शान्तिप्रक्रिया र व्यवस्था परिवर्तनमा केन्द्रीय भूमिका खेलेँ, त्यसैले चुनाव जित्छु’
शान्तिप्रक्रिया र व्यवस्था परिवर्तनमा केन्द्रीय भूमिका खेलेँ, त्यसैले चुनाव जित्छु’
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनको लागि आफूले निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गरेर नैं झापाली मतदाताले आफूलाई चुनाव जिताउने बताएका छन्।
तत्कालिन सात संसदवादी दल र सशस्त्र द्वन्द्वरत नेकपा माओवादीबीच १२ बुँदे सझदारीको ११ वर्ष पूरा भएको अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाटमा सिटौलाले भने ‘मैले शान्ति प्रक्रियामा भूमिका निर्वाह गर्दा धेरै आलोचना खेप्नुपर्यो तर म लक्ष्यबाट विचलित भइनँ।’
झापा ३ बाट प्रतिनिधिसभाको लागि कांग्रेस उम्मेदवार सिटौला सोमबार साँझ झापाबाट काठमाडौं आएका थिए। चुनाव प्रचारमा व्यस्त रहेका सिटौलाले मंगलबार बिहान पत्रकारसमक्ष भने ‘मेरो निर्वाचन क्षेत्र अरु भन्दा विशिष्ट प्रकृतिको छ, अन्य क्षेत्रसँग तुलना नगर्नुस्।’ राजनीतिक परिवर्तनको लागि आफूले गरेको योगदानको चर्चा गरेका सिटौलाले एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार भएका राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको नाम नलिई उनी परिवर्तन विरोधी भएको वारम्बार संकेत गरे।
देशभरी कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा राप्रपासँग तालमेल गरे पनि झापामा भने वाम गठबन्धनसँग राप्रपाले तालमेल गरेको छ। सिटौलाले सञ्चारकर्मीसँग दिएको अभिव्यक्ति जस्ताको तस्तै :
राजा चाहिन्छ भन्ने पार्टीसँग मेरो मूल प्रतिष्पर्धा छ
यो निर्वाचनले नेपालको राजनीतलाई रुपान्तरण गर्नेछ। संघीय व्यवस्था पहिलो पटक नेपालमा लागू हुँदैछ। तीन तह व्यवस्थापिका र सरकारको व्यवस्था छ, त्यो नेपालमा मात्र प्रयोग हुँदैछ। स्थानीय तहको निर्वाचन भयो, अब प्रदेश सभा र संघीय संसदको चुनाव आगामी मंसिर १० र २१ गते हुँदैछ। यो निर्वाचन पनि विगतका दुई निर्वाचनभन्दा फरक छ। विगतमा भएको संविधानसभाको निर्वाचनमा संविधान निर्माण गर्ने कार्यभार थियो, तर यो निर्वाचन संविधान कार्यान्वयन र विकास तथा समृद्धिको लागि हो।
यो पटक दलको घोषणा पत्र पनि फरक छ। विगतमा दलबीच संविधान बनाउने विषयमा होडवाजी थियो भने अहिले देशलाई आर्थिक प्रगति र समृद्धि बनाउने होडवाजी छ। नेपालको राजनीतिमा एउटा सकारात्मक पक्ष यही हो। मेरो मुल्याङ्कनमा नेपाली जनता धेरै लामो संघर्ष, क्रान्ति र परिवर्तनबाट जुन परिवर्तन आयो, त्यसको पक्षमा देखिएका छन्।
लोकतन्त्रले धेरै परिवर्तन ल्यायो। २००७ सालमा आएको प्रजातन्त्र २०१७ सालमा अपहरित भए पनि २०४६ सालको क्रान्तिले फेरि प्रजातन्त्र वहाली गर्यो।२०६२/६३ को क्रान्तिले मुलुकमा गणतन्त्र बहाली गर्यो र जनताका थप अधिकारहरु आए। संघीयता, गणतन्त्र र समावेशिता यो क्रान्तिको परिणाम हो।
यो परिवर्तनबाट जनता जसरी राजनीतिक अधिकारसम्पन्न भएका छन्, त्यसैको माध्यमबाट देश विकास गर्न चाहन्छन्। तर अहिले पनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने पनि निर्वाचनको मैदानमा देखिएका छन्। मेरै निर्वाचन क्षेत्र झापा तीनमा अहिले पनि राजतन्त्र चाहिन्छ भन्ने पार्टी र त्यसका उम्मेदवार मूल प्रतिष्पर्धीको रुपमा उभिएका छन्।
एमाले र माओवादीले राप्रपालाई समर्थन गरेको हो कि होइन परिणामले देखाउँछ
यो निर्वाचन अवसर पनि हो। मेरो दृष्टिमा राजा चाहिन्छ भन्नेलाई सदाका लागि अन्त्य गर्ने। धेरै ठूलो संघर्ष, बलिदान र त्यागले यो परिवर्तन आएको हो। तर यो जनताको उपलब्धीलाई आत्मसाथ नगर्ने अनि त्यसकै पक्षमा मत जानसक्ने खतरा जुन छ, त्यसवाट बचाउनुपर्छ।
जनतालाई अधिकार सम्पन्न गराउनुपर्छ र देशलाई संघीयता, गणतन्त्र र समावेशीताको बाटोमा लैजानुपर्छ भन्ने मान्यता मेरो रहेको छ। एमाले र माओवादीका नेताहरुले राप्रपाका उम्मेदवारलाई समर्थन गरेका हुन वा होइनन्? भविष्यले बताउला तर दावा गरिएको छ, परिणमले देखाउला। मैले मेरै निर्वाचनमा क्षेत्रमा यो प्रश्न किन उठाएको छु भने झापाको तीन नम्बर क्षेत्र नेपालको जनआन्दोलन उत्कर्षमा पुर्याउने उद्गमस्थल हो।
तीन शहिद मेरै निर्वाचन क्षेत्रका हुन्
२०४६ सालको आन्दोलनमा चैत १४ गते मेचि वहुमुखी क्याम्पसको हाताभित्र राम थापा मारिए। त्यसको दुई हप्ता नबित्दै पञ्चायती व्यवस्था नै ढल्यो। बहुदल घोषणा भएको छ।
गत २०६२/०६३ को शान्तिपूर्ण आन्दोलनको समयमा चैत ६ गते सेना परिचालन सेना लगाएर सेनाको गोलीबाट एक जना नेविसंघका युवा राजन गिरी र एमालेसँग नजिक रहेका सूर्य विश्वास जो श्रमिक कार्यकर्ता थिए, उनले शहादत प्राप्त गरे। सयौं घाइते भए, अझै पनि अपाङ्ग छन्, धेरैजना।
त्यहीँ ठाउँमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संयुक्त रुपमा गिरिजाप्रसाद कोइरालाको स्मृतिमा एउटा सभाभवन बन्दैछ।
त्यो जनआन्दोलनको सम्मानमा शिलान्यास गरिएको भवन होे। जनआन्दोलन ताका गिरिजाप्रसाद कोइरालालाई सबै दलले नेता मानेका थिए। उहाँ दिवंगत भएपछि भद्रपुरको त्यही रगत पोखिएको ठाउँमा गणतन्त्रको आन्दोलनलाई सम्मान गर्दै गणतन्त्रको नाममा एउटा सभागृह बन्दैछ।
यो सभागृह एक नम्बर प्रदेशकै सबैभन्दा ठूलो सभागृह हुनेछ। सरकारको मातहत, अर्थात जिल्ला संघर्ष समितिको मातहत रहने गरी। यो निर्माणाधीन अवस्थामा छ।
भद्रपुरमा दुई भाइहरु मारिएको हप्ता दिनमै तत्कालिन राजा ज्ञानेन्द्रले समर्पण गरेका छन, आन्दोलनको सामू। वैशाख १३ गते उनको विज्ञप्ति आएको थियो र निरंकुश राजतन्त्रको अन्त्य भएको थियो र त्यहीबाट गणतन्त्रमा पुग्ने मार्ग प्रशस्त भएको हो।
झापा तीनका मतदाता परिवर्तनकै पक्षमा छन्
झापा क्षेत्र नं तीन, जहाँबाट म उम्मेदवार बनेको छु। २०४६ सालको जनआन्दोलनमा मेरो जिल्लास्तरीय भूमिका थियो, आन्दोलनलाई माथि उठाउन। २०६२/०६३ को आन्लदोलनमा आइपुग्दा मेरो भूमिका केन्द्रीय स्तरमा रहयो। १२ बुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा आउँदा मेरो भूमिका केन्द्रीय स्तरमै थियो।
यी दुवै आन्दोलनमा म जोडिएको छु। यी दुवै आन्दोलन मेरै घर आँगनमा भएका हुन्। मेरो घर झापाको सदरमुकाम चन्द्रगढीमा हो। त्यसैले आन्दोलनको भावनालाई छोडेर प्रतिगमनको धारमा, परिवर्तन विरोधी धारमा रहेको व्यक्तिलाई बोक्नु र बोक्न खोज्नु नेपाली जनताको लागि किमार्थ उचित होइन।
मैले एउटा प्रश्न उठाउने गरेको छु, हरेक पार्टीका कार्यकर्तामा स्वभिमान जाग्नुपर्छ। स्वभिमानविहीन कार्यकर्ताले न स्वाधीनताको रक्षा गर्न सक्छ, न पार्टीको वैचारिक र सैद्धान्तिक धारलाई निरन्तरता दिन सक्छ।
म मेरै निर्वाचन क्षेत्रमा सीमित भएर भन्न चाहन्छु, झापा ३ का मतदाता जसले हिजो जो सुकैलाई मतदान गर्ने किन नहोस, आजका दिनमा परिवर्तनका पक्षमा जनआन्दोलनको पक्षमा सोही अनुकुल नेपालको भावनालाई अघि बढाउनु पर्छ भन्ने पक्षमा छु।
ज्ञानेन्द्रलाई सम्झाउन ४५ मिनेट लाग्यो
गणतन्त्र घोषणापछि राजा ज्ञानेन्द्रलाई बिदाइ गर्ने वेलामा पनि मैले नैं उनलाई ४५ मिनेट सम्झाउनुपर्यो। प्रधानमन्त्रीको प्रतिनिधिको हैसियतले तत्कालिन राजा ज्ञानेन्द्रसँग भेट्न म दरवार नै गएँ र ज्ञानेन्द्रले प्रेस मिट गरेर दरबार छोडे।
शान्ति प्रक्रिया पूरा गर्न अझै मेरो आवश्यकता छ
नेपालको राजनीतिमा १० वर्ष अत्यन्त महत्वपूर्ण छ। शान्तिवहालीको प्रक्रिया र गणतन्त्रमा मुलुकलाई पुर्याउन मेरो अत्यन्तै महत्वपूर्ण भूमिका रह्यो। शान्ति प्रक्रियाका केही काम बाँकी छन्, द्वन्द्वपीडितले न्याय पाउन र दोषीलाई कानुको कठघरमा उभ्याउन।
यी दुवै कार्यका लागि गठित दुई आयोगले आफ्नो काम गर्न सकेका छैनन्। मलाई लाग्छ, यसको लागि मेरो भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। दुईवटै आयोगका निष्कर्ष आउदा द्वन्द्वपीडितले न्याय पाएको हुनुपर्छ। कहिल्यै पनि समाजमा हिंसा नहुनेगरी बदलाव वा सत्रुताको भाव अन्त्य हुनेगरी सामाजिक एकता र मेलमिलपा पनि कायम हुनुपर्छ।
जुन सहमतिको आधारमा हामीले शान्ति प्रक्रियालाई अघि बढायौं, त्यही स्पिरिट अनुसार काम हुनुपर्छ। शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्याउन पनि म संसद आउनुपर्छ।
साढे तीन अर्बको बजेट कार्यान्वयन हुँदैछ
निर्वाचनमा जितेर आएपछि यो वर्षमात्र मेरो कार्यकाल पूरा भएको छ। यो वर्ष मैले चार वर्षे कार्यकाल पूरा गरेँ। यो चार वर्षे कार्यकालमा संविधान निर्माणमा मेरो महत्वपूर्ण भूमिका रहयो, यो दुनियाँलाई थाहा छ। अर्को कुरा यो कार्यकालमा मेरो निर्वाचन क्षेत्रमा साढे तीन अर्ब रुपैयाँ भन्दा बढी बजेट छुट्याइएका बहुवर्षीय आयोजनाहरु निर्माण हुन थालेका छन्।
अहिले चारआलीदेखि केचनासम्मको बाटो निर्माण गर्न करिब एक अर्बको बजेट छुटिएको छ। भद्रपुरबाट भारततर्फ जाने मेचि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भद्रपुरदेखि राजगढसम्मको हुलाकी राजमार्ग निर्माण भइरहेको छ, त्यो यही आर्थिक वर्षमा सम्पन्न हुनेछ। खानेपानी र स्वास्थ्यका ठूला ठूला आयोजनाहरु निर्माणधीन छन्।
मेची अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने भनेर प्रस्ताव अघि बढेको छ। भर्खरै मात्र २० करोडको लागतमा अस्पताल भवन निर्माण गर्ने भनेर सम्झौता भएको छ।
मैले चार वर्षे कार्यकाल पूरा गर्नुअघि राजा ज्ञानेन्द्रको शासन चलेकै हो। राजाको यो कालमा एक करोडको कुनै भवन पनि बन्न सकेनन्। राजाको सक्रिय शासनकालमा राजनीतिक दलका हामी नेता त सबै थुनामा थियौं, राजालाई विकास निर्माण गर्न त कसले रोक्थ्यो र?
एमाले र माओवादीसँग मेरो समझदारी छैन
मेरो निर्वाचन क्षेत्र अरु भन्दा विशिष्ट छ। अन्य निर्वाचन क्षेत्रसँग मेरो क्षेत्रलाई म तुलना गर्न चाहन्न। एमालेका नेता वा माओवादीको नेतासँग सझदारी भएको होइन, हिजोका निर्वाचनको परिणामको कुरा गर्ने हो भने त म धेरै तल छु नि । तर कुनै पनि पार्टीका कार्यकर्ताहरु स्वभिमानी छन्। जनताको अधिकार स्वभिमानको लागि लडेका कार्यकर्ताहरु स्वभिमानको विरुद्ध र जनताको अधिकारलाई दमन गर्नेका अवशेषका पक्षमा हुने छैनन् भन्ने मैले विश्वास लिएको छु। जनमत तयार गर्ने यो मेरो विशिष्ट प्रयास नै हो।
आगामी निर्वाचनमा कांग्रेस पहिलो भएर आउँछ। तर हरेक क्षेत्रमा फरक फरक प्रकृतिको प्रतिस्पर्धा छ। माओवादीसँग भित्री सहमति कुनै भएको छैन। मेरो प्रतिष्पर्धा एमाले वा माओवादीसँग होइन। अरुको बारेमा म टिप्पणी गर्न चाहन्न।
यो निर्वाचनको ठूलो राजनीतिक महत्व छ। शान्ति प्रक्रिया, गणतन्त्र, लोकतन्त्रबहाली गर्न र संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले संघीय संरचनाको शासन व्यवस्थामार्फत सही ढंगले राजनीतिलाई अघि बढाएकोले यो संविधानको कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई जनताले जनादेश दिन्छन् भन्ने मलाई विश्वास छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।