|
दाहिनेबाट पहिलो नम्बरमा डेकराज, साथमा अन्य पीडित।

काठमाडौं : दाङ तुलसीपुरका ३२ वर्षीय डोकराज कालाथोकी आफ्नै घरमा कृषि पेसा गर्दै जेनतेन जीवन खुसीले नै चलाउँदै थिए। दुई जना दाजुपछिका परिवारका कान्छा छोरा उनले सुख दु:ख गरेर कृषि पेसाबाट कमाएको आम्दानीले श्रीमती र एक छोरीलाई खुसीसाथ नै राखेका थिए।

सिधा र सरल स्वभावका डोकराजलाई एकाएक वैदेशिक रोजगारीको कुरा आयो, आफ्नै छिमेकी विशाल बस्नेतबाट। खाडी मुलुक कतार र मलेसिया जान रुचि नभएका डोकराजलाई सात लाख ५० हजार रुपैयाँमै दुई महिनाभित्रै युरोपेली मुलुक डेनमार्क पुर्‍याइदिने र मासिक तलब एक लाख रुपैयाँभन्दा बढी हुने सपना देखाए बस्नेतले।

सुरुमा चार लाख रुपैयाँ दिनुपर्ने र भिसा लागेपछि बाँकी ३ लाख ५० हजार रुपैयाँ दिए पुग्ने सर्त राखे बस्‍नेतले। उनी राजी भए र आँखा चिम्लेर चार लाख रुपैयाँ दिए। सोझा डोकराज चतुर विशालका सपनामा रमाए। ८ कक्षा पढेका डोकराजलाई कसरी विदेश जानुपर्छ भन्नेसम्म थाहा थिएन। ‘मलाई कसरी विदेश जाने? केके गर्नुपर्छ? केही थाहा थिएन। विशालले नै श्रमदेखि पुलिस रिपोर्ट बनाउनुपर्ने र सबै आफैँले बनाइदिने भए', उनले भने, 'तिमी डेनमार्क जाने बेला मात्र काठमाडौं आउने हो भने होला नि त सोचेर हुन्छ भनेँ। यसो गर्न रै'छ।'

कहिले काठमाडौं त कहिले दाङ पुग्ने विशालले दुई महिनापछि भिसा आयो, श्रम, पुलिस रिपोर्ट सबै भयो अब बाँकी पैसा पनि दिनुपर्‍यो भनेर भनेपछि डोकराजले साहुबाट महिनाको सयकडा ५ प्रतिशत ब्याज तिर्ने सहमतिमा ऋण गरेर दिए। विशालले पैसा दिएको केही दिनमै 'फ्लाइट रेडी' भयो भन्दै पुस महिनाको २६ गतेको हो। २५ गतेभित्र दाङबाट काठमाडौं पुग्नुपर्ने बताए।

घरबाट विदेश जाने भन्दै बिदा मागे उनले। श्रीमतीले गहभरि आँसु पारेर भविष्यको सुखको आशासहित बिदा गरिन्। उनी काठमाडौं पुगे। बसपार्कको बागलुङ होटलमा विशालले नै राखे। होटल पुग्दा दाङकै अन्य पाँच जना पनि विशालमार्फत नै डेनमार्क जानकै लागि उक्त होटलमा पुगिसकेका थिए। सबैका हातमा भिसा र प्लेन टिकट थमाए विशालले। सबैमा एक प्रकारको खुसी छायो। खुसी नहुनु पनि कसरी, उनीहरू केही घण्टामै खाडी मुलुक होइन, युरोपेली मुलुक डेनमार्क पुग्दै थिए।

ठगी गरेर फरार भएका विशाल बस्नेत।

तर २६ गतेको डेनमार्कको उनीहरूको उडान स्थगित भएको र माघ ५ गतेलाई हुने जानकारी विशालले दिए। उनीहरूको मन नमीठो भयो तर पर्खनुको विकल्प थिएन। माघ ५ गतेसम्मको सबै होटलको खर्च विशाल आफैँले तिर्ने भनेर राखे। उनीहरू चुपचाप बसे। ५ गते भयो विशालले ५ गतेको उडान ७ गते सरेको र ७ गते जसरी पनि उडान हुने आस्वासन दिए। ५ गते पनि उडान नभएपछि डोकराजलगायत पाँच जनाकै मनमा चिसो पस्यो- विशालले कतै फसाउने त होइन? भनेर ।  

माघ ७ गते भयो, विशालले म तिमीहरूलाई लिन होटलमै आउँछु भने। उनीहरू विशालको प्रतीक्षामा बसिरहे। मिनेट बित्यो, घण्टाबित्यो, विशाल होटल आएनन्। फोन गर्न खोजे, विशालको फोन अफ भइसकेको थियो। डोकराजलगायत छ जनाबाट उठाएको ४५ लाख रुपैयाँ लिएर विशाल फरार छन्।

विशालले थमाएको डेनमार्कको भिसालगायत टिकट सबै नक्कली छन्। अहिले पीडित छजना काठमाडौंमा विशाल खोजिरहेका छन्। विशाल सम्पर्कविहीन छन्। अब ब्याजमा लिएको ऋण कसरी तिर्ने भन्ने पीरले उनीहरूलाइ सताइरहेको छ। विशालले थमाइदिएको भिसा र टिकट लिएर डोकराजलगायत पाँच जना डेनमार्क होइन, न्याय माग्दै श्रम विभाग र प्रहरी कार्यालय धाइरहेका छन्।

को हुन् विशाल बस्नेत? 

पीडितहरूका अनुसार विशाल बस्नेत दाङ घोराहीका स्थायीवासी हुन्। दाङमा ठेक्का पट्टा व्यवसाय समेत गर्ने उनले दाङमा पनि विभिन्न युवालाई सवारी साधनको नक्कली लाइसेन्स बनाइ दिने भनेर पैसा ठगी गर्थे।

केही समयअघि नेपाल प्रहरीमा जागिर लगाइ दिने भनेर पैसा समेत उठाएको पीडित अर्जुन बुढाथोकीले बताए। नेपली कांग्रसका नेता श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालय सदस्यमा अाफ्नो बुबा रहेको भन्दै उनले ठगी गर्ने गरेको बुढाथोकीले बताए। उनले भने, 'बस्नेत कहिले काठमाडौं त कहिले दाङ पुग्ने गर्छन्। राजनीतिक पहुँच छ भन्दै रवाफ दिने गर्छन्।' बस्नेतलाई सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्दै आएको मोबाइल अफ भएकाले सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.