|

जनकपुरधाम : आसन्न स्थानीय तहको निर्वाचनको लागि धनुषाका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरी कार्यक्रम गर्न थालेको भन्दै आयोगले आपत्ति जनाएको छ। राजनीतिक दलले चुनावी प्रचार प्रचारको काममा सबैभन्दा धेरै बालबालिका तथा शिक्षकहरुको प्रयोग गरिरहेका छन्।

त्यस्तै, सार्वजनिक र निजी घरमा भित्ते लेखन पनि गरिरहेका छन्। यस्तो काम निर्वाचन आचरसंहिताविपरीत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले बताए। निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतको कुनै पनि सार्वजनिकस्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ।

तर, जनकपुर उप–महानगरपालिका सहित धनुषाका  १८ वटा स्थानीय निकायको गाउँपालिका तथा नगरपालिका क्षेत्रमा राजनीतिक दलले झण्डा लटकाउने तथा पोस्टर पम्प्लेट टाँस्ने गरेका छन्। जनकपुरको जानकी मन्दिर वरिपरिका पर्खाल, जनक मन्दिर तथा जनक चोकको चौतारो सार्वजनिकस्थल तथा सडकको दायाँ बायाँको भित्तामा चुनावी नारा लेखेका छन्।

जनकपुरको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, शिव चोक, विद्युतका पोलहरुमा भित्ते पोष्टर तथा ब्यानरहरु झुन्ड्याउने भएका छन्। यस विषयमा निर्वाचन कार्यालयमा जानकारी आएको र सचेत गराउने कार्यसमेत गरेको भईरहेको प्रमुख झाले बताइन्।

निर्वाचन आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई उम्मेदवार वा राजनीतिक दलले सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, र्‍याली, बैठक र भेला गर्न नहुने उल्लेख छ। तर कुनै पनि दलले अनुमति लिएका छैनन्। आचार संहितामा उल्लेख भएको नियम पालना गर्नु पर्छ। राजनीतिक दलले अनुमति लिएका छैनन्। यस विषयमा सम्बन्धितलाई सचेत गराउने धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण चापागार्इंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.