|

रमेश तिमल्सिना

रौतहट : २ असोजमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि रौतहटका शिक्षकहरुले धमाधम राजीनामा दिन लागेका छन्। जनताको प्रतिनिधि बन्नको लागि रौतहटका धेरै शिक्षकले सरकारी जागिर त्यागेका छन्।

लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि रौतहटका ९ जना भन्दा बढी शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ। शिक्षकहरुको राजीनामा आउने क्रम जारी रहेको जिल्ला शिक्षा कार्यालय रौतहटका प्रशासन फाँटका प्रमुख उपेन्द्र सिंहले बताए। सोमबार मात्रै २ जना शिक्षकले राजीनामा दिएका छन्।

नगरप्रमुख बन्ने आशमा सरकारी जागिर त्याग

गरुडाका एक शिक्षकले गरुडा नगरपालिकाको नगरप्रमुखमा टिकट पाएपछि शिक्षण जागिरबाट राजीनामा दिएका छन्। प्रावि बलुवामा अध्यापन गराउने शिक्षक मो. कलिमुल्ललाहलाई नेकपा एमालेले टिकट दिएको हो। आफूलाई पार्टीले र जनताले चाहेको कारणले गर्दा पनि जागिर त्यागेर निर्वाचनमा होमिएको कलिमुल्लाहले बताए। जनमत राम्रो भएको कारणले गर्दा पनि आपूmले गरुडा नगरमा चुनाव जितेर नै देखाउने उनले दाबी गरे।

यस्तै, श्री जनता सत्य नारायण मावि वसतपुरका शिक्षक धीरेन्द्र कुमार सिंहले पनि शिक्षकबाट राजीनामा दिएर राजदेवी नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने तयारीमा रहेका छन्। प्रावि तहका शिक्षक सिंहलाई नेपाली कांग्रेसले राजदेवी नगरपालिकाको नगरप्रमुखको रुपमा उठाउने निर्णय गरेपछि शिक्षण पेसाबाट राजीनामा दिएका हुन्। स्थानीय अभिभावकहरुको आग्रहले गर्दा नै शिक्षकबाट राजीनामा दिएर नगर प्रमुखको पदमा उम्मेदवारी दिने निर्णय गरेको सिंहले बताए।

यस्तै, राष्ट्रिय जनता पार्टीले वाडा अध्यक्षको टिकट दिने भएपछि शिक्षकबाट  राजीनामा दिएको अर्का शिक्षक राजेश कुमार सिंहले बताए। गौरको रत्न कन्या माविका प्रावि तहका शिक्षक सिंहले अब निर्वाचनमा भाग लिएर समाजिक काम गर्ने बताए। सिंहलाई राजपाले गौर नगरपालिकाको वडा अध्यक्षमा टिकट दिने भएको हो।

को को छन् अहिलेसम्म राजीनामा दिने?

२ असोजमा हुने निर्वाचनमा भाग लिनको लागि शिक्षकबाट राजीनामा दिनेहरुमा शिव शंकर प्रसाद यादब, मो. महताव आलम,रामचन्द्र गिरी,देबेन्द्र प्रसाद यादब,शिव दयाल राय यादब,मो. सकिल अख्तर लगायतका रहेका छन्। २१ भदौमा उम्मेदवारी दर्ता रहेको कारण २० गतेसम्म शिक्षकहरुको राजीनामा आउन सक्ने जिल्ला शिक्षा कार्यालयका प्रशासन फाँट प्रमुख सिंहले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.