|

काठमाडौँ : नेपालको बाल स्वास्थ्य क्षेत्रमा ९ अर्ब सहयोग गर्ने कतारले इच्छा देखाए पनि अन्तिममा आएर रोकिएको छ। कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रको सहयोगका लागि विभिन्न खाले सम्झौताको तयारी गरिएको थियो।

विशेषगरी कतारले बाल स्वास्थ्यको क्षेत्रमा ९ अर्ब बराबरको सहयोग गर्न चाहेको र तदनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले कतारलाई कान्ति बाल अस्पताललाई सुपरस्पेसियालिटीको बाल अस्पताल बनाउने नेपाल सरकारको प्रस्तावलाई सहयोग गर्ने प्रस्ताव गरेका थिए।

यसबीचमा कतारका केही अधिकारीले मन्त्रालयका अधिकारीसँग कान्ति अस्पतालको बारेमा जानकारी पनि लिएर सकारात्मक भएपछि मन्त्रालयले तदनुरूपको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो।

तर कतारी अमीरको भ्रमणका वेला नेपाल र कतार सरकारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य लगायतको क्षेत्रमा सहयोगका लागि समझदारी हुँदा स्वास्थ्य क्षेत्रको सम्झौता पर्न सकेन।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कतारले बाल स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न इच्छा देखाएअनुरूप नै कान्ति अस्पताललाई सुपरस्पेसियालिटी सहितको सेवा विस्तार गर्न सिफारिस गरिएको थियो। यसमा कतारी प्रतिनिधि सकारात्मक समेत भएका थिए तर यसबीचमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सहितको टिमले बूढानीलकण्ठमा बनाइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले व्यक्तिगत तवरमा उक्त प्रस्ताव आफ्नो पक्षमा पार्न विभिन्न उच्च सरकारी निकायबाट ताकेता गर्दै गएपछि अन्तिममा आएर कान्तिलाई सहयोग गर्ने प्रस्ताव अघि नसारिएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘सुविधासम्पन्न बाल अस्पताल बनाइदिने प्रस्ताव कतार सरकारकै तर्फबाट आएको हो। तदनुरूप हामीले कान्ति अस्पताललाई सुपरस्पेसियालिटी सेवा विस्तारका लागि सहयोग गर्न सकिने प्रस्ताव सिफारिस गरेका थियौँ। यसका लागि कतारी पक्ष पनि सकारात्मक थियो तर यसबीचमा गैरसरकारी अस्पतालले पनि उक्त सहयोग आफूले पनि पाउनुपर्ने भन्दै ताकेता गरेर होला‚ हाम्रो यो प्रस्तावमा सम्झौता हुन सकेन।’

कतार सरकारले बाल स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष असर पर्ने र देखिने परियोजना प्रस्ताव गर्न स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग पटक-पटक अनौपचारिक छलफलसमेत  गरेका थिए। कतारबाटै आएका कतारी सरकारका उच्च अधिकारीहरू र स्वास्थ्य मन्त्रालयका अधिकारी बसेर यो विषयमा बृहत् छलफल समेत गरेका थिए। मन्त्रालय स्रोतका अनुसार पटक-पटकको छलफलपछि कतारी अधिकारीले कान्ति अस्पतालको स्थलगत भ्रमण गरेका थिए।

उक्त परियोजनाको लागत मूल्य ६ देखि ८ अर्ब लाग्ने अनुमान गरिएको छ। स्रोतका अनुसार कतार सरकारले पनि १० अर्बसम्मको अस्पताल बनाउने परियोजना अपेक्षा गरेको थियो। यति मात्रै होइन मन्त्रालयले कतारमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सेवालाई ध्यान दिएर टेलिमेडिसिन सेवामा सहयोग गर्ने र यही रहेका अन्य अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्ने प्रस्ताव पनि सिफारिस गरेको थियो तर स्वास्थ्य सेवातर्फ कुनै पनि सम्झौता हुन सकेन।

‘कतारको इच्छानुरूप हामीले सहयोगको प्रस्ताव सिफारिस गरेका थियौँ। कतार सकारात्मक पनि थियो तर अन्तिममा आएर सम्झौता हुन सकेन। स्वास्थ्य सेवातर्फ हुने सहयोग रोकिन पुग्यो। यस्तै पछिल्लो समय खाडी मुलुकमा काम गर्न जाने धेरै नेपाली श्रमिकमा (मिर्गौला, उच्च रक्तचाप)जस्ता दीर्घ रोग पनि धेरै देखिन थालेको छ। त्यसैले हामीले कतारमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यान राखेर टेलिमेडिसिनको सेवामा सहयोग हुने गरी सहयोग माग्न सहिने प्रस्ताव पनि गरेका थियौँ तर हुन सकेन’‚ मन्त्रालयका नीति योजना महाशाखाका एक अधिकारीले भने।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्रीले सम्हालेका वेला पनि दातृनिकायले सहयोग गर्न चाहँदा चाहँदै पनि सहयोग लिन नसक्नु ठूलो कमजोरी रहेको नीति योजना महाशाखाका ती कर्मचारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.