 

करिब दुई दशकयता यिनै दलहरूले आलोपालो देशको नेतृत्व गर्दै आएका छन्। उनीहरूबाट खासगरी नयाँ संविधान जारी भएपछि जनताले राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको अपेक्षा गरेका थिए। 

तर यिनै पुराना तथा अहिलेका ठूला भनिएका दलहरूको ध्यान सत्तास्वार्थमा मात्रै केन्द्रित हुँदा देशमा राजनीतिक अस्थिरताको अन्त्य हुन नसकेको आमबुझाइ छ। विगतदेखि वर्तमानसम्मको राजनीतिक घटनाक्रमले यसलाई पुष्टि गर्छ।

अहिलेको सबैभन्दा ठूलो दल कांग्रेस स्वयं ठूला दलहरू अस्थिरता निम्त्याउन मुख्य जिम्मेवार रहेको स्विकार्छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्मा स्थिरता दिन नसक्नुमा मुख्य जिम्मेवार ठूला दल भए पनि यसमा साना दलहरूको दोष पनि उत्तिकै रहेको बताउँछन्। 

‘ठूला दलहरूको अस्थिर मानसिकता र अस्थिर प्रवृत्ति मुख्य कारण हो। एउटा दललाई मात्रै भनेको होइन कि सबै दलका प्रमुख नेताहरूको अस्थिर प्रवृत्ति नै प्रमुख हो’, उनी भन्छन्, ‘तर यसमा साना दलहरू पनि उत्तिकै जिम्मेवार छन्। उनीहरू पनि अस्थिरताका कारण पक्कै हुन्। यसमा साना तथा ठूला दलहरू बराबर जिम्मेवार देखिन्छन्।’

माओवादी केन्द्रतर्फ संकेत गर्दै नेता विश्वकर्माले ठूला भनिएकामध्येकै दलका नेतृत्वले राजनीतिक प्रणाली, देश र जनतामा पर्ने असरको ख्यालै नगरी अस्थिरता निम्तिने कदम चाल्दै आएको बताउँछन्। ‘एउटा गठबन्धन बन्यो, त्यसलाई फेरि तुरुन्त बदल्न चाहनु, राजनीतिक प्रणालीमा यसका असर, व्यवस्थाप्रति जनताले बनाउने धारणा जस्ता कुराका ख्यालै नगरिएको देखिन्छ’, उनी भन्छन्, ‘यसमा साना दलहरू उपयोग हुनु उनीहरूको मुख्य दोष हो।’

ठूला दलको अस्थिर सोच र प्रवृत्तिमा साना दलले अवसर खोज्दा राजनीतिक अस्थिरताको अन्त्य हुन नसकेको नेता विश्वकर्माको भनाइ छ। उनको यो भनाइ पुष्टि हुने घटना खोज्न टाढा जानु पर्दैन। प्रदेशहरूको वर्तमान अवस्था नियाले पुग्छ।

२१ फागुनमा नयाँ गठबन्धन फेरिएसँगै अधिकांश प्रदेशमा सरकार गठनका लागि निर्णायक देखिएका साना दलहरूले गरिरहेका ठूला ‘बार्गेनिङ’ले कांग्रेस नेता विश्वकर्माको भनाइ पुष्टि गर्छ। 

सुदूरपश्चिममा सरकारको नेतृत्व नपाएको झोकमा नेकपा एकीकृत समाजवादी प्रतिपक्षी कांग्रेसँग मिल्नसमेत पछि परेन। आफूलाई मुख्यमन्त्री दिने सहमति भंग भएपछि उसले कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) इतर पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन तम्सियो।

मुख्यमन्त्री पाउने अर्को सहमतिपछि फेरि उक्त निर्णयबाट समाजवादी पछि हट्यो। बागमतीमा पनि नेतृत्व दाबी गरेको उसले तत्काललाई सुदूरको मुख्यमन्त्रीमा चित्त बुझाउन तयार भएको छ। मधेश, बागमती र लुम्बिनीमा पनि समाजवादी मात्रै बाहिरिएको अवस्थामा वर्तमान सरकार ढल्ने स्थिति छ।    

समाजवादीको उपस्थितिले केन्द्रमा ठूलो अर्थ नराखे पनि प्रदेशहरूमा सरकार बनाउन उसको महत्वपूर्ण भूमिका छ। प्रदेश सरकारहरूलाई नै मद्देनजर गरेर समाजवादीलाई ढिला गरी सत्ता समीकरणमा भित्र्याइएको थियो । 

आफूहरूसँग सल्लाह नगरी गठबन्धन भत्काउने र बनाउने कदम चालिएको तर आफ्नो आवश्यकता परेपछि मात्र सहकार्यको प्रस्ताव गरिएको भन्दै उसले असन्तुष्टि जनाउँदै आएको छ। अधिकांश प्रदेशमा सरकार बनाउने सत्ता समीकरणका लागि ‘खम्बा’ बनेको उसले यसैमा टेकेर हैसियतभन्दा ज्यादा बार्गेनिङ गरेर अर्को अस्थिरता निम्त्याउन खोजेको आरोप पनि समाजवादीमाथि छ।

तर नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे साना दलहरूलाई अस्थिरताको कारण ठान्न पटक्कै नमिल्ने तर्क गर्छन्। ‘साना दलहरू अस्थिरताका कारण हुन् भन्ने वाहियात कुरा हो। किनभने हाम्रो संविधानले नै जति पनि दल खडा गर्ने र चुनाव लड्ने अधिकार दिएको छ। जनतालाई भोट हाल्ने अधिकार दिएको छ। जनताले भोट दिएर तिनै दललाई चुनेका छन्’, उनी भन्छन्, ‘कि त अब साना दललाई भोट हाल्ने तिमीहरू बेइमान हौ भनेर जनतालाई गाली गर्नुपर्‍यो!’

नेपालमा राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको यथार्थबारे नेता पाण्डे भन्छन्, ‘स्थिरता कायम हुन नसकेकै हो। यसका पछाडिका कारणचाहिँ अलिकति दलहरूमा परिपक्वता भएर, सांसद बनेको भोलिपल्टै मन्त्री बन्न चाहने रोग पनि हो र सरकारमा गएर पार्टी बनाउनुपर्छ भन्ने धारणाले पनि समस्या बनाएको देखिन्छ।’ 

प्रतिनिधिसभामा १०औं स्थानमा रहेको दल नाउपा केन्द्रको सत्ता समीकरणको पक्षमा रहने वा विपक्षीमा रहने भन्नेमा विभाजित छ। अन्य दलहरू एक भए पनि नाउपाको संस्थापन पक्षका दुई सांसद मात्रै बाहिर रहने हो भने सुदूरपश्चिममा सरकार बन्दैन। लुम्बिनीमा पनि सरकारका लागि नाउपाको उपस्थिति महत्त्वपूर्ण छ। 

यो हिसाबले नाउपाको पनि ‘बार्गेनिङ पावर’ कम छैन तर समाजवादी हाबी भएपछि सुदूरपश्चिमको नेतृत्वबाट भने नाउपा पछि हट्न बाध्य भयो। 

बागमतीमा हाम्रो नेपाली पार्टी (हानेपा)का कारण सरकार टिक्ने वा ढल्ने निर्भर रहने स्थिति छ। सोही कारण शुरुमा हानेपाले मुख्यमन्त्री नै दाबी गरेको थियो। पछि उसलाई रोज्जा मन्त्रालय दिएर सत्ता समीकरणमा सामेल गराइयो। 

गण्डकीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्णायक जस्तै छन्। यसैको फाइदा उठाउँदै उनी कहिले कांग्रेस त कहिले कम्युनिष्ट बनेर पटक–पटक मन्त्री खाइसकेका छन्। 

यसरी आफू निर्णायक रहने स्थितिमा साना दल तथा स्वतन्त्र सांसदको बार्गेनिङ पावर बढ्ने र पूरा नभए विपक्षमा लागेर एकमाथि अर्को अस्थिरता निम्तिने भएकाले अब देशकै राजनीति दुईकित्ते बृहत् ध्रुवीकरणमा जानुपर्ने एमाले सचिव पद्मा अर्याल बताउँछिन्। यसो नभए निर्णायक हुने साना दल तथा सांसदहरूको भाउ बढ्ने र ठूला बार्गेनिङ गरेर त्यो पूरा नहुँदा अर्को अस्थिरताको खतरा निम्तिने उनी बताउँछिन्। 

‘स्थायित्वका लागि ढिलोचाँडो दुईकित्ते राजनीतिक ध्रुवीकरणको आवश्यकता छ। त्यो कोर्समा राजनीति नजाने हो भने जसले थोरै सिट ल्याउँछ, उसैको भाउ बढ्ने, उसैले प्रधानमन्त्री, मुख्यमन्त्रीको बार्गेनिङ गर्ने, सांसदहरूकै संख्या बराबर मन्त्री खोज्ने स्थिति आयो’, उनले भनिन्, ‘त्यसकारण स–साना टुक्रा पार्टी निर्माण गर्नेभन्दा पनि अब दुई ठूला शक्तिका बीचमा प्रतिस्पर्धा आजको आवश्यकता हो।’

सबै वामपन्थी एकतिर र सबै प्रजातान्त्रिक अर्कोतिर हुनुपर्ने सचिव अर्याल बताउँछिन्। दीर्घकालीन हिसाबले स्थायित्व यसरी मात्रै प्राप्त हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘धेरै दल र शक्तिहरू जताततै बाँडिदा अस्थिरता भयो। दुई ठाउँमा मात्र केन्द्रित हुँदा जसलाई भए पनि एउटालाई आउँछ नि! त्यसकारण दीर्घकालीन हिसाबले यसरी जान जरुरी छ।’ 

राजनीतिक विश्लेषक झलक सुवेदी भने साना दलभन्दा ठूला दल नै अस्थिरताका मुख्य कारक देख्छन्। आफूले निर्णायक भूमिका खेल्ने ठाउँमा ठूला बार्गेनिङ गर्ने प्रवृत्ति सानाले ठूलाबाटै सिको गरेको उनको तर्क छ। 

‘पहिलो त ठूला दलहरूले सत्तालिप्सा नदेखाउने हो भने यस्तो समस्या आउँदैन। अर्को उनीहरू इमानदार नभएर पनि हो। गठबन्धनमा संख्या हुँदाहुँदै पनि किन टिकिराखेको छैन भन्दा त्यो साना दलका कारण मात्रै त पक्कै होइन’, उनी भन्छन्, ‘आफूले निर्णायक रोल खेल्ने ठाउँमा प्रमुख पद माग्ने प्रवृत्ति चाहिँ सानादेखि ठूला सबै दलमा देखिन्छ।’  

समग्र राजनीतिक प्रणाली नै भ्रष्ट भइसकेकाले विचार, सिद्धान्त र कार्यक्रम नमिलेका दलहरूबीच गठबन्धन बन्नु पनि अस्थिरताको अर्को कारकका रूपमा विश्लेषक सुवेदी अर्थ्याउँछन्। ‘समग्र राजनीति नै भ्रष्ट भएको हुनाले विचार, सिद्धान्त, कार्यक्रम, नीतिका आधारमा गठबन्धन बनाउने, सरकारमा जाने गरेका छैनन् दलहरू। त्यो हुँदा पनि स्थायित्व कायम हुन सकेको छैन तर साना दललाई मात्रै यसको दोष दिन भने मिल्दैन।’   

सहमति र सहकार्यको कुरामा इमानदार र प्रतिबद्ध रहने कुरा चाहिँ सबै दलले सिक्न जरुरी रहेको विश्लेषक सुवेदी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.