|

नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ

शरद् लाग्यो वनमा फूलले प्रीति गाँसेछ।

(स्वर/सङ्गीतः अम्बर गुरुङ। शब्दः अगमसिंह गिरी)

२०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट नेपाली मस्तिष्क र भावनाहरूलाई आफूतिर खिच्न अत्यन्तै सफल भएका थिए। त्यस बेलाको ‘नौ लाख तारा उदाए’ गीतले एकपल्ट सारा नेपाली अम्बर गुरुङको स्वर र भाकाप्रति झुकेका थिए। बास्तवमा त्यसपछि उनी तुरुन्तै नेपाली समाजमा परिचित भए। त्यसै कारणले उनका श्रोताहरू उनका हरेक गीतसँग मितेरी लाउन अग्रसर हुन थाले। त्यति मात्र होइन, यही गीतका माध्यमबाट अगमसिंह गिरी पनि नेपालीहरूका घरघरमा परिचित भएका थिए।

अम्बर गुरुङ पाँच वर्षमा नै गीतलाई आफ्नो स्वरबाट प्रस्तुत गर्न सिपालु भइसकेका थिए। उनको प्रतिभा देखेर परिचित मान्छेहरू उनीप्रति आश्चर्य मान्थे। आठ वर्षको उमेरमा त गुरुङले रङ्गमञ्चमा गीत गाएर उपस्थित सम्पूर्ण दर्शकको ताली भेटेका थिए। उनी बाल्यावस्थामा नै दार्जीलिङमा परिचित गायक भइसकेका थिए। किशोरावस्थाको मध्यतिर उनी सङ्गीतकारमा पनि परिचित भएका थिए। त्यसै बेलादेखि यिनले सङ्गीतको पनि औपचारिक शिक्षा लिन थालेका थिए।

अम्बर गुरुङ संवत् १९९४ फागुन १४ गते दार्जीलिङको लालढिकी भन्ने गाउँमा जन्मेका थिए। यिनलाई जन्माउने बाबुआमा उजिरसिंह गुरुङ र रेणुकादेवी थिए। यी दम्पतिका जति सन्तान जन्मे पनि बाँचेका चाहिँ अम्बर गुरुङ मात्रै थिए। अम्बर गुरुङले आफ्नो नाउँलाई नै सार्थक बनाए। उनी नेपाली साङ्गीतिक फाँटमा अमर नै बने। अम्बर गुरुङ नै नेपाली साङ्गीतिक जगत्का त्यस्ता प्रतिभा थिए जसले आफैँ गीत पनि लेखे, आफ्ना गीत आफैँले सङ्गीत पनि गरे र ती गीतहरू आफ्नै स्वरमा प्रस्तुत पनि गरे। उनले जति गीत गाए तीमध्ये धेरै गीतलाई शिखरतिर पनि धकेले।

राजा श्री ५ महेन्द्रको करबल र प्रेरणाले अम्बर गुरुङ दार्जीलिङबाट नेपाल आएका थिए। अनि २०२६ सालमा सदाका लागि यी नेपाल पसेका थिए। त्यसपछि यिनलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सङ्गीत विभागमा भर्ना गरियो। पच्चीसौँ वर्षसम्म सङ्गीत निर्देशक भएर यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट अवकाश पाए। त्यतिखेर पनि उनलाई प्रज्ञाप्रतिष्ठानमा बस्न धेरै नै रहर थियो। तर उनी कुनै दलगत हिसाबमा आबद्ध थिएनन् । त्यसैले उनी सर्लक्क त्यहाँबाट पन्सिन बाध्य भए। वास्तवमा अम्बर गुरुङ प्रज्ञाप्रतिष्ठानका सदस्य अथवा भनौँ सदस्यसचिव र अझै भनौँ उपकुलपति हुन योग्य थिए। तर ती पदहरूमा त के प्रथम श्रेणीको सङ्गीत निर्देशकमा उनले पुनः करारमा भए पनि बस्ने इच्छा गरे तापनि उनलाई त्यो पद दिइएन। साँच्चै भन्ने हो भने अम्बर गुरुङलाई प्रज्ञाप्रतिष्ठानमा राखिएको भए एकातिर उनले आर्थिक सङ्कटसँग युद्ध गर्न पर्दैनथ्यो भने अर्का तिर प्रज्ञाप्रतिष्ठानको पनि गरिमा बढ्थ्यो।

साँच्चै हो भने सुरुमा अम्बर गुरुङको अपमान प्रजातान्त्रिक नारा दिने सरकारले नै गरेको थियो। तर गुरुङलाई सरकारी निकायले जति हियाए पनि उनी नेपाली गीत, सङ्गीत र स्वरका अजम्मरी स्रष्टा थिए। उनको कलाले उनी ज्यादै माथि दरिए। उनको त्यो योगदान नेपाली माटामा युगयुगसम्म रहनेछ। किनभने उनले नेपाली धर्तीमा आफ्नो स्तरीय स्वर अर्पण गरेका थिएः

ऊ पनि त कोही पराया त होइन

रातै रगत बग्छ रङ् गको पानी होइन।

(स्वर, सङ्गीत र शब्दः अम्बर गुरुङ)

अम्बर गुरुङ सानैदेखि साङ्गीतिक सङ्गठनमा सक्रिय थिए। यिनले दार्जीलिङमै सङ्गीत स्कुल खोलेका थिए। उनले खोलेका स्कुलमा उनीसँग गोपाल योञ्जन, शरण प्रधान, अरुणा लामा, रणजित गजमेर, जितेन्द्र बर्देवा आदिले तालिम, शिक्षा र ज्ञान लिएका थिए। काठमाडौँ आएर पनि उनले धेरैलाई सङ्गीतसम्बन्धी तालिम दिए। वास्तवमा गुरुङले सङ्गीतका कुशल शिक्षकमा पनि प्रसिद्धि कमाए।

गुरुङ सङ्गीतकारमात्र नभएर एउटा बौद्धिक व्यक्तित्व पनि थिए। उनी आफ्नो साङ्गीतिक सीपलाई बौद्धिक रूपमा धाराप्रवाह प्रस्तुत गर्न सक्ने शिल्पीका रूपमा पनि चिनिए। लामो समयसम्म गीतियात्रामा समर्पित भएबापत अम्बर गुरुङ प्रबल गोरखादक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, भूपालमानसिंह कार्की सङ्गीत पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कारआदिबाट विभूषित र सम्मानित थिए। साथै यिनले नेपाल र भारतका थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू ग्रहण गरे। गुरुङले नेपालका विभिन्न भूभागहरू गीतियात्राका क्रममा घुमे। साथै उनले भारतलगायत अमेरिका, बेलायत र अन्य केही देशहरूको भ्रमण गरी अनुभवहरू पनि सँगाले।

अम्बर गुरुङले ‘सह्मालेर राख’ नामक गीतसङ्ग्रह प्रकाशित गरे भने उनका पाँचवटा डिस्करिकर्ड पनि जनसमक्ष आए। उनले शान्ति ठटालका संवेदनामा डुबेर कितापको नाउँ ‘सह्मालेर राख’ राखेका थिए। वास्तवमा ठटाल र गुरुंग सारै मिल्थे। तर क्रमशः उनीहरु प्रायः टाडैटाडा भए।

अम्बर गुरुङले केही नेपाली चलचित्रहरूमा पनि सङ्गीत प्रदान गरे। त्यतिमात्र होइन अस्ट्रेलियन र नर्वेजियन चलचित्रहरूमा पनि अम्बर गुरुङले पाश्र्व सङ्गीत प्रस्तुत गरे। गुरुङले विभिन्न गीतिनाटक, नृत्यनाटक, पूर्णाङ्की, एकाङ्कीहरूमा अपेरा, ब्याले, नृत्यनाटिका, वाद्यवृन्द प्रस्तुत गरेर लोकप्रियता हासिल गरे। सङ्गीतयात्रामा बग्दै जाँदा गुरुङले पाँच सयवटा गीतमा सङ्गीत भरे, दुई सयवटा गीत गाए र एक सय पचासवटा गीतको रचना गरे। उनीद्वारा गाइएका, सङ्गीत भएका र शब्दरचना गरिएका प्रायः जुनसुकै गीतले जनह्दयलाई च्याप्पै समाएको पाइन्छ ः

डाँडापारि हिउँ परेछ डाँडावारि पानी

एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी।

(स्वर र सङ्गीतः अम्बर गुरुङ। शब्दः इन्द्र थपलिया)

अम्बर गुरुङको प्रतिभाभरि विद्वत्ता भए तापनि उनी राजनीतिदेखि सदैव टाढा रहे। यस सम्बन्धमा उनी आफैँ भन्थे ‘‘राजनीति भन्ने कुरामा मेरो चाख कहिल्यै रहेन। म सोझो, सीधा नेपाली हुँ।’’ गुरुङ समाजका सबै बेहोराबाट सधैँ टाढा थिए। उनी एकोहोरो सङ्गीत आराधनामा नै व्यस्त देखिए। यति हुँदाहुँदै पनि उनी नेपाल एउटा समृद्ध राष्ट्र होओस्, यहाँका प्रत्येक नेपालीले खानलाउन पाऊन्, गतिलो शिक्षा पाऊन् भन्ने इच्छा राख्ने गर्थे। आफ्ना गीतहरूमा खुसी, पीडा पोखेर नेपाली भाषाका मर्मज्ञहरूलाई संवेदनशील बनाउने कलाका रचनाकार गुरुङले यस फाँटमा पाइला राखेर जति दुक्ख पाए त्यति नै सुख पनि समेटे। गुरुङका प्रेरणाका स्रोत र आदर्श व्यक्ति म.वी.वि. शाह थिए। वास्तवमा राजा महेन्द्रको कारणले उनी नेपालमा स्थायी भएका थिए। कवि अगमसिंह गिरीका प्रकृति, देशप्रेम र मानवतावादले ओतप्रोत, भर्भराउँदा र जुर्मुराउँदा शब्दहरू र अम्बर गुरुङका आकासिँदो सङ्गीत र स्तरीय स्वरबाट श्रोताहरू कहिल्यै टाढा जान मानेनन्। त्यही ‘नौ लाख तारा’बाट यिनीहरूले जनमन जिते पनि यिनीहरूका हरेक प्रस्तुति मननयोग्य देखिए। गीतिप्रसङ्गमा होस् अथवा साहित्यिक सन्दर्भ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू गुरुङ बिछट्टै मन पराउँथे। उनका मन परेका मान्छेहरुमा ईश्वरवल्लभ, श्यामदास वैष्णव र इन्द्रबहादुर राई थिए।

अम्बर गुरुङका सङ्गीतरचनाबाट थुप्रै कलाकार उठे। निर्मला श्रेष्ठ पनि अम्बर गुरुङकी साङ्गीतिक प्रस्तुति हुन्। एकताका अम्बर गुरुङ र निर्मला श्रेष्ठको संयुक्त झङ्कारको धेरै चर्चा परिचर्चा पनि भयो। यी दुवै जना सङ्गीत र एकअर्का प्रति बराबरी समर्पित पनि देखिन्थे। त्यसै गरी उनको सङ्गीतका माध्यमबाट थुप्रै रचनाकार र गायकहरूले नेपाली साङ्गीतिक प्रदेशमा आफ्नो नाउँ लेखाउने मौका पाए। ‘पोहोर साल खुसी फाट्ता’ गीत अम्बर गुरुङको सङ्गीतमा अरुणा लामाले गाउँदा पहिलो रचनामा नै राजेन्द्र थापा एक्कै चोटि चर्चित हुने गीतकार थिए।

अम्बर गुरुङको बिहे २०११ सालमा बिना गुरुङसँग सम्पन्न भयो। उनीहरूबाट छोरा किशोर, राजु, शरद र छोरी अलका जन्मे। अमर गुरुङको पारिवारिक जीवन नै सङ्गीतमय थियो। उनको घरभित्र नै नेपाली गीतसङ्गीतको एउटा भण्डार भेटिन्थ्यो। त्यस ठाउँलाई नेपाली सङ्गीतको तीर्थस्थल भने पनि हुन्थ्यो।

अम्बर गुरुङ एउटा भाग्यमानी कलकार थिए। राजा महेन्द्रले उनलाई नेपाल टिकाएका थिए तर उनी गणतन्त्रात्मक नेपालको राष्ट्यि गीतको संगीतकार बने। त्यतिमात्र होइन उनी संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति भए। नेपालमा बहुदलीय व्यवस्था आउनेवित्तिकै लखटिएका अम्बर गुरुङ क्रमशः नेपाली आकाशका गौरवशाली संगीतकारमा स्थापित भए। 

अम्बर गुरुङले नेपाली समाजलाई आफ्नो सिङ्गो जीवन दान दिए। उनको स्वर, सङ्गीत र रचनाले नेपाली सङ्गीतभूमि उर्वरा भयो। वास्तवमा उनी कहीँ कतै नअल्मलिई यही विधामा मात्र लागेका भए नेपाली सङ्गीत अझै समृद्ध हुने थियो। तर पनि उनीबाट यस भूमिले धेरै लिएको मान्नुपर्छ । यति मात्र होइन उनका तीनै जना छोरा पनि नेपाली साङ् गीतिक क्षेत्रमा परिचित भइसकेका छन्।

अम्बर गुरुङका शब्द, सङ्गीत र स्वरले विश्वको फन्को लगाए। उनी आफ्नो प्रतिभाले नेपालीले बास गरेका सम्पूर्ण जगत्मा परिचित भए। उनको उच्चस्तरीय सङ् गीतकलाले आज हाम्रो सङ्गीत संस्कृति फस्टाउनमा महŒवपूर्ण भूमिका खेलेको छ। वास्तवमा अम्बर गुरुङका सङ्गीतमा स्तरीयताको विम्ब भेटिन्छ। अम्बर गुरुङको सङ्गीतमा पाइने स्तरीयताको मिठास बुझ्ने पारखीका लागि उनी झन् सारो प्रिय रहे। अम्बर गुरुङका गला र कलाको प्रशंसामा डुब्नेहरूका लागि उनले झनै सारो स्तरीय गीत पस्किरहेका हुन्थे। अन्ततः २०७३ साल जेठ २५ गते आफ्नो जीवनभरिको लोकप्रियता नेपाली माटोलाई सुम्पेर उनी विदा भएः

यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा

तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा !

(स्वर र सङ्गीतः अम्बर गुरुङ। शब्दः ईश्वरवल्लभ)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.