|

काठमाडौं : कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई सातायता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ।

औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ। चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ।

गर्मी बढ्दै गएपछि शहर बजारमा मानिसको चहलपहलसमेत घट्न थालेको छ। वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नागरिक उड्डयन प्राधिकरण अन्तर्गत विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो पटक वैशाख ११ गते अत्याधिक गर्मी महसुस भएको छ। विराटनगर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारी सञ्जय सोडारीले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताए। 

‘जलवायु परिवर्तनका कारण वर्षेनी गर्मी बढ्दै गएको वातावरणविद् रामचन्द्र अधिकारीले बताए। सन् २०२३ सर्वाधिक गर्मीको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविदको भनाइ छ। साधारणतया प्रिमनसुनमा गर्मी बढी हुने भएपनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्यधिक बढेको बताए। जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको बताए। 

कोशी प्रदेशको राजधानी विराटनगरका अस्पतालमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको छ। उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि सतर्कता अपनाउनु पर्ने नोबेल मेडिकल कलेजका वरिष्ठ फिजिसियन सुरेन्द्र साहले बताए।

 गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनले सुझाव दिए। १० वर्षभन्दा कम र ६० वर्ष माथिका मानिसहरूमा बढी प्रभाव पर्ने बताए। विगतमा केही ढिलागरी शुरु हुने गर्मी यस पटक छिटो गरेर शुरु भएको उनको भनाइ छ। 

जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.