|

डडेल्धुरा : अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो इतिहास बोकेको जयमेरुकोट अतिक्रमणको चपेटामा परेको छ। अजयमेरुकोट क्षेत्रमा देवल, दरबार रहेको क्षेत्रमा स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ऐतिहासिक क्षेत्र अजयमेरुकोट अतिक्रमणको चपेटामा पर्न थालेको हो।

कोटको देवल भएको क्षेत्रको जमिन अतिक्रमण गर्दा सो क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकलाई सास्ती हुने गरेको छ। दरबार क्षेत्रको जमिन अतिक्रमणका कारण राजा नागी मल्लले डोटी राज्यको सञ्चालनका लागि ८ सय वर्ष पहिले  निर्माण गरेको कोटको मर्मत सम्भार गर्नका लागिसमेत समस्या सिर्जना भएको छ,  भने देवलमा रहेका बहुमूल्य ढुंगाको चोरी हुन थालेको छ।

यसैगरी, कोट क्षेत्रमा रहेका ऐतिहासिक नौँला समेत जीर्ण भइसकेका छन्। पछिल्लो समयमा कोट क्षेत्र अतिक्रमणको चपेटामा पर्दा सयौँ वर्ष पुरानो इतिहास मेटिने  अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। कोटमा रहेका बहुमूल्य  ढुंगा चोरेर स्थानीय वासिन्दा निजी घर निर्माणदेखि अन्य स्थानमा प्रयोजन गर्न थालेका छन्। यसैगरी, अजयमेरुकोटमा रहेका शीलालेखसमेत चोरी भइसकेको स्थानीय वासिन्दाले बताएका छन्।

यसैगरी, अजयमेरुकोटको दरबार क्षेत्रको विकासका लागि गुरुयोजना बनाइने भएको छ । बर्सेनि लाखाँै रकम खर्च हुँदा पनि अजयमेरु कोटको मर्मत सम्भार हुनुको साटो भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेकाले गुरुयोजना बनाइन थालिएको हो। अजयमेरुकोट रहेको क्षेत्र अतिक्रमण हुँदा सयौँ वर्षको इतिहास मेटिने अवस्थामा पुगेकाले गुरुयोजना बनाएर विकास गर्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

राष्ट्रिय सम्पदा सुचिमा राख्नका लागि प्रयाप्त आधार हुँदा हुँदै पनि यो क्षेत्रको उचित प्रचारप्रसार र मर्मत सम्भार नहुँदा सयौं वर्ष इतिहास बोकेको अजयमेरुकोट इतिहासमा सीमित हुने भएको छ। त्यसैले यसको गुरुयोजना बनाएर मर्मत सम्भार गर्न सके यो क्षेत्रमा पर्यटक भित्र्याई यहाँका स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि हुने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.