‘कसैको भाग खोस्न होइन काम गर्नकै लागि फर्किन खोजेको हुँ’

|

काठमाडौं : संसद् विघटनपछि राजनीतिक रुपमा विभाजित तत्कालीन नेकपालाई सर्वोच्च अदालतले औपचारिकता प्रदान गर्दै एमाले र माओवादीकै रुपमा ब्यूँतायो। त्यसपछि आ–आफ्नो कित्ता क्लिएर गर्नेतर्फ अन्य नेताहरू लाग्दा एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम भने बीचमै रोकिए र पुनः वाम एकता गराउन कस्सिए।

एमाले र माओवादीलाई पुनः एक गराउने उद्देश्यले गौतमले ‘नेकपा राष्ट्रिय एकता अभियान’ नै बनाए पनि उनी सफल भएनन्। झन्डै साढे तीन वर्ष बीचमै अलमलिएका उनी नेकपा विभाजनताका कतै नगएकोमा अहिले खूब पछुताएका छन्। 

वाम एकता गर्ने आफ्नो उद्देश्य पूरा गर्न नसकेपछि अहिले गौतम एमालेमा जान आतुर देखिएका छन्। एमाले नेतृत्वले खासै भाउ नदिए पनि उनी एमालेमै जान किन आतुर भए ? एमालेले ठाउँ नदिए के गर्लान् ? अब वामपन्थी एकताको सम्भावना सकिएको हो ? यस्तै प्रश्नको सेरोफेरोमा रहेर राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमसँग हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : – 

तपाईं त वामपन्थी एकताको अभियानमा लागेको मान्छे, अहिले किन एमालेमा जान आतुर हुनुभएको ? 

त्यही अभियान सफल पार्नकै लागि म एमालेमा जान चाहेको हो। त्यहाँ गएरै एकता गर्ने हो। पहिला पनि मैले एकता गर्न सकेको एमालेमा भएरै हो। तर एमालेमा नभएको बेला मैले एकता गर्न सकिनँ। अहिले पनि सबै कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन म एमालेमा गएँ भने सक्छु भन्ने लागेको छ। त्यसैले मैले प्रयत्न गरेको हो। एकताकै उद्देश्य लिएर एमाले जान चाहेको हो। 

उपचुनावको नतिजाले हौसिनुभएको त होइन ? 

होइन होइन। मैले त धेरै पहिलादेखि नै एमालेमा जानुपर्छ भन्ने आवश्यकता महसुस गरेको हो। ०७९ को स्थानीय निर्वाचनदेखि नै निरन्तर मैले प्रयत्न गर्दैछु। 

बरु एमालेले उपनिर्वाचनमा जुन सफलता हात पार्‍यो यसमा मैले नेतृत्व गरेको नेकपा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण साथ रह्यो। बझाङमा हाम्रो अभियानको भोटबाट जितेको हो।

इलाममा पनि पार्टी संगठन प्रमुख भइहाल्यो, त्यसमा माओवादीको समर्थन सहानुभूतिबाट जित भयो। एकातिर हाम्रो अभियान र अर्कोतिर माओवादीको साथ एमालेलाई रह्यो। यद्यपि यसको सन्देश चाहिँ तपाईँले भनेजस्तै गएको छ।   

तपाईं एमालेमा गएपछि नेकपा एकता अभियान के हुन्छ त ? 

एमालेमा त्योसमेत जाने हो नि! एमाले र नेकपा एकता राष्ट्रिय अभियान एकीकृत हुने हो। म मात्रै जाने भन्दा पनि पार्टी नै एकीकृत हुन जाने भनेको हो।

जान तपाईं आतुर भए पनि एमाले अध्यक्ष केपी ओलीले वास्ता गर्नुभएको छैन नि ? 

एमालेमा मतदाता स्तरमा सबैभन्दा धेरै वामदेवलाई ल्याउनुपर्छ भनेर आतुर छन्। त्यसपछि केन्द्रीय स्तरमा पनि वामदेवलाई ल्याउनै पर्छ भन्ने साथीहरू छन्। केपी ओली र सँगैका ४/५ जना माथिल्लो तहका कमरेडहरू हुनुहुन्छ, जो वामदेव आयो भने भाग  खोसिन्छ भन्ने ठान्नुभएको होला। तर म कसैको पनि भाग खोस्ने होइन, मलाई काम गर्ने जिम्मा देऊ मात्र भनेको हो। 

एमाले कार्यकर्तालाई मलाई एमालेमा फर्काउन केपी ओलीलाई दबाब दिनुहोस् भन्नुभयो, तपाईं आफैंले ओलीसँग भेटेर म अब पार्टीमा फर्किन्छु भने हुँदैन ? 

के कुरा गर्नुहुन्छ तपाईँ। केपी ओलीलाई अगाडि राखेर मैले भनेको छु। त्यो भनेको स्वयं केपी ओलीलाई भनेको होइन त ! ल प्रेसर दिनुस् उहाँलाई भनेर औँलाले (ओलीलाई) देखाएर भनेको छु, उहाँले ढिला गरिराख्नुभएको छ। मलाई जतिसक्दो चाँडो ल्याउनुस् भनेर भनेको मैले  । 

भनेपछि तपाईंलाई हिजो एमाले छाडेर ठूलो गल्ती गरिएछ भन्ने लाग्यो होइन त ?

जहिले पनि लागिराख्या छ नि ! एमालेलाई छोड्न हुन्नथ्यो मैले। त्यही भएर त एकताको निम्ति लाग्नुपर्छ भनेर त्यहाँ जानुपर्छ भन्ने लागेको। 

विभिन्न कारण घटनाहरू हुन्छन्। कहिले सेन्टिमेन्टमा आएर हुन्छ, आफूले सोचेको भन्दा विभिन्न किसिमले घटनाक्रम अघि बढ्छन्। यस्तो अवस्थामा अगाडि पछाडि परिन्छ। म मात्रै होइन संसारका महान व्यक्तिहरू पनि त्यस्तै भएका छन्।

तपाईंले एमालेको कुन जिम्मेवारीमा रहेर कस्तो भूमिका निर्वाह गर्न चाहनुभएको हो ?

मेरो जम्मा यति हो कि म त्यहाँ थन्किन वा सुत्न जाने होइन। म सुत्न, बस्न र खान त जहाँ भए नि सक्छु। त्यसको निम्ति मेरो चिन्ता होइन।

मैले काम गर्न पाउनुपर्छ, किन भने मैले एमालेमा त्यो कमी देखेको छु। त्यहाँ मैले मेरो अभाव देखेको छु। म त्यो पार्टीमा भइरहन्थे भने गएकै निर्वाचनमा एमालेको बहुमत आउँथ्यो। 

तपाईं एमालेमा गएपछि माधव नेपाल पनि फर्कन सक्ने वातावरण बन्छ ?

एकदमै बन्छ। माधव नेपाल मात्रै होइन, माओवादीसँग पनि फेरि एकता गर्ने वातावरण बन्छ। नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कामको थालनी हुन्छ।  

तर तपाईंले अध्यक्ष ओलीविरुद्ध नै मोर्चाबन्दी गर्न सक्ने संभावनाबारे एमालेजनले चर्चा गरेको सुनिन्छ नि ?

होइन, छैन–छैन। किन भने अध्यक्ष बन्ने मेरो कुनै चाहना छैन। म त्यसका लागि जान खोजेको पनि होइन। 

केपी ओलीलाई त्यो ठाउँमा पुर्‍याएको त मैले हो। पार्टीको अध्यक्ष, संसदीय दलको नेता, पहिलो पटक प्रधानमन्त्री बन्न मैले भूमिका खेलेको हो। यी धेरै काम मैले गरेको छु सक्रिय जीवन मैले एमाले निर्माणमा बिताएँ। माया लाग्दो रहेछ, त्यही भएर म जान खोजेको हुँ। 

अब त्यहाँ गएर मैले काम गरेँ भने जस त उहाँहरूले नै लिने हो। अरूले राम्रा काम गरे भने उनीहरू ठिकै किसिमको जस पाउँछन्, तर खास कसको पालामा भएको हो भन्दा मुख्य जस त नेतृत्वलाई नै जाने हो। अहिले म एमालेमा जाने भनेको कमरेड केपी ओलीलाई महत्वपूर्ण सफलता दिलाउन हो। 

तपाईँले आगामी २०८४ मा एमालेलाई ६० लाख मत दिलाउन सक्छु भन्नुभयो, त्यो कसरी सम्भव छ ? त्यसको आधार के हो ?

यो मैले अस्ति मात्रै भनेको होइन, करिब ९/१० महिना पहिला पनि भनेको हो। यसपटक एमालेको मत विभिन्न कारणले कम आयो। तर म त्यहाँ गएँ भने ६० लाख आउन सक्छ। किन भने मैले जनतालाई सबै ठाउँमा गएर विश्वास दिलाउन सक्छु। 

मेरो कारणले धेरै व्यक्ति एमालेमा निष्क्रिय छन्। एमालेमा म जाँदाबित्तिकै यस्तो एउटा उत्साह सृजना हुन्छ, कसैले नसोचेको शक्ति एमालेको वरिपरी गोलबन्द हुन्छ। 

एमालेले भित्र्याउनै चाहेन भने अन्य कुनै पार्टीमा जाने सोच्नुभएको छ ? 

अन्य दलमा म जाँदिन। म एकीकृत हुन सक्ने एमाले र एकीकृत समाजवादीमा हो। एकीकृत समाजवादीलाई पनि धेरै पटक खबर पठाएँ। तर उहाँहरू पनि डराउनुहुन्छ, आएपछि फेरि के के उत्पात गर्छ भनेर। आफ्नो सानो–सानो टुहुरे पसलकै भए पनि आफै मालिक बन्न मन पराउनुभएको छ।  

एमालेमा पनि हामी ठूलो हौं भन्ने छ, तर परिणाम आउँदा खेरी चाहिँ कांग्रेसलाई पनि जित्न सकेन।   

प्रचण्डसँग पनि नजिकै रहने मान्छे हो नि तपाईँ, माओवादी जाने सम्भावना छैन ?

प्रचण्डसँग मेरो राम्रो सम्बन्ध छ। हाम्रो दोस्ती सधैँभरि कायम छ, जुन जीवनभरी कायम रहन्छ। तर पार्टीगत रुपमा माओवादीमा जान सक्दिनँ।

किनभने जनयुद्धमा मैले हुर्काएका, संरक्षण गरेका झन्डै दुईसय व्यक्तिहरू मारिएका छन्। त्यसलाई उहाँहरूले नस्वीकारेसम्म, गल्ती भएकै हो भनेर जनतासँग क्षमा नमागेसम्म म त्यो पार्टीमा चाहिँ प्रवेश गर्ने सम्भावना छैन। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.