|
Photo : BBC

म्यानमारबाट लखेटिने क्रममा रोहिंग्या समुदायका महिला सेनाबाट बलात्कृत बनेका छन्। रोहिंग्या महिलाको बलात्कारमा म्यानमारको सेना संलग्न भएको र सेनाले महिलाहरुलाई बलात्कार गरेपछि हत्या गरेको बंगलादेश पुगेका रोहिंग्या शरणार्थीले बताएका छन्।

बंगलादेशमा रहेका रोहिंग्या शरणार्थी शिविरमा उपचार सेवा दिइरहेका डाक्टरहरुका अनुसार बलात्कारको सिकार भएर जेनतेन ज्यान जोगाएर बंगलादेश पुगेका महिलाहरु उपचार गर्नका लागि स्वास्थ्य चौकीसम्म जान पनि डराउने गरेका छन्। बलात्कारका सिकार भएर बंगलादेश पुगेका महिलाबारे बीबीसीका बंगलादेश संवाददाता फरहाना परवीनले लेखेका छन्। यसमा प्रयोग गरिएका बलात्कृत महिलाका नाम वास्तविक होइनन्।

बाँचेर बंगलादेश आएँ

हाजेरा बेगम दक्षिण-पूर्वी बंगलादेशको उखियामा रहेको शरणार्थी शिविर पुगेको तीन दिन भएको छ। म्यानमारमा उनको घरलाई सेनाले घेरेको थियो। उनी सेनाको कब्जाबाट भागेर ज्यान जोगाउन त सफल भइन्। तर, सेनाबाट बलात्कृत हुनबाट भने आफूलाई जोगाउन सकिनन्। उनीजस्तै महिलाहरु जो भाग्न सकेनन् उनीहरु बलात्कृत भए र  मारिए पनि। हाजेराले भनिन्, 'बलात्कारपछि म त बाँचे तर त्यहाँ धेरै युवतीहरु थिए, जसको बलात्कारपछि हत्या गरिएको थियो।'

बलात्कारमा परेपछि सेनासँग गर्भनिरोधक औषधीका लागि अनुरोध गरेको बताइन् हाजेराले। तर, सेनाले उनको बिलौना सुनेन र औषधी दिन अस्वीकार गर्‍यो। उनले भनिन्, 'मैले जस्तै बलात्कृत भएका महिलाहरुले उपचारको माग गरेका थिए। खासमा हामीले गर्भ निरोधक औषधी मागेका थियौं तर हामीलाई दिइएन।'

पुरषको हत्या महिलालाई बलात्कार

२५ अगष्टपछि ठूलो संख्यामा महिला र बालबालिका रोहिंग्या शरणार्थी बंगलादेश पुगेका हुन्। उनीहरुले म्यानमारमा पुरुषहरुको हत्या गरिएकै स्थानमा महिलाहरुलाई बलात्कार गरिएको बताएका छन्।

रेहना बेगम म्यानमारको सीमाना हुँदै भागेर बंगलादेश आएकी हुन्। तर उनकी १५ वर्षीया छोरी भने म्यानमारमै छुटिन्। उनले बंगलादेशमा छोरीलाई शिविर शिविर खोजिन् तर भेटिनन्। उनी भन्छिन्, 'मेरी छोरीलाई सेनाले पक्राउ गरेको होला भन्ने पीर लागेको छ, मैले अहिलेसम्म छोरीको कुनै खबर सुनेको छैन।'

म्यानमारबाट २ हप्ता पहिले भागेर बंगलादेश पुगेका मोहम्मद इलियास रोहिंग्या महिलाहरु यौन सिकार भएको बताउँछन्। उनी आफ्नै आँखाले महिलाहरु बलात्कृत भएको देखेको सुनाउँछन्। उनी भन्छन्, 'मैले काखमा बच्चा भएकी महिलालाई देखे, केहीपछि मैले देखे उनको शरीर आधा जलेको लास भएको थियो साथमा ५ अन्य लास थिए।'

बताउनै सक्दैनन् घटना

काक्स बजारमा रहेको शरणार्थी शिविरमा रहेका महिला र बच्चाहरुका लागि बंगलादेश र अन्तर्राष्ट्रिय संस्थाका डाक्टरहरुले प्राथमिक स्वास्थ्य सेवा दिइरहेका छन्। म्यानमारबाट भागेर आएका महिलाहरुको उपचारमा संलग्न डाक्टर भन्छन् महिलाहरु बलात्कृत भएकोमा हेला गरिएला भन्ने डरले आफूलाई बलात्कार गरिएकोबारे भनिरहेका छैनन्। जसका कारण सही उपचार गर्न सकिएको छैन।

उखियामा रहेको शरणार्थी शिविरमा उपचार सेवा दिइरहेका बंगलादेशका डाक्टर मेजबहुद्दिन अहमद भन्छन् उनले बलात्कारका १८ घटनाबारे सुनेका छन्। उनको अनुमान छ यसरी बलात्कृत भएका महिलाको संख्या अझै धेरै हुनुपर्छ। उनलाई वास्तवमा कति संख्यामा महिलाहरु बलात्कृत भएर उक्त शिविरमा पुगेका छन् भन्ने मुस्किल भइरहेको छ। उनी भन्छन्, 'मैले ६ जना महिलासँग कुरा गरेको थिएँ, उनीहरुका काखमा बच्चा थिए। उनीहरुले म्यानमारको सेनाले दुर्ब्यवहार गरेको बताएका थिए।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.