|

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको ढाँचा बनाउन सुरु गरेकोछ। आगामी २४ माघमा तय भएको राष्ट्रियसभाको निर्वाचनमा आयोगले आठ प्रकारका मतपत्रको ढाँचा बनाउन थालेको हो। 

मतपत्रको रङ निर्धारण, उम्मेदवारको निर्वाचन चिह्न, मत संकेत गर्ने कोठालगायत मतपत्रको ढाँचा तयार पार्ने काम भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए। राष्ट्रियसभा निर्वाचनमा प्रत्येक प्रदेशबाट चार समूह गरी आठ जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ। एउटा प्रदेशबाट निर्वाचित हुने आठजना सदस्यमध्ये तीन जना महिला, एक जना दिलत, एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने छ। बाँकी तीन जना सदस्य खुला सदस्यको रुपमा निर्वाचित हुने व्यवस्था छ। 

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ अनुसार एकल संक्रमणीय र बहुमतीय दुवै निर्वाचन पद्धति अपनाइनेछ। एक समूहबाट एक जनामात्रै निर्वाचित गर्नुपर्ने अवस्थामा बहुमतीय निर्वाचन पद्धति अपनाइनेछ। तीन जना महिला सदस्य र अन्य तीन सदस्य निर्वाचित गर्नका लागि भने एकल संक्रमणीय पद्धति अपनाइने अध्यादेशको दफा ३ मा उल्लेख छ। 

'राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जना मतदाता हुनेछन्। एक जना मतदाताले आठवटा मतदान गर्नुपर्ने हुन्छ' ढकालले भने ' राष्ट्रियसभाको निर्वाचनका लागि सबभन्दा पहिले मतपत्रको ढाँचा स्वीकृत गर्नुपर्ने हुन्छ। मतपत्र कस्तो रङको हुन्छ? के कस्ता प्राथमिकताका क्रमहरु निर्धारण गर्ने? मत संकेत चिह्न र कोठा कसरी राख्ने? लगायतका विषयमा छलफल गरेर टुंग्याउँछौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.