|

त्रिशूली : नुवाकोटको प्रशिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ।

जीवित भगवानको रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उनकी जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ भनेर गोप्य भविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ।

सोमवार राति बूढीदेवता मन्दिर र भैरवीदेवी मन्दिरमा लिङ्गो उठाएसँगै शुरु भएको जात्राको विशेष रौनक आगामी बिहीवार सिन्दूर खेलेर हर्षबढाइँको साथ जारी रहन्छ। 

धार्मिक तथा सांस्कृतिक परम्परासहित ठूलो पर्वको रुपमा मनाइने यस जात्रा गत फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै शुरु भएको हो। 

जात्राको विशेष रौनक सोमवारसाँझ शुरु भएर बिहीवारसम्म चल्ने नुवाकोट दरबार मौला अमालका प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए।

उनको अनुसार स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट ४२ हात लामो सल्लाका लिङ्गो मङ्गलवार विहान बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको छ।

भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलवार राति देवीघाटस्थित प्रशिद्ध जालपादेवी मन्दिरमा पुर्‍याउने गरिन्छ।

“फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो सरकारी जात्रा हो”, द्वारे शाहीले भने, “लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा जीवित पशुको बलि ग्रहण, राष्ट्रको नाममा गोप्य भविष्यवाणी, देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्वारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ।”

८६ वर्षीय धामी डङ्गोलले जालपादेवी मन्दिरमा मङ्गलवारमध्ये रातमा जीवित पशुको बलि खाएपश्चात् गर्ने गोप्य भविष्यवाणीलाई राष्ट्र प्रमुखसमक्ष पठाइने भएकाले यसलाई विशेष महत्वको रुपमा लिइन्छ।

धामीले गर्ने भविष्यवाणी राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष जाहेर गरिने द्वारे शाहीले जानकारी दिए। उनका अनुसार धामीले गोप्य रुपमा गरेको भविष्यवाणी द्वारेसहित गुभाजु र बाह्रभाइखलकलाई मात्र थाहा हुन्छ। 

“धामीले गर्ने भविष्यवाणीलाई सदियौँ वर्षअघिदेखिको परम्पराअनुसार राष्ट्रप्रमुखले गम्भीरतापूर्वक लिनुहुन्छ”, उनले भने, “भविष्यवाणीअनुसार आगामी वर्ष मुलुकमा हुने अशुभको सङ्केत भएमा राष्ट्र प्रमुखबाट क्षमा पूजा पठाउने तथा आफैँ उपस्थित भएर पुजा गर्ने चलन छ।”

जात्राका अवसरमा विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिर र नुवाकोटस्थित भैरवीदेवी मन्दिरमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ।

बहिनी भैरवीदेवीको मुकुटसहितको रथयात्रा दिदी जालपादेवीको मन्दिरमा पुर्‍याइने हुँदा भैरवी र जालपाको एकै स्थानमा दर्शन गर्न र भैरवीको मुकुटसहितको रथयात्राको अवधिभर भैरवीको मुख्य शिलामा दर्शन गर्न पाइने हुँदा यस अवसरमा धर्मावलम्बीको चहलपहल हजारौँको सङ्ख्यामा हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.