|

म्याग्दी : देशमा भएको राजनीतिक परिवर्तनपछि गति लिएको विकास निर्माणले धौलागिरि क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढेको छ।

करिब डेढ दशकअघिसम्म लाहुरेहरुको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्रै सीमित नभएर उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरुको क्षेत्र भनेर पनि चिनिन थालेको छ।

साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकको अवधिमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीय स्थलहरुको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो।

कास्की जिल्लाको नयाँ पुल तर्नेबित्तिकै शुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्न सफल भएका छन्। 

राउण्ड अन्नपूर्णको चर्चित पर्यटकीय स्थल घोडेपानीदेखि म्याग्दीको टोड्के, खयरवराह, करवाकेली, राम्चे, लभ्लीहिल, गलेश्वर, महारानीथान, तातोपानी कुण्डहरु, ताकम कोट, ज्यामरुक कोट, डढे कोट, जगन्नाथ, झाँक्रीपानी, पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी निर्माण भएको विश्वकै दोस्रो अग्लो बञ्जिजम्प, विश्वको दोस्रो लामो जिपलाइन गुप्तेश्वर धामलगायत बागलुङ र मुस्ताङका दर्जनभन्दा बढी पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र चुस्त व्यवस्थापनले पर्यटक आकर्षित भएका हुन्।

बागलुङ कालिका, विश्वकै लामो झोलुंगे पुल, पञ्चकोट, शालिग्राम संग्रहालय जस्ता मानवनिर्मित धार्मिक स्थल तथा आध्यात्मिक केन्द्रहरुको रहरलाग्दो व्यवस्थापन र प्रचारप्रसारले पनि धौलागिरि क्षेत्रको मुहार उजिल्याउन सहयोग पुगेको स्थानीयले बताएका छन्।

मुस्ताङ जाने बाटोमै विश्वकै अलौकिक तीर्थस्थल गलेश्वरधाम, म्याग्दीको दानास्थित रुप्से झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेका यस क्षेत्रका पर्यटन व्यवसायीको भनाइ रहेको छ। 

हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङको विविधतायुक्त भूगोल, हिमश्रृङ्खला, ढुम्बा ताल, कागबेनी र हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ र यहाँका रमणीय स्थलले धार्मिक र यायावरीय पर्यटकहरुको ध्यान खिच्न सफल भएका मुस्ताङका रोशन शेरचनले बताए।

यानीमाया, सुनिमाया, सालैजो, झ्याउरे गीत र विभिन्न संस्कार संस्कृतिले चिनिएको धौलागिरिलाई अब धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले पनि चिनाउन थालेको बागलुङका टेकबहादुर खत्रीले बताए।

उनका अनुसार पछिल्लो समय चर्चामा आएका प्राकृतिक र मानव निर्मित धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले सिंगो धौलागिरि क्षेत्रको शिर उँचो बनाएको छ।

मानव निर्मित तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरूमा विकासका पूर्वाधारहरू निर्माण भएपछि आगन्तुकहरूको आगमनसमेत उत्साहपूर्ण छ। यसले व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ।

करिब डेढ वर्ष कोरोनाका कारण बन्द भएका यी गन्तव्यहरू पुनः तंग्रिन थालेका छन्। कोरोनाका बीचमा पनि धेरै धार्मिक तथा पर्यकटीय क्षेत्रहरूमा संरचना निर्माण भएका छन्। लगानीकर्ताहरूले पनि यो समय पर्यटन क्षेत्रमा धेरै लगानी गरेका छन् ।

करिब दुई वर्षअघि संचालनमा आएको पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको विश्वकै अग्लो बञ्जिजम्प धौलागिरि क्षेत्रको पर्यटन विस्तारमा कोसेढुंगा सावित भएको छ।

द क्लिफ प्रालिमार्फत् सञ्चालनमा आएको बञ्जिजम्पमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको र संरचना निर्माण गर्न झण्डै ४८ करोड रुपैयाँ खर्च भएको द क्लिप प्रालिका सञ्चालक राजु कार्कीले जानकारी दिए।

कालीगण्डकीदेखि पुलको उचाइ २२८ मिटर छ। द क्लिप प्रालिको यो परियोजनापछि स्विट्जरल्यान्डलाई पछि पार्दै यो विश्वकै अग्लो बञ्जिजम्पका रूपमा स्थापित भएको कार्कीको दावी छ।

त्यसैगरी बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै लामो दावी गरिएको झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटकहरूको आकर्षण बढेको छ।

यो पुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ। पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कालीगण्डकी करिडोरको केन्द्रमै पर्ने यो पुल आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

पुलमा दैनिक सयौँ आन्तरिक पर्यटकको आगमन हुने गरेको छ भने फाट्टफुट्ट बाह्य पर्यटकहरूसमेत आउने गरेको स्थानीयको भनाइ छ।

पुल ७ करोड ९७ लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण भएको थियो। झोलुंगे पुल सञ्चालनमा आएपछि पर्यटन फस्टाउन थालेको पर्यटन विकास समिति बागलुङका राजु खड्काले बताए।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम विश्वकै अलौकिक तीर्थस्थलका रूपमा परिचित छ। रहु नदी र कालीगण्डकीको पवित्र संगममा पर्ने गलेश्वरधाम धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ। 

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरतर्फ पर्ने गलेश्वरधाम मुक्तिनाथ प्रवेशद्वारमा रहेको छ। 

९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि अवस्थित रहेको र शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ। 

श्रीमद्भागवत् पुराणअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर कृष्णगण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतीदेवीको गलापतन हुँदा ज्योतिर्लिंगेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ।

विशेषगरी गलेश्वरधाममा बाला चतुर्दशीमा देशविदेशबाट सतबीज छर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। पछिल्लो समय महाबत्ती बाल्ने भक्तालु बढेको गलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव रेग्मीले बताए।

हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल हो। समुद्र सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा रहेको यस मन्दिरमा विशेष गरी बाह्य पर्यटकहरूको आगमन निकै हुने गर्छ।

यस पवित्र स्थलमा १०८ वटा ढुंगाले बनाएको गाईको मुखबाट निस्किएका धाराहरू छन्। जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वास जनमानसमा छ।

मन्दिरको ठीकअगाडि दुईवटा पोखरी (कुण्ड) छन्। एकातर्फ धर्मकुण्ड र अर्कोतर्फ पापकुण्ड छ। यहाँ अन्य मन्दिरहरू आसपासमा रहेका छन्। तीर्थ यात्रुले मुक्तिनाथलाई तीर्थस्थल शालिग्राम भगवानका लागि प्रशिद्ध मान्दै आएका छन्।

मुक्तिनाथमा पूजाआजा गर्दा मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ। मुक्तिनाथमा खासगरी भारतीय पर्यटकहरू बढी आउने गरेका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। 

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ। 

चैत–वैशाख महिनामा यहाँका वरपरका पाखामा फूलेका लालीगुराँसको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत १६ वटा हिमालको अवलोकन गर्न सकिन्छ। 

यस क्षेत्रमा १० प्रजातिका लालीगुराँस पाइन्छ। घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले आफू पर्यटकको पर्खाइमा रहेको बताइन्। स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.