ग्रहगणनाअनुसार सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने दिनलाई औँसी भनिन्छ। शास्त्रमा औँसीका दुई भेद बताइएका छन्। प्रातकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए 'सिनीवाली' भनिन्छ। चन्द्रमाको अवशेष नै नदेखिने औँसी 'कुहू' हो। ज्योतिषशास्त्रअनुसार प्रत्येक तिथिका स्वामी भएजस्तै औँसी तिथिका स्वामी पितृ हुन्। शास्त्रले बताएका निषिद्ध कार्यहरू जस्तै वेदको अध्ययन नगरेर ‘औँसी बार्ने’ चलन छ।
औँसीका दिन बिहानै उठेर स्नान गरी पितृहरूको स्मरण गर्दै तर्पण गर्ने जस्ता चलन गाउँघरमा अद्यापि चलेकै देखिन्छन्। आमाबाबु नहुनेले औँसीको दिन खनजोत नगर्ने, नित्यपूजामा शंखघण्ट नबजाउने, हाँडी नबसाल्ने, बेलुकी भात नखाने, सम्भोग गर्न नहुने मान्यता छ। औंसीका दिन 'खाद्यान्नहरू सुकाउँदा कीरा लाग्दैन' भन्ने विश्वासभित्र अवश्य पनि वैज्ञानिक तथ्य लुकेको होला।
औँसीमा श्राद्ध
सनातन धर्ममा अमावश्या (औँसी) तिथिलाई पितृको उपासना गर्ने दिनका रूपमा लिइन्छ। महिनामा एकपटक पर्ने औँसीका दिन पितृको उद्देश्य गरी श्राद्ध तर्पण गर्ने विधान छ। अनुकूलताका हिसाबले सबै औँसीमा श्राद्ध गर्न नसकेपनि कुनै एक औँसीलाई विशेष महत्त्व दिई श्राद्ध गरिन्छ। सनातन समाजमा वैशाख कृष्ण औंसी, भाद्र कृष्ण औँसी र पौषकृष्ण औँसीका दिन तीर्थस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ। वैशाख कृष्ण औँसीमा काठमाडौंको मातातीर्थ, भाद्र औँसीमा काठमाडौंको गोकर्ण र पौष औशीका दिन नुवाकोटको वेत्रावतीमा श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ। यीबाहेक दोभान, त्रिवेणीलगायतका पवित्रस्थानमा श्राद्ध गर्ने चलन छ।
कुशेऔँसी
भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। आज देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ। पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने चलन छ। यसरी काटिएका कुशलाई ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ।
यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ। सबैकहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको बुझ्न सकिन्छ।
लौकिक चलनअनुसार आज छोराछोरीले मीठामीठा खानेकुरासहित आफ्ना बुबाको मुख हेर्ने गर्दछन्। शास्त्रमा यो दिन बुबाको मुख हेर्ने भन्ने विधान पाइँदैन। सनातन मान्यताअनुसार एकदिन मुख हेरेर वा मीठा खानेकुरा ख्वाएर सन्तानको कर्तव्य पूरा हुँदैन।
जीवित हुँदा उनीहरूको अनुकुलको कार्य गर्ने, आफ्नो क्षमताअनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गरेर उनीहरूको सम्मान गर्नुपर्छ। अन्य मुलुकहरूमा पनि अरु दिन वास्ता नगरेपनि ‘फादर्स डे’, ‘मदर्स डे’ मनाई आमाबाबुको सम्मान गर्ने चलन रहेको छ। आधुनिक हुँदै गरेका नेपालीहरू पनि आफ्नो मूल्य र मान्यता छोडेर यही बाटोमा लाग्न थालेका छन्। नेपालमा भने काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको बुझ्न सकिन्छ।
सनातन धर्ममा कुश
कुशलाई संस्कृतमा पवित्र, दर्भ भनिएको छ। कुश पनि संस्कृत शब्द हो। नेपाली समाजमा कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा पितृकार्यका लागि प्रयोग गर्ने चलन छ। कुश औँसीमा बाहेक अरुदिन काट्नु हुँदैन भनिन्छ। कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ। सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशबिना सम्पन्न हुन सक्दैन। प्रत्येक कार्यमा कुशका कुड्का, औंठी र पवित्र, अनिवार्य मानिन्छन्। मांगलिक कार्यमा पुजिने कतिपय देवताका प्रतिमा र श्राद्धमा ब्राह्मणसमेत कुशबाटै बनाइन्छ। श्राद्धमा विशेषगरी कुशका मोटक प्रयोग गरिन्छ।
विवाह संस्कारमा वरणी गर्दा दुलहाका बाबुले कुशबाटै बनेको ‘बिष्टर’ विधान चलन छ। कुनै पनि संस्कारमा संकल्प गर्दा कुशकै आवश्यकता पर्दछ। कुशका कुड्का कर्मपात्रमा पानीमा राखी पूजा वा श्राद्ध अवधिभर प्रयोग गरिन्छ। देवता र ब्राह्मणलाई आसन पनि कुशकै दिइन्छ। त्यसैले कुशलाई पवित्र वस्तु मानिएको हो।
पौराणिक प्रसंग
पौराणिक ग्रन्थहरूमा कुशको उत्पत्तिका बारेमा अनेकौं कथा पाइन्छन्। कतिपय पौराणिक ग्रन्थमा भगवान् श्रीविष्णुलाई श्राप परेकाले कुश हुनुपरेको बताइएको छ। यसैले पनि कुशलाई भगवान् विष्णुको रूप मानिएको छ। महाभारतको एक प्रसंगअनुसार भीष्मले श्राद्ध गर्दा पिण्ड दिने समयमा बाबु शान्तनुले हात थापे। भीष्मले सुनको बाला लगाएका आफ्नो बाबुको हात हो भन्ने चिने तर पनि हातमा पिण्ड दिएनन्। शास्त्रवचनअनुसार पिण्डवेदीमा ओछ्याइएको कुशमूलमै दिए।
आयुर्वेदमा कुश
आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको चर्चा गरिएको पाउन सकिन्छ। क्षयरोग, चर्म, रक्त, मूत्रलगायतका रोगका लागि कुशबाट बनेका औषधीहरूको प्रयोग गरिन्छ। कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधी। कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा समेत बताइएको छ। नवजात शिशुलाई खुवाउने दूध नआएमा आमाले कुशको औषधिबाट फाइदा लिनसक्ने बताइएको छ।
वैज्ञानिक अनुसन्धानमा कुश
कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन्। यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणहरूलाई नाश गर्ने क्षमता राख्छ। कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाइदिने वैज्ञानिक अनुसन्धानले बताएको छ। कुशको आसनमा बसेर कुशकै औठी लगाएर कुशकै वस्तुहरू प्रयोग गर्ने हाम्रो चिन्तन कति उच्च थियो भन्ने यसबाट प्रष्ट हुन्छ। ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।