|

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आठौँ केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको बैठकमा २ नम्बर प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचन र मंसिर १० र २१ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो।

बैठक सुरु भएको शनिबार दोस्रो दिन आठ समूह विभाजन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको २२ पेज लामो राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल गरिएको थियो।

छलफलका क्रममा अधिकांश समूहबाट आगामी निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जानुपर्ने कुरा उठाइएको छ। तर बैठकमा कुनै निर्णय भने भएन। 'अबको निर्वाचनमा पार्टी अध्यक्षलाई प्रधानमन्त्री तोकेर जाँदा निर्वाचनमा सहज हुन्छ भन्ने कुरा समूहले उठाएका छन्', एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले भने, 'केही साथीहरूले व्यक्ति नै तोकेर जाँदा घेराबन्दीमा पर्न सक्ने कुरा पनि उठाउनुभएको छ।'

बैठकमा सातवटै प्रदेशका लागि मुख्यमन्त्रीसमेत तोकेर चुनावमा जानुपर्ने कुरा पनि उठेको छ। चुनावलाई बल पुग्ने भएकाले प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानुपर्ने केन्द्रीय सदस्यहरूले बताएका छन्।

यस सन्दर्भमा दुईथरी कुरा आएपछि एमालेले निर्णय भने गरेको छैन। प्रधानमन्त्री, मुख्यमन्त्री तथा प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार टुंग्याउने जिम्मा भने बैठकले स्थायी समितिलाई दिएको छ।

बैठकको अन्तिम दिन आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्र र सबै प्रदेशहरूमा नेकपा एमालेको बहुमतको सरकार अपरिहार्य भएकाले एकताबद्ध भएर र सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न सबै कार्यकर्तालाई आह्वान गरेका छन्।

बैठकमा प्राप्त सुझावका आधारमा स्थायी समितिले उमेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी समितिलाई दिएको छ। 'बैठकले संघीय संसद र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अध्यक्ष केपी शर्मा ओलीको रहने पनि निर्णय गरेको छ', एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको जिज्ञप्तिमा उल्लेख छ।

उम्मेदवार सिफारिस गर्न जिल्लालाई आह्वान

बैठकले मंसिर १० र २१ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्न आग्रह गरेको छ। सके सर्वसम्मत उम्मेदवार पठाउन र नसके बढीमा तीन जना सिफारिस गर्न जिल्ला कमिटीलाई आह्वान गरेको केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिए। यसबारे अन्तिम निर्णयको अख्तियारी भने स्थायी समितिलाई दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.