|

विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आजै अगाडि बढ्ने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को २ अनुसार सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएका कारण उनले राजीनामा नदिए पनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको हो।

आजै नयाँ सरकार गठनका लागि आह्वान हुनसक्ने प्रदेश प्रमुखको सचिवालयले समेत जनाएको छ।

प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावअनुसार तोकिएको अवधिभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव अगाडि बढाउन सूचना नदिएको पत्र प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखलाई पठाएको छ। 

सोही पत्र र महान्यायाधिवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान हुने भएको हो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी दल र सांसदले २०८० चैत २६ गते सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिइसकेको अवस्थामा २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएको हुँदा स्वतः पदमुक्त भएको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

पत्रमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले हस्ताक्षर गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले पछिल्लो परिस्थितिबारे कानुनी र संवैधानिक परामर्श भइरहेको जनाएको छ। 

दुई दलको पत्र, मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै प्रदेशसभा सचिवालयले दिएको जानकारी र त्यसबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रायसमेतको आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। 

नयाँ सरकार गठनको आह्वानलगत्तै एमाले र माओवादीका सांसदहरुले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दावी पेश गर्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.