|

बेनी : म्याग्दीका स्थानीय तहले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा चासो देखाउन थालेका छन्।​

वर्षौंदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको मर्मत, पुनर्निर्माण, संरक्षण तथा तिनको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र बनाउन यहाँका स्थानीय तह लागिपरेका हुन्।

तत्कालीन पर्वत राज्यको मुकाम रहेको म्याग्दीका बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटमा रहेको कतिपय ऐतिहासिक देवल र पुरातात्त्विक सम्पदा पुनर्निर्माण भइसकेका छन् भने कतिपयको पुनर्निर्माण तथा मर्मत सम्भार भइरहेको छ।

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्त्विक तथा शिखरशैलीका देवल, मठमन्दिर, कुवा, धारा, ओखल आदि सम्पदाप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र संघीय सरकारले समेत आवश्यक बजेट दिन थालेको यहाँका जनप्रतिनिधि बताउँछन्।

कतिपय स्थानीय तहमा रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदा स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत सम्भार तथा पुनर्निर्माण समेत गरिएको छ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्त्वका चौतारी, मठ, झोलुंगे पुल, पोखरी, पाटी पौवा आदि नगरपालिकाको बजेटबाटै पुनर्निर्माण गरिएका हुन्।

त्यसैगरी धवलागिरि गाउँपालिका–७ ताकममा रहेको ऐतिहासिक ताकम कोतको पुनर्निर्माणपछि यो ऐतिहासिक कोत अहिले जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताए।

त्यस्तै तत्कालीन पर्वत राज्यअन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउन लगानी गरिरहेका छन्। 

यहाँ पूर्वाधार निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटक आउन थालेका हुन्।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

करिब ६ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र प्रदेश सरकारको पहलमा धमाधम पूर्वाधार निर्माण भएपछि यहाँ पर्यटक आउन थालेका छन्। अहिले यो सम्पदाको मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण गरिने भएको छ।

ऐतिहासिक कोतको मौलिकस्वरूप यथावत् रहने गरी पुनर्निर्माण गर्न डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्त्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएको कार्कीको भनाइ छ।

म्याग्दीका विभिन्न ठाउँमा ढुंगैढुंगाले बनेका शिखर शैलीका थुम्का, देवल र मठ रहेका छन्।

त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुवा पनि यहाँ रहेका र ती सम्पदाको संरक्षणमा पनि स्थानीय तहले चासो दिनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र उपराजधानी बेनीमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.