|

गौशाला : महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका एक उम्मेदवारले चुनाव खर्च जुटाउन भैंसी बेचेका छन्। जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन्।

चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि ७७ हजार रुपैयाँमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए।

साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेको अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताए।

प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उनको चुनावका लागि गाउँमा पाँच/पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरेका छन्।

मोतीले आफू ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफू जित्ने विश्वाससमेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.