|

काठमाडौँ : इरानले तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले जुनसुकै वेला प्रत्याक्रमण गर्ने खतराले तनाव बढेको छ।

त्यो आक्रमणमा इजरायल, अमेरिका, बेलायत, फ्रान्स र जोर्डनले इरानका ९९ प्रतिशत क्षेप्यास्त्र र ड्रोन खसालेका थिए। त्यस घटनालगत्तै अमेरिकाले इजरायललाई आक्रामक नहुन सुझाव दिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाको कुरा नसुनी आफ्नो देशको सुरक्षालाई ध्यानमा राखेर निर्णय लिने बताएका छन्। इरान र इजरायलबीचको युद्धले खाडी मुलुकमै युद्धको खतरा बढेको छ।

कतार, साउदी अरब, युएई जस्ता देशहरू अमेरिकाले आफ्नो हवाइ अड्डा प्रयोग गरेर इरानमाथि आक्रमण नगरोस् भन्ने चाहन्छन्। इरानको यो आक्रमणका कारण खाडी क्षेत्रमा अर्को ‘नेटो’ बनाउने अमेरिकाको योजना असफल भएको छ।

इजरायली सेनाका पूर्व अधिकारी माइकल मिलस्टेइनले भने, 'खाडीका अधिकांश देशले बाइडेन प्रशासनलाई विश्वास गर्न सक्दैनन्। त्यसैले उनीहरूले इरानसँग मेलमिलापमा जोड दिएका छन्।' 

साथै इजरायल र खाडी राष्ट्रसँगको अमेरिकाको मित्रताको पनि परीक्षा भयो। अमेरिकाले इरानको कुनै पनि आक्रमणलाई संयुक्त रूपमा सामना गर्न खाडीमा नेटो बनाउने प्रयास गरिरहेको थियो। यसका लागि अमेरिका खाडी देशहरूलाई एकताबद्ध गर्न लागिपरेको थियो। 

अमेरिकी रक्षा मन्त्रालयमा काम गरिसकेका बिलाल साब भन्छन् ‘खाडी देशहरूको यो कदमले खाडीमा नेटो बनाउन जोड दिने बाइडेन प्रशासनको कमजोरी देखाउँछ।’

खाडी देशहरू इजरायलसँग धेरै नजिक हुँदै गएका थिए। गाजा युद्धपछि पनि युएई र बहराइनले इजरायलसँग सम्बन्ध कायम राखेका छन्। शनिबारको आक्रमणले इजरायल र खाडी देशबीचको मित्रता बढाउने अमेरिकी योजना सीमित भएको छ।

इरानमाथि आक्रमण नगर्न अमेरिकालाई दबाव

खाडी देशमा तैनाथ आफ्ना राडारको सहयोगमा अमेरिकाले मिसाइल र ड्रोनमाथि निगरानी गर्योए र बीचमै खसाल्यो। अन्तिम समयमा अमेरिकाले कतार र साउदी अरेबियास्थित आफ्नो एयरबेसबाट लडाकु विमानहरू युद्धमोर्चामा पठायो।

अमेरिकी गठबन्धनले इरानका क्षेप्यास्त्र खसालेपछि खाडी देशहरूले आफ्नो भूमिका अस्वीकार गरे। जोर्डनले आत्मरक्षाका लागि इरानी ड्रोनलाई खसालेको बताउँदै इजरायलको रक्षा गर्ने कुनै नियत नभएको स्पष्ट पारेको छ।

इजरायली सेनाका पूर्व अधिकारीले भने‚ ‘इजरायल‚ अमेरिका र जोर्डनबीच सहयोग देखिएको थियो तर यसलाई गठबन्धन भन्नु भ्रम हो।’ खाडी देशका शासकहरूले अब इरानमाथि आक्रमण गर्ने अमेरिकाको विकल्प बन्द गरिसकेका छन्। इरानमाथि आक्रमण गर्न अमेरिकालाई खाडी देशका सैन्य अड्डाहरूको खाँचो छ।

साउदी अरब, युएई, ओमान र कुवेतले अमेरिकासँगको सैन्य अड्डा राख्न दिने सम्झौताको समीक्षा गरिरहेका छन्। इरानमाथि अमेरिकाले गर्ने प्रत्यक्ष आक्रमणमा संलग्न हुनबाट जोगिन उनीहरूले यसो गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.