काठमाडौं : गण्डकी प्रदेशसभा ३० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेसँगै राजनीतिक दलहरूले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए।
विश्वासको मतको प्रस्तावमाथि धारणा राख्ने क्रम सकिएसँगै सभामुखले आजै ३० मिनेटपछि बैठक बस्ने गरी प्रदेशसभा स्थगित गरेका हुन्।
जसमा २७ सदस्यीय नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत नदिने बतायो भने २ सांसद भएको राप्रपाले तटस्थ बस्ने बताएको छ।
चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनुपर्ने भएकाले आज विश्वासको मत लिन लागेका हुन्।
अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताएको छ।
राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।
सभामुखसहित गणना गरेर पुर्याइएको बहुमत असंबैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रिटलाई सर्वोच्च अदालतले खारेज गर्दै अधिकारीलाई विश्वासको मतमार्फत प्रदेशसभामा बहुमत पुष्टिका लागि अवसर दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।