|

  • महेश्वर अधिकारी-

बारा : भोलि हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि बारामा तयार गरिएका मतदानस्थलमध्ये ६६ वटा अतिसंवेदनशील रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार जिल्लामा २८ संवेदनशील र १ सय ९ वटा मतदानस्थल सामान्य रहेको छ। बारामा जम्मा ३ सय ३ वटा मतदानस्थल निर्धारण गरिएको छ।

यस्तै, जिल्लामा ४ सय ५८ मतदान केन्द्रमध्ये १ सय ३ अतिशंवेदनशील, २ सय १३ संवेदनशील र १ सय ४२ सामान्य रहेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्च सुरक्षाको व्यवस्था गरिएको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए। बारामा १६ स्थानीय तह, १ सय ६७ वडा, ३ सय ३ मतदानस्थल, ४ सय ५८ मतदान केन्द्र र ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन्।

सबै तयारी पूरा

भोलि हुने स्थानीय तह तेस्रो चरणको चुनावका लागि बाराका सबै स्थानीय तहमा तयारी पूरा भएको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार जिल्लाका १६ वटा स्थानीय तहका सबै मतदान केन्द्रमा मतदान अधिकृत खटिइरहेका छन्।

चुनावको लागि सबै तयारी सकिएको बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। मौन अवधि सुरु भएकाले आचारसंहिताको पूर्ण पालना गर्न उनले दलहरुलाई आग्रह गरे। मतदान केन्द्रमा खटिएका कर्मचारीलगायत मतदान गर्ने मतदाताको सुरक्षा व्यवस्था कडा गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले जानकारी दिए।

सुरक्षा व्यवस्था कडा बनाउनको लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको उनले बताए। सुरक्षा व्यवस्था मजबुत भएकाले मतदाताले ढुक्क भएर मतदान गर्न मानन्धरले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.