|

काठमाडौँ : नेपालमा २०७२ साल वैशाख १२ गते ११ : ५६ बजेको समयमा गोरखाको दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.९ म्याग्निच्युटको विनाशकारी भूकम्पको सम्झनामा भोलि वैशाख १२ गते काठमाडौँमा बृहत फोटो प्रदर्शनी गरिने भएको छ।

खानी तथा भूगर्भ विभागको आयोजनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि नागरिकमा सचेतना फैलाउन भूकम्प गएको दिन भोलि वैशाख १२ गते विभागको कार्यालय लैनचौरमा उक्त प्रदर्शनी गर्न लागिएको हो।

विभागले आज एक विज्ञप्ति जारी गरी गोरखा भुकम्प २०७२ साल वैशाख १२ लगायत पछिल्ला समयमा डोटी, बझाङ्ग, जाजरकोटआदी स्थानमा गएका भूकम्पहरुबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी उक्त फोटो प्रदर्शनीमार्फत सचेतना फैलाउन लागिएको जनाएको छ। प्रदर्शनीको नारा ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ’ भन्ने रहेको छ।

भूकम्पीय विपत् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ। त्यसैले फोटो प्रदर्शनीमार्फत ती विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनिकरणका लागि हरपल सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। बलिया संरचना नभएका कारण धेरै हानी नोक्सानी भइरहेको पाइएकाले सचेतना फैलाउनु पर्ने देखियो र यो प्रयास गरिएको महानिर्देशक घिमिरेले बताए।

त्यही कुरालाई ह्रदयंगम गरी खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरुको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा फोटो प्रदर्शनीको आयोजना गरिएको हो।

नेपालमा २०७२ साल वैशाख १२ गते ११स् ५६ बज विनाशकारी गोरखा भुकम्प गएको थियो। यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प थियो। त्यो बेला करिब ९००० मानिस ज्यान गएको थियो भने आठ लाखभन्दा बढी भौतिक संरचनाहरुको क्षति भएको थियो। साथै उक्त भूकम्पमा २२ हजार भन्दा बढी मानिसहरु घाइते भएका थिए।

वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्प गएको एक वर्षको अवधिमा करिब पाँचसय भन्दा बढी परकम्पहरु महसुस गरिए। जसमध्ये ५ म्याग्निच्युटभन्दा माथिका ६ वटा थिए।

विगत केही वर्षयता नेपालको पश्चिमी भूभागमा पटकपटक मझौला खालका भूकम्पको धक्का महसुस भइरहेको छ। गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ लोकल म्याग्निच्युटको भूकम्पमा परेर १५६ जनाले ज्यान गुमाए। जाजरकोट, बझाङ र रुकुम पश्चिममा गरेर ८४ हजारभन्दा बढी घरहरु क्षतिग्रस्त बने।

नेपालको भौगोलिक अवस्थितिका कारण भविष्यमा २०७२ सालको जस्तै वा त्यो भन्दा पनि ठूलो विनासकारी भूकम्प आउने संभावना उत्तिकै रहेको वरिष्ठ भूकम्पविद् अधिकारीले बताए। नेपालको पश्चिमी भेगमा ठूला भूकम्प नआएको पनि पाँचसय वर्ष भन्दा बढी बितिसकेको छ। तसर्थ नेपाल सदैव भूकम्पीय उच्च जोखिममा रहेको छ।

भूकम्प कतिखेर आउँछ भन्ने पत्ता लगाउने वैज्ञानिक प्रविधिको हालसम्म विकास विश्वमै भइसकेको छैन्। त्यसकारण भूकम्प आउने कुरा पूर्वानुमान गर्न सकिँदैन भने भूकम्पलाइलाई रोक्न पनि सकिँदैन तर भूकम्पबाट हुने क्षतिलाई विगतबाट पाठ सिकेर कम गर्न सकिने अधिकारीले बताए। त्यसैले फोटो प्रदर्शनीमा राखिएका तस्वीरहरुले पनि सन्देश दिन सहयोग गर्ने अपेक्षा गरिएको अधिकारीले बताए।

अधिकारीले भने, “२०७२ सालपछि सबै सूसुचित भए, जोखिम कम गर्न कामहरु भइरहेका छन् भन्ने लाग्थ्यो, समाचाहरुमा आइरहेको थियो तर डोटी बझांग जाजरकोटमा गएको भूकम्प हेर्दा भने मझौला भूकम्पले पनि क्षति नहुनुपर्नेमा भयो। अवलोकन गरेर हेर्दा जुनजुन ठाउँमा भुकम्प क्षति हेर्दा अन्तरक्रिया गर्दा जति कुरा काठमाडौँमा बसेर र समाचारबाट सुन्थ्यौँ, त्यो कुरा स्थानीय क्षेत्रमा पुगेकै रहेनछ, त्यसकारण सचेत गराउन जरुरी छ।”

नागरिकलाई भूकम्प जान्छ भन्ने पनि थाहा नभएको पाइएको उनले अनुभव सुनाए। असुरक्षित भवनहरु बनेको देखियो। त्यसैले शहरी क्षेत्रमा बुझीबुझी बुझ पचाउने अवस्था होला, तर पहाडतिर थाहा नै नभएको पाइएको उनले बताए। त्यसैले सचेतना फैलाउन जरुरी भएकाले गोरखा भूकम्प गएको दिनको सम्झना र सचेतना फैलाउन फोटो प्रदर्शनी गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.