|

पर्वत : गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका खगराज अधिकारीले पदभार ग्रहण गरेपछि गरेको पहिलो निर्णय कार्यान्वयनको बाटोमा छ।

प्रदेशका ११ जिल्लामा रहेको अस्पतालहरूको सेवालाई विस्तार गरी नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचका लागि ओपिडी सेवा विस्तार गर्ने निर्णय मुख्यमन्त्री अधिकारीले गरेका थिए। सरकारी अस्पतालहरूमा सामान्यतः बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म ओपिडी सेवा सञ्चालन हुने गरेको छ। तर मुख्यमन्त्री अधिकारीले भने बिहान सात बजेदेखि साँझ सात बजेसम्म नै ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरेर यो सेवालाई दैनिक थप पाँच घण्टा विस्तार गर्ने आफ्नो पहिलो निर्णय गरेका थिए।

यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन्। सेवा सुरु गरेको अस्पतालको तथ्याङ्क हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताए। ‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा बिहानदेखि साँझसम्म नै सञ्चालन भइरहेको छ। लमजुङ अस्पताल, मध्य विन्दु अस्पताल र पर्वत अस्पतालमा पनि सञ्चालन भएको छ। स्याङ्जा अस्पतालले पनि सुरु गर्दै छ’, उनले भने।

अरू जिल्लाका अस्पतालमा पनि यो सेवा बिहान सात बजेदेखि साँझ सात बजेसम्म सञ्चालन गर्ने गरी तयारीहरू भइरहेका छन्। निर्णय कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्वीकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत डा. शर्माको भनाइ छ। उनका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्याङ्क अनुसार सेवा थप भएको समयमा सेवा लिनेको सङ्ख्या ४५ प्रतिशत रहेको छ।

‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको पाइएको छ। यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ’, उनले भने, ‘यसले टाढाका  गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहज भएको छ। यो अत्यन्तै अपेक्षित छ।’

अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रूपमा लिएर जाने तयारी मन्त्रालयले गरेको डा. शर्माले बताए।  न्यूनतम स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.