|

  • रमेश तिमल्सिना-

रौतहट :  प्रदेश नं. २ को सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाको नेतृत्व लिन प्रमुख दलहरु दलबलका साथ दिनरात चुनाव प्रचारमा व्यस्त छन्। यस नगरपालिका प्रमुखमा नेकपा एमालेको तर्फबाट उद्धब रेग्मी, नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र चौधरी, नेकपा माओवादी केन्द्रबाट युवाराज भट्टराई 'समीर', राप्रपाबाट दीलिप थापा उम्मेदवार छन्।

पूर्व पश्चिम राजमार्गमा पर्ने र मधेस केन्द्रित दलहरुको प्रभाव कम रहेको यस नगरपालिकामा प्रमुख दलहरुबीच नै मुख्य प्रतिस्पर्धा छ। नेकपा माओवादी केन्द्रले यो नगरपालिकालाई प्रतिष्ठाको विषय बनाउँदै चुनाव प्रचार प्रसार आक्रामक ढंगले गरिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै यस नगरपालिकामा मतदाता भेटघाट गर्न र घरदैलोमा दुई पटक आइसके। मधेस झर्दा रौतहटको चन्द्रनिगाहपुरमा बास बसेर पटक पटक मर्निङ वाकको समयमा समेत प्रचण्डले माओवादी उम्मेदवा भट्टराईका लागि मत मागेका छन्।

गत भदौ १५ गते रौतहट आएका प्रचण्डले मर्निङ वाकका क्रममा चन्द्रपुर नगरपालिका २ जुडिबेलाका स्थानीयसँग भेटघाट गरी भट्टराईका लागि मत मागे। त्यसको भोलिपल्ट फेरि मर्निङ वाकमा बजारटोलका युवाहरुसंग चिया खादै प्रचण्डले भने 'विकासप्रेमी समीरलाई जिताउन तपाईहरु सबै युवाहरु लाग्नुस्।'

प्रचण्ड भदौ २४ गते पनि चन्द्रपुर नगरपालिकामा चुनावी सभालाई संबोधन गर्न आए। गैंडाटारमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भनेका थिए 'चन्द्रपुर नगरपालिकामा समीरको जित हुनु भनेको मेरो जित हुनु सरह  हो।'

त्यस दिन प्रचण्ड चन्द्रनिगाहपुरमा नै बास बसे। भोलिपल्ट विहान प्रचण्डले वडा नम्बर ४ मा मर्निङ वाक गरे। स्थानीय ब्यपारी, वुद्धिजीवि, समाजसेवी लगायतकासँग चियागफमा प्रचण्डले समीरका लागि मत मागे।

चन्द्रपुर नगरपालिका ४ का समिर माओवादीको भूमिगत राजनीतिबाटै आएका नेता हुन्। हाल माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य रहेका उनको पार्टी अध्यक्ष प्रचण्डसँग नजिकको सम्बन्ध छ। यी ३६ वर्षीय युवकको चाहना चन्द्रपुरलाई नमुना शहर बनाउने छ। 'मेरो स्पष्ट धारण छ चन्द्रपुर नगरपालिकालाई नेपालकै नमुना शहर बनाउने छ, त्यसको पहिलो फेजको रुपमा स्मार्ट सिटीको काम शुरुवात भइसकेको  छ' उनले भने  मलाई युवादेखि वृद्धसम्म सबैक साथ र समर्थन छ।'

चन्द्रपुर नगरपालिका  नेपालको १० शहरलाई स्मार्ट सिटी बनाउने सरकारी योजनामा चयन भएको एक शहर हो। स्मार्ट सिटीका लागि टेण्डर समेत भइसकेको छ। माओवादी केन्द्र संवद्धहरु स्मार्ट सिटीको अवधारण नै समिरको भएको दावी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.