नारायणगढ : भरतपुर अस्पतालमा रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन्।
भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आइतवार ११ वर्षीया छोरीलाई कुकुरले टोकेकाले रेविजविरुद्धको खोप लगाउन अस्पताल आए। अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोप नभएको जानकारी गराएपछि निराश हुँदै उनी छोरीलाई लिएर बाहिर निस्किए।
“अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा‚ यहाँ नभए कहाँ पाउँछ?‚” उनले भने‚ “बाहिरबाट किनेर ल्याउनु भन्छन्। बाहिर किन्दा महँगो पर्छ रे। पाउने ठाउँ पनि थाहा छैन।”
आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो। उनले त्यहीँ एक मात्रा (डोज) खोप लगाए।
घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उनले खोप लगाउन पाएनन्। उनलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यारै लागेन।
उनीसँगै आएका अन्य बिरामीले भनेपछि बल्ल विश्वास गरे। उनले भने, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो‚ हामीले कहाँबाट ल्याउने?”
भरतपुर–६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविजविरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउँछन्। उनले भने, “एक भाइलमा दुई डोज हुन्छ रे। हामी दुईजना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ।”
एक भाइललाई बाहिर किन्दा ६२५ रुपैयाँ तिर्नुपर्ने तर अस्पतालमा ३ डोज लगाउँदा ३ सय रुपैयाँमात्र पर्ने गरेको जनाउँदै उनले रेविजविरुद्धको खोप अभावले सर्वसाधारण महँगोमा परेको बताउँछन्।
यी त भरतपुर अस्पतालमा रेविजविरुद्धको खोप लगाउन आउने सर्वसाधारणमध्येका केही प्रतिनिधि पात्र मात्रै हुन्। यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरिने बिरामीको सङ्ख्या पनि उत्तिकै छ। अहिले दैनिक २ सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्छन्।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोपको चरम अभाव भएको छ। उनले भने, “अभाव चैत २० गते शुरु भएको हो। शुक्रवारदेखि त व्यवस्थापन गर्नै सकिएन। हामी शून्य मौज्दात (स्टक)मा छौँ।”
अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा पर्याप्त मात्रामा खोप पाउन नसकेको गुनासो उनले गरे।
पहिला दैनिक ६० देखि ७० भाइल खोपले पर्याप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो। उनका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ‚ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन्।
अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताए। उनले भने, “बिरामीलाई हामीले दिने जवाफ केही छैन।”
अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताए।
उनले भने, “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ। सङ्घमा पनि पठाउँदा २५० भाइल मात्रै पठायो।” यति खोपले २ दिन पनि पुर्याउन कठिन भएको उनको गुनासो थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।