लहान : सिरहाको धनगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब साढे ४६ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ। पुस १९ र २० गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाटमार्फत् सार्वजनिक गर्दै नगरपालिकाले ४६ करोड ३४ लाख ८८ हजार एक सय ५१ रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरिएको जानकारी दिइयो।
कृषि, शिक्षा र पूर्वाधारमा जोड
नगरसभाले चालु आर्थिक वर्षका लागि पारित बजेट तथा कार्यक्रममा कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। भूगोलको दृष्टिकोणले जिल्लाको दोस्रो ठूलो नगरपालिका धनगढीमाईले कृषिमा व्यवसायीकरण गरी उत्पादनमा आत्मनिर्भरताको लागि दुई करोड ७५ लाख ३९ हजार, शिक्षामा एक करोड ५९ हजार एक सय ४६ र पूर्वाधार विकासका लागि १५ करोड पाँच लाख ८७ हजार ६ सय ४५ रुपैयाँ विनियोजन गरेको छ।
पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि समेत गरी १० करोड पाँच लाख ३० हजार पाँच सय ७ रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
हरेक वडामा नमुना विद्यालय
पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिनारायण चौधरीले नगरका हरेक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयलाई नमुना बनाउने नीति बनाइएको बताए। ‘सामुदायिक विद्यालयलाई वातावरण, प्रविधि र बालमैत्री, बाल उद्यानसहित नमूना बनाइने कार्यक्रम बनाएका छौं’ नगरप्रमुख चौधरीले भने ‘सामुदायिक शिक्षालाई विकासको मेरुदण्ड मानेर काम गरिने छ। चालु आर्थिक वर्षदेखि नै नगर क्षेत्रका ६ वटा माविसहित ३३ सामुदायिक विद्यालयमध्ये हरेक वडामा कम्तीमा एउटा विद्यालयबाट अंग्रेजी माध्यमबाट पठनपाठन थालिने छ।’
निःशुल्क सिफारिस र गर्भवतीलाई प्रोत्साहन भत्ता
नगरपालिकाले व्यक्तिगत घटना दर्तादेखि राहदानी, बाटो सिफारिस, विद्युत, धारा, टेलिफोन जडान लगायतको सिफारिसमा लाग्ने दस्तुर दलित समुदायका डोम र मुसहर जातिलाई पूर्णतः निःशुल्क र अन्य दलितलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए। यसका अतिरिक्त गर्भ रहेदेखि दुई वर्षसम्म दुई वटा बच्चासम्मको हकमा गर्भवती महिलालाई मासिक रुपमा पाँच सय रुपैयाँ पोषण भत्ता दिइने नगरपालिकाले जनाएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरकोतर्फबाट जनही वार्षिक रुपमा दुई हजार रुपैयाँ दिइने, नगर क्षेत्रमा बसोवास गर्ने मुटु, मृगौला र क्यान्सर पीडितलाई राज्यले दिने सुविधाबाहेक एक पटकका लागि यातायात खर्च स्वरुप पाँच हजार रुपैयाँ दिइने व्यवस्था गरिएको नगर प्रमुख चौधरीले बताए।
भ्यूटावरदेखि सुरक्षित बसोबाससम्म
नगरसभाले १३ नं. वडामा पर्ने दुरविन डाँडामा भ्यू टावर निर्माणदेखि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पिकनिक स्थल निर्माण गर्ने, नगर क्षेत्रमा बसोबास गरिरहेका हरुवा चरुवा, भूमिहीन, सुुकम्बासीहरुको सुरक्षित र व्यवस्थित बसोबासका लागि नगरपालिकाले नै योजना बनाएर व्यवस्थापन गर्दैछ। त्यस्तै, विपन्न, जेहेन्दार विद्यार्थीलाई ‘नगर प्रमुख शैक्षिक छात्रवृत्ति’ मार्फत् नियमित अध्ययनमा सहयोग गर्ने गरी योजना पारित भएको प्रवक्ता योञ्जनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।