|

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन्।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि सञ्चारकर्मीसँग उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले सरकार छोड्ने र रहनेबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम्फाल्ने प्रतिक्रिया दिए। उनले भने‚ ‘छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए। 

बजेट निर्माणका क्रममा प्रधानमन्त्री प्रचण्डले बजेट निर्माणमा सांसदहरुलाई सहभागी गराउने प्रतिबद्धता जनाएको तर आगामी आवको बजेट आउन लागिसके पनि त्यसमा चासो नदिएकाले प्रधानमन्त्रीलाई स्मरण गराउन आफूहरु सिंहदरबार आएको उपाध्यक्ष पाण्डेले बताए।

‘हामीले गत वर्ष अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको बजेट अत्यन्त अनुपयुक्त रह्यो, बजेट निर्माणमा सांसदहरुलाई छलफल गराइएन, सांसदहरुको भूमिका भएन, सांसदको टाउको गनेर बजेट पास हुने अनि सांसदलाई बजेट निर्माणमा सहभागी नगराउने कुरा हुन सक्दैन भनेर हामीले बोलेका थियौँ‚’ उनले भने, ‘हामीले राखेकै कुरा सम्बोधन गरेर प्रधानमन्त्रीले आउँदो वर्ष यो कुरा परिवर्तन गर्छु भन्नुभएको थियो। बजेट आउने बेला भइसक्यो, जेठ १५ मा बजेट घोषणा हुन्छ, बजेट बन्न पनि थालिसक्यो। त्यसैले हिजो भनेको कुरा बिर्सिनुभएको हो कि भनेर सम्झाउन आएका हौँ।’

तत्कालीन अर्थमन्त्री डा. महतले बजेट पेश गर्दा बजेट निर्माणमा सांसदहरुलाई छलफल नगराइएको भन्दै विरोध भएको थियो। 

विरोधपछि प्रधानमन्त्री प्रचण्डले आगामी आवमा सांसदहरुलाई समावेश गरेर बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर जेठ १५ गते आगामी आवको बजेट पेश गर्ने दिन आइसक्दासमेत सांसदहरुलाई बोलाएर छलफल नगराइएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.