|

जनकपुरधाम :  निर्वाचन आयोगको कमजोरी र राजनीतिक दलहरुको लापरबाहीका कारण तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा आचारसंहिताको धेरै उलंघन भएको पाइएको छ। यही असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रदेश नम्बर दुईमा रहेका ८ जिल्लाको अनुगमनपछि राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहिताको चरम उलंघन गरेको जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले गरेको पत्रकार सम्मेलनमा आयोगका सदस्य सुदीप पाठकले राजनीतिक दलदेखि स्थानीय सुरक्षा निकायले पनि व्यापक रुपमा आचारसंहिता उलंघन गरेको बताए। उनले भने 'मैले निर्वाचन हुने तराईको ८ जिल्लामध्ये ४ जिल्लाको भ्रमण गरेँ, प्राय प्रत्येक जिल्लामा आचारसंहिताको उलंघन भएको मैले हेरेको छु, चाहे त्यो धनुषा होस् वा अन्य जिल्ला। प्रत्येक जिल्लामा उम्मेदवारदेखि प्रहरीसम्मले भारतीय गाडीको प्रयोग गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।'    

उनले राजनीतिक दलले शान्तिपूर्ण रुपमा प्रचार प्रसार गरेको पाइए पनि बालबालिकाको प्रयोग, तुल व्यानर,  टोपी,  टिसर्ट र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरेको पाइएको बताए। कतिपय मतदान केन्द्रहरुमा खोला तरेर जानुपर्ने भएकोले पानी परेमा वैकल्पिक व्यवस्था नमिलाइएको तथा मतदाता शिक्षा कुनै पनि जिल्लामा प्रभावकारी रुपमा नभएको पाइएको पनि पाठकले बताए।

उनले निर्वाचन आयोग तथा स्थानीय सुरक्षा निकायहरुको उदासिनताका कारण सुरक्षाकर्मी तथा उम्मेदवारले निर्वाध रुपमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको, सुरक्षा व्यवस्था कायम गर्न केही मानिसलाई नियन्त्रणमा लिएको तथा केही मतदान केन्द्रसम्म पुग्नै नसकिने अवस्था रहेको जानकारी दिए।

आयुक्त पाठकले केही मतदान केन्द्रहरु खुल्ला चौरमा रुखमुनि राखिएका कारण सुरक्षाको दृष्टिकोणले उपयुक्त नरहेको र अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, अशक्त मतदाताहरुलाई सजिलो तरिकाबाट मतदान गर्न सक्ने वातावरण बनाउन निर्वाचन आयोग नसकेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.