|
प्रदेश २ को चुनावी अभियानको फोटो।

काठमाडौं : असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय चुनावका लागि राजनैतिक दलहरु आ–आफ्ना दलका उम्मेदवारलाई जिताउन घरदैलो कार्यक्रममा व्यस्त भएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवार भोट माग्न मतदाताको घरघरमा पुगिरहेका हुन्। नेपाली कांग्रेसले मतदाताको घर केन्द्रित प्रचार अभियानलाई तिब्र पारेको छ।

प्रचार अभियानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका शीर्ष नेताहरु प्रदेश नम्बर दुईमा जाने तयारीमा रहेको नेपाली कांग्रेसले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा जाने कार्यक्रम नभए पनि कांग्रेसले अन्य शीर्ष नेताहरु र भ्रातृ संगठनहरुलाई खटाएर सभा भन्दा पनि घरदैलो अभियानलाई जोड दिएको छ।

नेकपा एमालेका शीर्ष नेताहरु पनि तराईमा छन्। यसअघि भएका दुइ चरणको स्थानीय तहमा पहिलो दल बनेको एमालेले दुई नम्बर प्रदेशमा पनि एक नम्बरको पार्टी बन्ने दाबीसहित प्रचारलाई तिब्र पारेको छ।

नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेलसहितका नेताहरु चुनावीमा अभियानमा छन्। अध्यक्ष केपी ओली पनि तराईका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्न जाने एमालेले जनाएको छ। यस्तै माओवादी केन्द्रका पनि अध्यक्षसहितका शीर्ष नेता तराईमा केन्द्रित भइरहेका छन्।

अध्यक्ष प्रचण्डले शनिबार मात्रै बारा जिल्लाका विभिन्न ठाउँमा हुने करिब ८ वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने उनको सचिवालयले जनाएको छ। नेताहरु नारायणकाजी श्रेष्ठ, मणि थापा, उर्मिला अर्याललगायत चुनावी प्रचारमा छन्।

यसअघि दुई चरणको चुनावमा सहभागि नभएको राष्ट्रिय जनता पार्टिका अध्यक्ष मण्डलका नेताहरु पनि आज तराई झर्दैछन्। राजेन्द्र महतो, महन्थ ठाकुरलयायतका नेताहरु शनिबार बिहान काठमाडौंबाट जाने र जिल्ला जिल्लामा हुनेसभालाई सम्बोधन गर्ने महासचिव केशव झाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.