|

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सुरक्षित र सम्मानित रहेको दावी अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत भएको छ। नेपालमा सबै खाले हिंसा अन्त्य हुने र सम्मानित हुने पर्याप्त कानुन रहेको दावी सरकारले प्रस्तुत गरेको हो।

नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले लैङ्गिक समानता नीति २०७७ मै लागू भएको बताइन्।

 ‘लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ,पहिलो समलिङ्गी विवाह दर्ता भएको छ,’मन्त्री चौधरीले भनिन्, ‘विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारी छ।’

मन्त्रालयले नीति परिमार्जन गर्ने समेत भनेर छुट्टै निकाय तोकेको उनले बताइन। ‘पिंक टुरिजमका लागि हाम्रा होटलहरु, हेरिटेजहरुमा भएका व्यक्तिहरूले सर्भिस डेलिभरी, हस्पिटालिटी लैङ्गिक मैत्री छ, त्यो सुरु भैसकेको छ,’उनले भनिन्, ‘प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो। नेपाललाई इन्द्रेणी पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना भएको सम्मेलनमा मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको भन्दै पूर्ण रूपमा कार्यान्वयनको क्रममा रहेको जानकारी दिइन्।

नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ्ग र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले लेस्बियन विवाह दर्ताको प्रमाणपत्र दिएको छ। सम्मेलनमा त्यसको प्रशंसा गरिएको छ।

मन्त्री चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने बताइन्। पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान दिएको उल्लेख गरिन्।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले नेपाल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि सुरक्षित रहेको बताए। समलिङ्गी विवाह दर्ता हुन थालेको भन्दै न्यायाधीश फुयालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उल्लेख गरे।

नेपाल पर्यटन बोर्डकी कार्यकारी प्रमुख नन्दनी लाय थापाले पिंक टुरिजमका लागि नेपाल गन्तव्य मुलुक बन्ने सम्भावना रहेको बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटक भित्र्याउन पर्यटन बोर्डले काम गरिरहेको बताइन्।

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार भएर बसेको बताए।

उनले अरू देशमा जस्तो नेपालमा आउँदा डराउनु पर्ने अवस्था नरहेको बताए। नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका १४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताइन्।

 ‘१४५ देशहरूमा नेपालको अवस्थामा राम्रो र उत्साहप्रद देखिएको छ। अनुकरणीय छ। प्रगति राम्रो भएको छ,’उनले भनिन्, ‘समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ।’

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जीवनस्तर माथि उकास्ने काममा युरोपियन युनियनले सहयोग गर्दै आएको जानकारी दिइन्। नेपालमा इन्द्रेणी पर्यटनको सम्भावना अन्य देशमा भन्दा राम्रो देखेको राजदूत लोरेन्जोले बताइन्।

इन्द्रेणी पर्यटनको विश्व बजार

गो म्यागेजिनकी सम्पादक डियान एन्डरसनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटनको ग्लोबल अवलोकन र अर्थतन्त्र÷जिडिपीमा यसको योगदान प्रस्तुत गर्दै इन्द्रेणी (रेन्बो) पर्यटनको बजार विश्वमा २ खर्ब ११ अर्ब डलरको रहेको बताइन्।

अमेरिका, चीन र जापानमा रहेको इन्द्रेणी पर्यटनको खरिद शक्ति नेपालसँग पनि रहेको बताइन्। उनले तीन वटा देशमा कोभिडको समयमा ४ ट्रिलियन डलर रहेको इन्द्रेणी पर्यटनको बजार अहिले ४।७ ट्रिलियन डलर पुगेको अध्ययन सुनाइन्।

विश्वमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको जनसङ्ख्या ३० करोड रहेको बताइन्। ‘यो कुल जनसङ्ख्याको ६.५ प्रतिशत हुन आउँछ,’उनले भनिन्, ‘उनीहरू धेरै घुम्न रुचाउने हुन्छन्।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि थाइल्यान्ड यौन पर्यटनले चिनिएको र ग्रिसमा पछिल्लो समय सुरक्षा नभएको बताइन्।

विपद्का घटना भएका ठाउँमा पर्यटन गतिविधि गर्ने पहिलो समुदाय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको उनले सुनाइन्। पर्यटन सम्मेलनमा अमेरिका, न्यूजिल्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गरे भने भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गरे। पर्यटन सम्मेलनमा मारुनी नृत्य प्रस्तुत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.