|

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। ८ जिल्लाका १३६ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १७ स्थानीय तहमा दुई चरणमा गरेर निर्वाचन भइसकेको छ। प्रदेश नम्बर २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। यी स्थानीय तहबाट कुल ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन्।

पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नभएको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) पनि यसपटक सहभागी हुँदैछ।

कुनै पनि राजनीतिक दलले प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ। यस्तै वडामा वडाध्यक्ष, दुई खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य चयनका लागि निर्वाचन हुनेछ।

उम्मेदवारहरुका लागि धरौटी रकम नगरपालिका प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षको हकमा १५ सय, वडा अध्यक्षका लागि १ हजार र वडा सदस्यका लागि ५ सय तोकिएको छ। महिला, दलित, अल्पसंख्यकले उम्मेदवारी मनोनयन गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुट पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.