|

उदयपुर : जिल्लाको सुनकोसी गाउँपालिको नाम परिवर्तन हुने भएको छ। स्थानीय तहको पुनर्संरचना गर्दा सुनकोसी नाम राखिए पनि निर्वाचित जनप्रतिनिधिहरुले त्यसलाई परिर्वतन गरेर लिम्चुङबुङ राख्ने निर्णय गरेका हुन्।

सरकारले जारी गरेको निर्देशिका अनुसार सुनकोसी गाउँपालिकाको नाम परिर्वतन गर्न लागिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले नाम परिवर्तनको निर्णय गरेको हो। ‘नेपालमा सुनकोसी गाउँपालिका धेरै भएकाले जनताको माग अनुसार परिर्वतन गर्न लागिएको हो,’ उनले भने, ‘उदयपुरकै छिमेकी जिल्ला ओखलढुंगा, सिन्धुली र रामेछाप लगायतका जिल्लामा समेत सुनकोसी गाउँपालिका भएकाले परिर्वतन गर्न लागिएको हो।’

राईका अनुसार सिलिचुङ, लिम्चुङबुङ, भुओइचुङ, यलम्बर नाममा  गाउँ कार्यपालिकामा छलफल गरिएको थियो। सबै नाममध्ये बहुमतको आधारमा लिम्चुङबुङ गाउँपालिका राख्न लागिएको अध्यक्ष राईले बताए। राईका अनुसार साउन २५ गते गाउँसभाबाट पास गरेर केन्द्रलाई पत्र पठाउने निर्णय भएको छ।

वर्षौदेखि किराँतीहरुको सघन वस्ती भएकाले किराँत समुदायको पहिचानको लागि उक्त नाम निर्णय गरिएको हो। यसैबीच कार्यालय तथा भवन स्थापनाको लागि जग्गा उपलव्ध गराउनको लागि गाउँ कार्यपालिकाले सात सदस्यीय समिति गठन गरेको छ। कमिटीले बाराह केन्द्र हुने गरी १५ दिनभित्रमा जग्गा तयारी गर्ने निर्णय पारित भएको गाँउपालिका अध्यक्ष राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.