सत्ताको चरम दुरुपयोग गरेर गठबन्धनले जितेको एमालेको आरोप

|

दमक : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चितवनको भरतपुर महानगरपालिकामा सत्ताको चरम दुरुपयोग गर्दै सत्ता गठबन्धनले जित आफ्नो पक्षमा निकालेको आरोप लगाएका छन्।

उनले राज्य पक्षले अनेक जाल रचेर एमालेलाई हराएको आरोप लगाएका हुन्। सोमबार झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा नेता खनालले भरतपुरमा लोकतन्त्रले हारेको बताए। ‘भरतपुरमा धेरै नै राज्य सत्ताको दुरुपयोग भयो, हामीले विरोध गर्दा गर्दै पनि राज्यले दमन गरेरै चुनाव जित्यो’, उनले भने, ‘अन्य ठाउँमा राम्ररी नै निर्वाचन सम्पन्न भए पनि भरतपुरमा भने लोकतन्त्रले हार्‍यो’

उनले पैसा र पहुँचका भरमा भरतपुरमा कांग्रेस माओवादी गठबन्धनले जितेको आरोप लगाए। उनले भने, ‘यसपटक राज्य सत्ताको यतिसम्म दुरुपयोग भएको छ कि भरतपुर निर्वाचनको मौन अवधिमा जबकि दुईवटा गाडीलाई पास दिएको हुन्छ तर, उनीहरुले भने ११/१२ वटासम्म गाडी लिएर जनतालाई प्रभावित पार्न घर–घरमा गएका छन्।’ खनालले मत पत्र च्यात्नुअघि आफूहरुले नै जितेकाले एमालेले हारेर पनि जितेको बताए।

उनले भने, ‘हामीले मतपत्र च्यात्नुभन्दा पहिला जितेकै थियौं तर, पछि राज्यसत्ताले हरायो जनताको जिताएका छन्।’ उनले भरतपुरको विषयमा अदालतको निर्णय नै दुर्भाग्य रहेको बताए। उनले अदालतको निर्णयलाई एमालेले सधैं सम्मान गर्ने बताए।

पत्रकारमा उनले ठूला दलहरु एमालेविरुद्ध गठबन्धन गरे पनि आफूहरुलाई केही फरक नपर्ने बताए। उनले भने, ‘उनीहरुको दलको गठबन्धन छ तर, हामीसँग जनताको गठबन्धन छ, हामीसँग जनता छन्।’ पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन प्रदेश र संघीय तहको निर्वाचन टार्ने खेलमा लागेको बताए।

 उनले भने, ‘अहिले पनि सरकार प्रदेश र संघीय तहको निर्वाचन नगर्ने खेलमा लागेको छ, अहिलेसम्म निर्वाचनको मिति तोकेको छैन।’ उनले तत्काल निर्वाचनको मिति तोक्नसमेत एमालेले दबाब दिइरहेको बताए। उनले एमालेले जित्ने डरले निर्वाचनको मिति तोक्न सरकार डराएको सुनाए। उनले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय तहको निर्वाचनमा समेत एमालेलाई पहिलो पार्टी हुन कसैले रोक्न नसक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.