|

इलाम : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताएका छन्।

उनले घेराबन्दीलाई तोडेर छाड्ने चेतावनी दिए। इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने उनको दाबी छ।

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले पुराना दलले वर्षौँसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई भोट नदिन र मत  बदल्न आग्रह गरे। उनले भने‚ ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस् तर मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनुपर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने वेला भइसक्यो।’

उनले योपटकको निर्वाचनमा मतदाताले पुराना दललाई झुक्याउने बताए। ‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन तर योपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउनेछन्’, उनले भने, ‘तर यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउनेछ। त्यो लहरले २०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।’

उनले मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह गरे। चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफू आबद्ध वा माया गर्ने दललाई सुध्रन दबाव बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिए।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौँदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरूको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.