|

  • रमेश तिमलसिना-

रौतहट : रौतहटमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि सहरी विकाशमन्त्री लगायतका ठूला नेताहरुले आआफ्नो मतदानस्थल गई मतदान गरेका छन्। एमाले वरिष्ठ नेता नेपालले राम जानकी कन्या प्राथमिक विद्यालय गौरबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्।

नेता नेपालले बिहानै मतदान गर्न आफ्नो केन्द्र पुगेका थिए। मतदान गरेपछि नेता नेपालले मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याएका थिए। पत्नी गायत्री नेपालसँगै मतदान केन्द्रमा पुगेका नेता नेपालले मतपत्र उल्टो पट्याएको तस्बिर सार्वजनिक भएको छ। सुल्टो पट्याउँदा मसी लत्पतिने अवस्था देखिएकाले उल्टो पट्याउनुपरेको नेता नेपालले प्रतिक्रिया दिए।

निर्वाचन आयोगले स्वस्तिक छाप लगाउन प्रयोग गरेको मसीको गुणस्तर कमजोर हुनसक्ने भन्दै मतपत्रमा पनि मसी लत्पतिने डरले उल्टो पट्याएको उनको भनाइ छ। मतदान केन्द्रमा पुगेका नेता नेपाल प्रसन्न मुद्रामा देखिन्थे। 

यता  नेपाल सरकारका शहरी विकास मन्त्री प्रभु साहले मौलापुर नगरपालिका वडा नम्बर ५ को आधारभूत विद्यालय मौलापुर बजारमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन। मतदानपछि संक्षित प्रतिक्रिया दिँदै मन्त्री साहले  स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको विकासलाई संस्थागत रुपमा विकास गरेको बताए। मन्त्री साहले यो निर्वाचन भनेको जनमतसंग्रह पनि भएकोले स्थानीय तहको निर्वाचनपछि  विकासका काम तीव्र गतिमा हुने मन्त्री साहले विश्वास गरे।

यसैगरी, पूर्वमन्त्री तथा राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले पनि दुर्गाभगवती गाउँपालिका ३ मत्सरीको सस्कृत माध्यमिक विद्यालय केन्द्रमा पुगेर मतदान गरेका छन्। मतदानपछि  नेता झाले अव मधेशको विकासको लागि ढोका खोलिने बताए।

यसैबीच, मौलापुर नगरपालिका वार्ड नं. ३ गम्हरीया पर्सामा मतदान गर्ने क्रममा दुइ पक्ष दोहोरो झडप भएको छ । सो वार्डको गम्हरीया पतौरा प्राबि मतदान केन्द्रमा झडप हुदा दुबै पक्षको ५ जना घाइते समेत भएका छन। नेकपा माओवादी र संघिय समाजवादी फोरम बिच दोहोरो झडप भएको मतदान केन्द्रमा खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडक बहादुर पन्तले जानकारी दिए।

झडपलाइ नियन्त्रण लिन एक राउण्ड हावाइ फाइरिङ समेत भएको  सशस्त्र प्रहरी उपरीक्षक पन्तले बताए। स्वयं सेवकको बिषयमा झडप भएको र आधा घण्टा पछि पुन मतदान कार्य सुचारु भएको मतदान अधिकृत रवीन्द्रप्रसाद साहले बताए। यता, अहिलेसम्म रौतहटमा ७४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। समंग्रमा रौतहटमा ८० प्रतिशत मतदान हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.