|

काठमाडौं : काठमाडौंको दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कमा बलात्कार भएको भनिएको घटनाको प्रारम्भिक अनुसन्धानमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रशासनिक कमजोरी रहेको पाइएको छ।

घटना छानविन समितिका संयोजक महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार दरबारमार्ग प्रहरीले बलात्कार भएको भनिएको भोलिपल्ट माघ ८ गते पीडित कैलालीकी युवती दरबारमार्ग प्रहरी वृत्त पुगेको र प्रहरीले छानबिनका लागि रामेछाप दुरागाउँ- ६ का शैलेश कार्कीलाई पक्राउ गरेर अनुसन्धानसमेत गरिएको छ। पीडित युवतीको स्वास्थ्य प्ररीक्षणसमेत गर्न लगाएर युवतीले लिखित जाहेरी नदिएको भन्दै स्वास्थ्य परीक्षणको रिपोर्ट नआउँदै आरोपीलाई छोड्नु र माथिल्लो तहमा खबर नगर्नुले दरबारमार्ग प्रहरीको कमजोरी देखिएको प्रहरी उपरीक्षक जोशीले बताए।

यो घटना अनुसन्धाकै क्रममा रहेकाले धेरै बताउन नमिल्ने र दुई चार दिनमै सबै कुरा सार्वजनिक हुने उनको भनाइ छ। दरबारमार्ग प्रहरी वृत्तका एक प्रहरी अधिकृतका अनुसार घटना अत्यन्त गोप्य राखिएको थियो। आफूहरूले समते घटना भएको तीन दिनपछि मात्र थाहा पाएको उनले बताए।

के थियो घटना?

दरबारमार्गमा रहेको ल्याण्डमार्क होटलमा शैलेश कार्कीले माघ ७ गते होटलमै बस्ने भनेर एक जना युवतीलाई बोलाएका थिए। तर राती आएका शैलेका तीन जना केटा साथीले ती युवातीलाई रातभर बलात्कार गरेको भन्दै ती युवती माघ ८ गते कमलपोखरी प्रहरी वृत्त पुगिन्। कमलपोखरी प्रहरीले ती युवतीलाई घटना दरबारमार्गमा भएको भन्दै दरबारमार्ग प्रहरी वृत्त पुर्‍याएको थियो।

के छ आरोप?

दरबारमार्ग प्रहरी वृत्त पुगेकी ती युवतीको मौखिक जाहेरीका आधारमा दरबारमार्ग प्रहरीले यसबारे अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममै शैलेश कार्कीविरुद्ध युवतीले लिखित जाहेरी नदिएको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गका मुद्दा फाँटका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले सामान्य कागज बनाएर मिलापत्र गराइदिएको प्रहरी स्रोतको भनाइ छ।

आर्थिक लेनदेको आधारमा आरोपीलाई छाडियो कि भन्ने सम्बन्धमा सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेर दरबारमार्ग वृत्तका प्रहरी निरीक्षक ठकुरीलाई प्रहरी प्रधान कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।

पीडित युवती सम्पर्कविहीन

बलात्कृत भएँ भनेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगेकी युवती नै सम्पर्कविहीन भएकी छन्। कैलाली घर भएकी ती युवती हाल ललितपुर बस्दै आएकी र छानविन समिति गठन भएपछि सम्पर्कविहीन भएकी हुन्। छानविन समितिका संयोजक एसपी रामदत्त जोशीले एकचोटि फोन लागेको र कुरा गर्दा आफू ठीक रहेका कतै नआउने भनेर फोन अफ गरेको बताए। उनलाई अहिले प्रहरीले खोजिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.