ग्रहणको सुतक लाग्नुअघि नै गर्न सकिनेछ विसर्जन
ग्रहणको सुतक लाग्नुअघि नै गर्न सकिनेछ विसर्जन
काठमाडौं : माघ शुक्ल पूर्णिमा। एक महिनादेखि चलिरहेको स्वस्थानी व्रत सम्पन्न गर्ने दिन। बुधबार साँझ खग्रास चन्द्रग्रहण परेका कारण श्रद्धालुहरू अन्योलमा छन्। ‘स्वस्थानी व्रत सक्नुहुन्छ कि हुँदैन? बुधबार नभए कहिले गर्ने?’ भन्नेमा अन्योल छ उनीहरूमा। ग्रहण लागेको दिन सुतक लाग्ने बताइएका कारण पनि व्रतालुहरू अन्योलमा परेका हुन्।
तर धर्मशास्त्री तथा पुराणशास्त्रीहरूले बुधबार बिहान नै स्वस्थानी व्रत विसर्जन (साङ्गे) गर्न हुने बताएका छन्। ‘ग्रहणको सुतक लाग्नुअघि बिहान ८:५५ अघि नै स्वास्थानीको व्रत पूरा गर्न हुन्छ’, धर्मशास्त्री डा. देवमणि भट्टराईले भने, ‘दिउँसो पनि गर्न नहुने भन्ने होइन, पूजापाठ, हवन आदि गर्न हुन्छ।’
भट्टराईका अनुसार सुतकका बेला मानिसले खान नहुने हो। पूजापाठ, हवन इत्यादि गर्न सुतकले रोक्दैन। विशेष कर्म जोडिएर आए शुक्र उदयको सुतक सकिएपछि माघ २१ गतेदेखि गर्न हुने उनले बताए। ‘नियमितको कर्म भएकाले रोक्नुहुँदैन’, उनले भने, 'स्वस्थानीसँगै अन्य कर्म जोडिएको भए शुक्र उदय भएपछि गर्न सकिन्छ।' आगामी पञ्चमीसम्म स्वास्थानीको साङ्गे गर्न सकिने उनले बताए।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर (९ घण्टा) सुतक लाग्ने बताइएको पुराणविद् प्रियंवदा काफ्लेले बताइन्। ‘सूर्योदय भएपछिको पहिलो प्रहरमा पुराणमा बताइएको विधिअनुसार नै स्वस्थानीको विशेष पूजा तथा विसर्जन गर्न हुन्छ’, उनले भनिन्, ‘व्रत समापन गर्न साँझको ग्रहणले रोक्दैन।’
नेपालमा बुधबार साँझ ६:३६ मिनेटमा ग्रहण सुरु हुनेछ। मध्य ७:१७ मिनेटमा हुनेछ भने बेलुकी ८:५७ मिनेटमा ग्रहणको मोक्ष हुने पञ्चांगहरूले उल्लेख गरेका छन्।
यस्तो छ विधि
नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानी देवीको विशेष आराधना गरिन्छ।
देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ। अक्षता, बेलीपुष्प, जनै, पान, रोटी,सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ।
यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई सय रोटी व्रतालुले खाने विधान छ। सत्य युगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रत जनमानसमा फैलाउन लगाएको स्वस्थानी व्रतकथामा उल्लेख छ।
यो पूर्णिमामा पद्मपुराणअन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा रहेको पुराणविद् काफ्लेले बताइन्। महिना दिन घरघरमा वाचन गरिएको नेपाली\नेपाल(नेवारी) भाषाको स्वस्थानी व्रतकथा पनि बुधबार नै पूरा गरिँदै छ।
काठमाडौंको उत्तरपूर्व साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि सम्पन्न हुँदै छन्। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्वहरू पनि यो माघ शुक्ल पूर्णिमामै सम्पन्न हुन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।