|

हेटौंडा : पछिल्लो समय सवारीसाधन मध्य मोटरसाइकल हराउने क्रम बढेको छ। 

विशेषगरी हेटौंडाकै मुख्य–मुख्य चोकमा समेत मोटरसाइकल हराउन थालेको हो। चोक –चोकमा सीसी क्यामेरा राखे पनि यस्ता खालका चोरीको घटनामा भने कमी आउन सकेको छैन।

सवारीसाधन मध्ये मोटरसाइकल चोर्नको समय नलाग्ने र सहज हुने भएको कारणले पनि चोरीको घटना बढेको प्रहरीको भनाइ छ। 

मकवानपुर जिल्लामा मात्रै नभई बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुमा चालु आर्थिक वर्षको चैत महिनासम्ममा १ सय ३३ वटा मोटरसाइकल हराएको उजुरी परेको छ।

विभिन्न स्थानमा पार्किङ गरेको अवस्थामा, घर र अफिसबाट मोटरसाइकल हराउने गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमा सबैभन्दा धेरै मकवानपुरबाट मोटरसाइकल हराएको उजुरी परेको छ। मकवानपुरमा मात्रै ९ महिनको अवधिमा ८२ वटा मोटरसाइकल हराएको उजुरी परेको छ। 

दोश्रो चितवन जिल्ला रहेको छ। चितवनमा ९ महिनाको अवधिमा २८ वटा उजुरी परेको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। त्यसैगरी, धादिङमा ७ वटा उजुरी परेको छ। सिन्धुपाल्चोकमा ३, काभ्रेमा ३ , नुवाकोटमा २ , सिन्धुलीमा ३ , दोलखामा १ र रामेछापमा १ वटा मोटरसाइकल हराएको उजुरी परेको छ। 

बागमती प्रदेशको रसुवा जिल्लामा भने मोटरसाइकल हराएको कुनै पनि उजुरी नपरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक एवं सुचना अधिकारी रविकुमार पौडेलले जानकारी दिए।

हराएर उजुरी परेको मध्ये १९ वटा मात्रै मोटरसाइकल फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको वरिष्ठ प्रहरी उपरीक्षक पौडेलले बताए।  हराएकामध्ये अधिकांश मोटरसाइकल पल्सर ब्राण्डका रहेको र सार्वजनिक स्थानमा पार्किङ गरेको र केही आफ्नै घरबाट हराउने गरेको प्रहरीले जनाएको छ।

उजुरी परेको आधारमा भेटिएको संख्या ज्यादै न्यून छ। सवारी धनीको लापरबाही र खुल्ला सिमानाका कारण चोरी बढीरहेको वरिष्ठ प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

अभियुक्तले ३० हजार रुपैयाँदेखि एक लाखसमम यस्ता चोरीका मोटरसाइकल बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.